पोखरामा क्यानोनिङको सम्भावना खोजिँदै

Canoyingवासुदेव पौडेल / पोखरा, २१ पुस । साहसिक पर्यटनका रुपमा चासो र चर्चाको वषय बन्दै गएको खेल क्यानोनिङ (छाँगावरोहण)को पोखरा र आसपासका क्षेत्रमा थप सम्भावना खोज्न थालिएको छ ।

पोखरा र आसपासका क्षेत्रमा जलयात्रा, पदयात्रा, पर्वतारोहरण आदिको उद्देश्यका साथ आउने गरेका स्वदेशी एवम् विदेशी पर्यटकलाई छाँगावरोहणबाट समेत मनोरञ्जन दिलाउने उद्देश्यका साथ नेपाल क्यानोनिङ एसोसिएसनले यसका सम्भावनालाई खोज्न थालेको हो ।

साहसिक तथा अत्यन्त मनोरञ्जनात्मक क्यानोनिङ डोरीको सहायताबाट अग्ला पहराबाट खस्ने छहराको चिसो पानीमा खेलिने खेल हो । निरन्तर पानी बगिरहने छहरामा डोरीको सहायताले फेँदबाट उक्लिएर डाँडासम्म पुग्ने यस खेलका सम्भावता खोज्ने क्रममा एसोसिएसनले हालै स्याङ्जाको इलादी गाविस सुन्तलाबारीस्थित खाल्टे झरनामा क्यानोनिङको तालिम दिइरहेको एसोसिएसनका सचिव राजेश लामाले जानकारी दिनुभयो ।

वालिङ नगरपालिका– ८ त्रियासीदेखि सात किलोमिटरको दूरीमा रहेको सुन्तलाबारीमा क्यानोनिङका धेरै सम्भावना देखिएको बताउँदै उहाँले एसोसिएसनले स्थानीयवासी आठजनालाई क्यानोनिङको तालिम दिइरहेको बताउनुभयो । नेपालमा क्यानोनिङका धेरै सम्भावना रहेको बताउँदै सचिव लामाले भन्नुभयो – “हिमाली मुलुक भएका कारण हिमाली भेगबाट बग्ने नदी नाला झरना भएर झर्ने भएकाले ती मनोरम झरनामा क्यानोनिङ खेल विकासका पर्याप्त सम्भावना छन् ।”

आवश्यक पूर्वाधारको विकास गर्न सकेमा नेपालमा धेरै छाँगा तथा झरना क्यानोनिङका सम्भावना बोकेको बताउँदै उहाँले स्थानीयवासी युवालाई रोजगारी प्रदान गर्न पनि यसको विकास बहुउपयोगी बन्ने धारणा राख्नुभयो । एसोसिएसनको सक्रियतामा कास्कीकै ल्वाङ्घलेलमा तीन वर्षयता सुरु गरिएको क्यानोनिङ पोखरा आउने पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

एसोसिएसनले कास्कीकै सिक्लेसमा पनि क्यानोनिङ सञ्चालनको तयारी गरिरहेको छ । मकवानपुरको सिस्नेरी झरना, नुवाकोटलगायतका स्थानमा पनि सम्भाव्यता खोजी भइरहेकोछ । क्यानोनिङ सन् १९८३ मा अमेरिकाबाट सुरु भएकामा युरोपमा यसको थालनी सन् १९८७ मा भएको पाइन्छ ।

नेपालमा सन् १९९९ मा सुरु भए पनि नेपाल क्यानोनिङ एसोसिएसन सन् २००७ मा स्थापना भएसँगै त्यसयता यसले व्यावसायिकतामा प्रवेश गरेको पाइन्छ । स्याङ्जाको इलादीस्थित सुन्तलाबारीमा क्यानोनिङको सम्भावना देखेर स्थानीयवासीको सक्रियतामा एसोसिएसनका पदाधिकारी बोलाएर यसको सम्भाव्यता अध्ययन गराई प्रशिक्षण सुरु गरिएको सुन्तलाबारी सामुदायिक होमस्टेका अध्यक्ष मोहन खनालले बताउनुभयो ।

सुन्तलाबारीको खाल्टे झरना करिब ६० मिटर उचाइमा रहेको छ । झरनाका साथै यहाँ नजिकै रहेको वसन्ती दह माथिको लगभग ३० मिटर उचाइको अर्को झरना पनि क्यानोनिङको सम्भावना रहेको स्थल हो । क्यानोनिङको सम्भावनाका साथै यहाँ वरपरका प्राकृतिक दृश्यावलोकन, स्थानीय कला संस्कृतिमार्फत पर्यटकलाई आकर्षित गर्ने सोचका साथ यहाँका सातवटा घरमा दुई वर्षयता होमस्टे सञ्चालन गरिएको छ ।

साहसिक पर्यटकीय खेलमा रमाउन चाहने जो कोही पर्यटक पोखरा आउँदा यस आसपासका ठाउँमा क्यानोनिङको समेत मज्जा लिन सक्नेछन् । सन् २००७ देखि सुरु भएको क्यानोनिङ खेल खेल्नकै लागि यसअघि पोखरा आएका पर्यटकसमेत लमजुङ, काभ्रे, सुनसरी, सिन्धुपाल्चोकको भोटेकोसी, नुवाकोटको ककनी पुग्ने गरेकामा पोखरा आसपासका विभिन्न ठाउँमा क्यानोनिङका थप सम्भावना खोजिनुले यसबाट पर्यटक लाभान्वित हुने भएका छन् ।

नेपालमा क्यानोनिङकै लागि लगभग वार्षिक ७०० पर्यटक आउने गरेको क्यानोनिङ एसोसिएसनले जनाएको छ । प्राकृतिक दृश्यावलोकन, साहसिक खेल र भरपुर मनोरञ्जन पाउने भएका कारण क्यानोनिङ नेपालमा नयाँ पर्यटकीय गतिविधिका रूपमा विकसित बन्दै गएको प्रशिक्षक डवीन्द्र लामा बताउनुहुन्छ ।

उहाँका अनुसार नेपालमा पोखरा क्षेत्रका साथै मस्र्याङ्दी, काभ्रे, सिन्धुपाल्चोक, धवलागिरि, ओखलढुङ्गा, मनाङलगायतका स्थानमा क्यानोनिङ सञ्चालन भइरहेको छ । हिमाली तथा पहाडी क्षेत्रमा रहेका अग्ला झरना क्यानोनिङका लागि आवश्यक भएको र नेपालका पहाडी क्षेत्रमा अग्ला झरना प्रशस्त रहेकाले पनि यस खेलको विकास गर्न पर्याप्त सम्भावना रहेको उहाँको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter