• Sunday, May 25, 2025

वायु प्रदूषणले नसर्ने रोगको जोखिम बढाउँदै

Air Pollutionकाठमाडौँ, २६ पुस । वायु प्रदूषणका कारण काठमाडौंँ उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा वायु प्रदूषणका कारण मतिष्कघात, मुटुको रोग, फोक्सोको क्यान्सरलगायतका नसर्ने रोगको जोखिम बढ्दै गएको जानकारी गराइयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा खेम कार्कीले वायु प्रदूषणका कारण मुटु एवम् फोक्सोको बिरामीका सङ्ख्या बढिरहेको उल्लेख गर्दै वायु प्रदूषणका कारण उपत्यकामा मुटुरोगी ७२ प्रतिशत, दमका बिरामी १४ प्रतिशत र फोक्सोको क्यान्सर १४ प्रतिशतले बढेको छ भन्नुभयो ।

उहाँले वायु प्रदूषणले दमखोकीका बिरामी अस्पताल भर्ना हुने दरमा १ दशमलव ३ प्रतिशत, निमोनियाबाट भर्ना हुनेमा ३ दशमलव ४ प्रतिशत बढेको छ भने श्वासप्रश्वाससम्बन्धी रोगबाट मृत्यु हुने दर ३ दशमलव ६ प्रतिशतले बढेको अनुसन्धानबाट देखिएको बताउनुभयो ।

उपत्यका विकास प्राधिकरणका प्रमुख डा भाइकाजी तिवारीले वायु प्रदूषण बढ्नुका प्रमुख कारण पुराना गाडी भएकाले यसको न्यूनीकरणका लागि पहिलो चरणमा सरकारी कार्यालयका २० वर्षभन्दा पुराना गाडी हटाउनुपर्नेमा जोड दिनुभयो ।

वातावरणविद् डा भूषण तुलाधरले वायु प्रदूषणका प्रमुख कारणमा ७५ प्रतिशत घरको भान्छामा प्रयोग हुने दाउरा, गुइँठा रहेको र त्यसले महिला एव्म बालबालिकालाई प्रभावित पारिरहेको चर्चा गर्दै घर बाहिर हुने वायु प्रदूषणमा ३८ प्रतिशत सवारी साधन तथा २५ प्रतिशत धुलोको कण रहेको छ भन्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सन् २०१६ को तथ्याङ्कअनुसार नेपालमा बर्सेनि नौ हजार ९४३ जनाले वायु प्रदूषणका कारण ज्यान गुमाइरहेका छन् भने विश्वमा प्रत्येक नौ जनामा एक जनाको मृत्यु वायु प्रदूषणका कारण हुने गरेका छन् ।

उपभोक्ता हित तथा संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले काठमाडौँको बढ्दो वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा परेको असरबारे संसदीय समितिमा कुरा उठाउने बताउनुभयो । “काठमाडौंको बढ्दो वायु प्रदूषणले मानव स्वास्थ्यमा नराम्रो असर पारेको तथ्याङ्कले देखाइ रहेको बेलामा सम्बन्धित निकाय संवेदनशील हुनुपर्छ”–उहाँले भन्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter