संविधान संशोधनपछि चुनाव हुन्छ – अध्यक्ष ठाकुर; वातावरण नबनाए निर्वाचन औचित्यहीनः नेता भटृराई

Baburam_Bhattaraiकाठमाडौँ, २१ फागुन । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन प्रस्ताव पारित गरेर चुनाव गर्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष ठाकुरले संविधान जारी गरेजस्तै बल प्रयोग गरेर चुनाव गर्न खोजिए देशको अवस्था भयावह हुनेमा चिन्ता व्यक्त गर्नुभयो ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति हतारमा घोषणा गरेर गम्भीर गल्ती गरेको बताउँदै उहाँले भन्नुभयो, “संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्छ, त्यसको विकल्प छैन, हामीले उठाएका माग मधेसका मात्रै होइनन्, यी त देशकै माग हुन्, त्यसैले पहिला संविधान संशोधन गरेर समस्याको समाधान गर्नुपर्छ, अनि मात्रै चुनावको कुरा आउँछ ।”

नेता ठाकुरले सरकारले हतारमा चुनावको मिति घोषणा गरेकाले अहिले संविधान संशोधन र निर्वाचन दुवै धरापमा परेको बताउँदै मुलुकको प्रत्येक परिवर्तनको केन्द्रबिन्दु मधेस रहेको भए पनि शासनको केन्द्रबिन्दु काठमाडौँ रहँदै आएको बताउनुभयो ।

उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गलत समयमा मेची–महाकाली अभियान सञ्चालन गरेकाले यसले मधेसमा द्वन्द्व बढ्ने खतरा रहेको औँल्याउँदै मधेस अशान्त अवस्थामा रहेकाले जनतामा आक्रोश भई ठाउँठाउँमा जनतामा गलत सन्देश प्रवाह भएकाले यसले सामाजिक सद्भाव बिगार्छ भन्नुभयो ।

अध्यक्ष ठाकुरले मधेसी जनताले परिवर्तन र अधिकारको माग गर्दा मधेस अलग्गै बनाउन खोजियो भनेर भ्रमात्मक प्रचार गरिएको बताउँदै उहाँले भन्नुभयो, “मधेसलाई अधिकार दिँदा अलग्गै हुन्छ भन्ने भ्रम फैलाइएको छ, त्यो गलत सोच हो ।”

वातावरण नबनाए निर्वाचन औचित्यहीनः नेता भटृराई

यसैबिच, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारद्वारा घोषणा गरिएको निर्वाचन तिथि जनतालाई भ्रमित गर्ने षडयन्त्र भएको आरोप लगाउनुभएको छ ।

सो पार्टीद्वारा आज जनकपुरधाममा आयोजित नयाँ धु्रवीकरण सभामा बोल्दै उहाँले मधेसी, जनजाति, आदिवासीलगायतकालाई निर्वाचनमा जाने वातावरण नबनाएसम्म निर्वाचनको कुरा औचित्यहीन भएको बताउनुभयो । उहाँले सीमाङ्कनको टुङ्गो नलागेसम्म निर्वाचन असम्भव भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

डा भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) सत्ताको समीकरणका लागि उद्यत् देखिएको पनि बताउनुभयो । उहाँले विद्यमान समस्याको निकासका लागि सर्वदलीय सरकारको आवश्यकता छ भन्दै सत्ता लम्ब्याउने खेलप्रति सजग हुन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले मधेसी जनताको राष्ट्रवादितामा शंका गर्न नसकिने पनि बताउनुभयो ।

राजनीतिक उपलब्धिलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य – गच्छदार

त्यसैगरी, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधानको सफल कार्यान्वयन र राजनीतिक उपलब्धिलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले संविधान कार्यान्वयनको पहिलो खुड्किलो स्थानीय निर्वाचन भएकाले निर्वाचनलाई सबैले उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

निर्वाचनले मात्रै राजनीतिक स्थायित्व कायम हुने भन्दै अध्यक्ष गच्छदारले न्यूनतम सहमति गरेर भए पनि असन्तुष्ट पक्षलाई निर्वाचनमा सहभागी गराउनुपर्ने विषयमा जोड दिनुभयो । उहाँले संविधान संशोधन र निर्वाचन प्रक्रियालाई सँगसँगै अघि बढाउन सकिने विचार प्रकट गर्नुभयो ।

नेकपा (एमाले)को मेची–महाकाली अभियान सुरु भएकाले यसलाई बिथोल्ने गतिविधि गर्न नहुने उल्लेख गर्दै उहाँले एक अर्काको निषेधको राजनीति गर्न खोजे मुलुकमा राजनीतिक मुठभेड सिर्जना हुनसक्ने भएकाले यस विषयमा दलहरुलाई सचेत हुनुपर्ने सुझाव प्रकट गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter