थकाली समुदायको बाह्र वर्षे मेला ‘ल्हफेव’ पर्व सुरु

thakali-peopleसिबी अधिकारी / मुस्ताङ, १५ पुस । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको आदिवासी थकाली समुदायको महान पर्व ‘ल्हफेव’ आजदेखि सुरु भएको छ ।

हरेक १२ वर्षमा आयोजना हुने यो पर्वलाई मुस्ताङीले महाकुम्भ मेलाका रुपमा मनाउने गर्छन् । ल्हफेव अर्थात् देउता उदानेर निस्कने यो पर्व मुस्ताङको संस्कृतिको अभिन्न पाटो मानिन्छ । यो पर्व यस वर्ष परेको छ । यही मौकामा संसारभरका थकाली यतिबेला आफ्नो थातथलो फर्केका छन् ।

मुस्ताङको कोबाङमा आयोजित उक्त मेलाको आज उद्घाटन गर्दै वाणिज्यमन्त्री रोमी गौचन थकालीले यस पर्वले थकाली समुदायलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने बताउनुभयो । उहाँले आफ्नै परम्परा र संस्कृतिबाट समाजलाई एकताबद्ध गर्दै अघि बढेको यो समुदायको पहिचान र परम्परामाथि विभिन्न पक्षबाट प्रहार भएको बताउँदै त्यसलाई रोक्न थकाली समुदाय नै एक हुनुपर्ने विचार व्यक्त गर्नु भयो ।

“थकालीको पहिचान शालिनता, सरलता र इमान्दारिता हो, मुस्ताङको विकास पनि हाम्रो समुदायको उपज हो यसलाई जोगाई अन्य समुदायलाई पनि माथि उकास्न लाग्नुपर्छ”– उहाँले भन्नुभयो । कोबाङमा चल्ने १७ दिने पर्वको प्रत्येक दिनको आ–आफ्नै विशेषता छ । कोही मौलिक परिकार बनाउँदै, कोही रथ तान्ने मेलामा सहभागी हुँदै त कोही चाहिँ पाहुनापातलाई सत्कार गर्दै भेटिनेछन् । ल्हफेव मूल आयोजक समितिका अनुसार दैनिक पूजा, रथयात्रा, कविता प्रतियोगिता, खुला म्याराथन दौड, तारो हान्ने खेलदेखि स्वास्थ्य शिविर, कन्सर्ट र सुन्दरी प्रतियोगितासम्मको कार्यक्रम हुनेछ । मेलामा सहभागी लक्ष्मी गौचनले यो पर्व मुस्ताङकै मौलिक सांस्कृतिक चिनारी भएको बताउनुभयो ।

हिमालपारिको जिल्ला मुस्ताङ अनुपम प्राकृतिक सुन्दरतासँगै संस्कृति र सभ्यताको उत्कृष्ट गन्तव्य मानिन्छ, । धार्मिक सांस्कृतिक विविधतासँगै चम्किला हिमालको काखमा अवस्थित मुस्ताङ स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य पनि हो । यो पर्वका बेला थकालीका चारवटा देउतालाई बाहिर निकाल्ने र धोइपखाली गरेर रथयात्रा गर्ने चलन छ ।

हरेक बाह्र वर्षमा देवता बाहिर निस्कने र उक्त देवताको दर्शनले पाप र दुःखबाट मुक्ति पाइने विश्वास रहेको मेलमा सहभागी स्थानीय पवन तुलाचनले बताउनुभयो । थकाली समुदायको चारचन (गौचन, तुलाचन, भट्टचन, शेरचन) का इष्टदेवलाई अन्य समय मन्दिरभित्रै बन्द बाकसभित्र राखेर पूजा गरिन्छ । चन्द्र पात्रोअनुसार हरेक १२ वर्षको प्रल्हो (बाँदर वर्ष) को अन्त्यमा देउता निकालिन्छ र झन्डै एक महिनासम्म धुमधामको जात्रा मनाइन्छ । देउता निकाल्ने र रथयात्रा गर्ने थलोमा भने लौरो टेक्न, घोडा चढ्न, सुसेली हाल्न र रातो टीका लाउन नपाउने चलन छ ।

मेलामा सहभागी हुन जापानबाट आउनुभएका शरदकुमार गौचनले संसारभर छरिएका थकाली समुदायको एकता र पारिवारिक खुसीको मिलन गराउने पर्व भएको बताउनुभयो । सुरुमा प्रचारप्रसार अभावमा मुस्ताङ वरपरका बाहेक कसैले जानकारी नपाएको र पछिल्लो समय पर्यटकको समेत चासोको विषय बनेको थकाली समुदायको दाबी छ ।

आदिमकालदेखि समाजले प्राप्त गरेको ऐतिहासिक, सांस्कृतिक, धार्मिक सम्पदाको स्थापित ल्हफेव पर्व थकाली जनजातिको विशिष्ट मौलिक पहिचान र अस्तित्वसँग जोडिएको थकाली सेवा समाजका अध्यक्ष कृष्णाकुमारी गौचनले बताउनुभयो । चारचनका पाँडेद्वारा वाचित चार देव र चार आदि पुर्खाको मर्मस्पर्शी यात्रागाथा श्रवण गराउनु यस पर्वको अर्को महत्वपूर्ण पाटो हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter