• Saturday, May 24, 2025

प्रदूषण नियन्त्रणका लागि प्रभावकारी संयन्त्र बनाइनुपर्ने

Air Pollutionकाठमाडौँ, ७ चैत । नियामक निकायको प्रभावकारी अनुगमन नहुँदा काठमाडौँ उपत्यकाभित्र प्रदूषणको प्रकोप बढेको सांसदहरुले औँल्याउनुभएको छ ।

व्यवस्थापिका–संसद्, वातावरण संरक्षण समितिको आजको बैठकमा उहाँहरुले प्रदूषण नियन्त्रणका लागि प्रभावकारी संयन्त्र बनाइनुपर्ने सुझाव दिनुभयो । उहाँहरुले सरोकार भएका निकायबीच समन्वय अभावले वातावरणीय प्रदूषण नियन्त्रण र अनुगमन हुन नसकेको जनाउँदै उपत्यकामा प्रदूषण नियन्त्रणका लागि नयाँ नीति ल्याइनुपर्नेमा जोड दिनुभयो ।

सांसद अग्निप्रसाद सापकोटा, पुरुषोत्तम पौडेल, भीमसेनदास प्रधान, रञ्जित कर्ण, लीला मगर, मधु शाही ठकुरीलगायतले वायु प्रदूषणको बेलैमा नियन्त्रणका लागि सरोकार भएका निकाय सक्रिय भई प्रभावकारी अनुगमन गरिनुपर्ने धारणा राख्नुभयो ।

नियामक निकाय जनसङ्ख्या तथा वातावरण मन्त्रालयले भने प्रदूषण नियन्त्रणका लागि सबै संयन्त्र परिचालन गरी काम भइरहेको जनाएको छ । सांसदको जिज्ञासापछि मन्त्री जयदेव जोशीले काठमाडौँ उपत्यकाको प्रदूषण तथा प्लास्टिकका झोलाको नियन्त्रणका लागि तत्कालीन र दीर्घकालीन कार्यक्रम अघि बढाइएको जानकारी दिँदै उपत्यकामा वायु प्रदूषण नियन्त्रण गर्न कार्यदल गठन भई कार्ययोजना प्रस्तुत गरिसकिएको बताउनुभयो ।

मन्त्री जोशीले भूकम्पपछिको पुनःनिर्माण, मेलम्ची खानेपानी आयोजना, निर्माण सामग्रीको लापर्बाही प्रयोग र पुराना सवारीसाधनको धुवाँधुलोका कारण उपत्यकामा प्रदूषण तीव्र रुपमा बढेको जनाउँदै प्रदूषण रोक्न सरोकार भएका निकायसँग ताकेता भइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार वातावरण व्यवस्थापनका लागि प्रधानमन्त्री अध्यक्ष रहेको विज्ञसहितको सात सदस्यीय वातावरण परिषद् गठन भइसकेको छ ।

मन्त्रालयका निमित्त सचिव नारायणप्रसाद तिमिल्सनाले प्रदूषण नियन्त्रणका लागि संयन्त्र गठन हुनाका साथै प्लास्टिकका झोला नियन्त्रणका लागि नयाँ मापदण्ड बनाउने अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो । वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दुवाडीले उपत्यकाको धुवाँधुलोबाट सिर्जित प्रदूषण नियन्त्रणका लागि कार्ययोजना बनेको बताउँदै प्लास्टिकको झोला व्यवस्थापनका लागि सरोकार भएकाहरुको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

प्रदूषण मापन गर्न हाल मुलुकमा सात केन्द्र छन् । तिनको थप विस्तार गरिने मन्त्रालयले जनाएको छ । हाल काठमाडौँको रत्नपार्क, ललितपुरको पुल्चोक, काभ्रेपलाञ्चोकको धुलिखेल र उपत्यका बाहिर चितवन र लुम्बिनीमा प्रदूषण मापन केन्द्र छन् । तिनबाट बिहान र बेलुकाको मुख्य समयमा प्रदूषण मापन गरिँदै आएको छ ।

यसैबीच काठमाडौँ उपत्यकामा बढ्दै गएको वायु प्रदूषण नियन्त्रण गर्न अन्तरनिकायसँग समन्वय गरी कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न तथा प्लास्टिकका झोला प्रयोगमा लगाइएको प्रतिबन्ध नतिजामूलक रुपमा लागू गर्न वातावरण संरक्षण समितिले निर्देशन दिएको छ ।

उक्त कार्यको निरन्तर रुपमा अनुगमन गर्न एवम् वायु प्रदूषण र प्लास्टिक झोला नियन्त्रणमा भएको प्रगति सार्वजनिक सञ्चारमाध्यमबाट नागरिकलाई पाक्षिक रुपमा जानकारी गराउन तथा समितिलाई मासिक रुपमा उपलब्ध गराउन निर्देशन दिने निर्णय भएको समितिका सभापति जनकराज चौधरीले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter