• Friday, May 23, 2025

भारतीय सुरक्षाकर्मीबाट मारिएका गौतमलाई सहिद घोषणा; मोदीबाट दुःख व्यक्त

government logoकाठमाडौँ, २७ फागुन । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले कञ्चनपुरको सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निधन भएका नेपाली नागरिक गोविन्द गौतमलाई सहिद घोषणा गरेको जानकारी दिनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा कञ्चनपुर र सप्तरी घटनाका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री निधिले सहिद घोषणाका साथै रु दस लाख राहतस्वरुप उपलब्ध गराउने, गौतमको अन्त्येष्टि सम्मानपूर्वक गरिने र सन्ततिको निःशुल्क पठनपाठन गराइदिने निर्णय भएको पनि जानकारी दिनुभयो ।

कञ्चनपुर जिल्लाको दक्षिणी सिमाना नजिक आनन्द बजारमा कल्भर्ट निर्माण सम्बन्धमा नेपाल र भारतका सीमा अधिकारीबीच यही फागुन १० गतेको सहमति विपरीत भारतीय पक्षले कल्भर्ट भत्काएपछि उत्पन्न विवादमा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निर्दाेष गोविन्द गौतमको उपचारका क्रममा दुःखद् निधन भएको मन्त्री निधिले अवगत गराउनुभयो । उहाँले उक्त अकल्पनीय घटनाबारे गृह र परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी धारणा स्पष्ट पारिसकेको जानकारी दिँदै भारतीय पक्षबाट गोली प्रहार हुनु निन्दनीय भएको बताउनुभयो ।

सोही विषयमा आफूले प्रधानमन्त्रीको निर्देशनमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन गरी घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेको उहाँले जानकारी दिनुभयो । यस्तै, परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले पनि स्वराजलाई फोन गरी आइन्दा यस्तो घटना नदोहो¥याउन आग्रह गर्नुभएको र यहाँस्थित भारतीय दूतावासका कार्यबाहक राजदूतलाई परराष्ट्र मन्त्रालयले बोलाइ ध्यानाकर्षण गराएको पनि बताउनुभयो ।

मोदीबाट दुःख व्यक्त

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट कञ्चनपुरको सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिकको मृत्यु भएको सम्बन्धमा दुःख व्यक्त गरिएको जानकारी दिनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोबलले टेलिफोन गरी यस्तो सन्देश दिनुभएको पनि निधिले अवगत गराउनुभयो । प्रधानमन्त्री मोदीका तर्फबाट मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको र शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरिएको छ ।

सप्तरी घटना : क्षति कम गर्न गोली

गृहमन्त्री निधिले नेकपा (एमाले) को मेची–महाकाली अभियानलाई अवरोध गर्ने मधेसी मोर्चाका कार्यकर्ताको विरोध र उत्तेजित भीड नियन्त्रण गर्न र ठूलो क्षति हुन नदिन स्थानीय अधिकारीको अधिकार बमोजिम घुँडामाथि गोली हानिएकामा चारजनाको दुःखद् निधन हुन पुगेको बताउनुभयो । उहाँले दुबैतर्फ क्षति नहोस् भनेर संयमता अपनाउँदा पनि सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएपछि सुरक्षा कारबाही गरिएको जनाउनुभयो ।

उहाँले संविधान कार्यान्वयन, संविधान संशोधन र निर्वाचनको चरणमा सरकार लागिरहेको भन्दै संशोधन विधेयक पेस गरिसकेको र आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि स्थानीय तहको पुनःसंरचना राजपत्रमा प्रकाशन गरी कार्यान्वयन सुरु गरिएको अवस्थामा निर्वाचनको तयारीका लागि सबै सुरक्षा निकायसँग समन्वय भइरहेको बताउनुभयो ।

उहाँले जाजरकोटको बस दुर्घटनाका सम्बन्धमा पनि जानकारी दिँदै घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी विभिन्न स्थानमा उपचार र राहत वितरण कार्य अघि बढाइएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter