• Sunday, June 08, 2025

नक्कली कार्र्ड प्रयोग गरी अर्काकोे रकम निकाल्ने गिरोहका आठ पक्राउ

atm-fraudकाठमाडौँ, ८ चैत । ‘क्लोन मेगनाटिक कार्ड’ प्रयोग गरी अर्काको बैंक खातामा रहेको रकम निकाल्ने गिरोहका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ, बूढानीलकण्ठ बस्ने दोलखा भीमेश्वर नगरपालिकाका सुरेश केसी, बानेश्वर बस्ने भारत लखनऊका सूचनाप्रविधि इन्जिनियर अभिषेक पाण्डे, क्षेत्रपाटी बस्ने भारत नयाँदिल्लीका नदिम खान, ललितपुर उपमहानगरपालिका कुसुन्तीका केवलप्रताप जबरा, ललितपुर मङ्गलबजार बस्ने काभ्रे मेच्छेका विजय लामा दोङ, क्षेत्रपाटीका अनुज नकर्मी, अभिषेक नकर्मी र रोमन महर्जन रहेका छन् ।

महानगरीय अपराध महाशाखाले आज महाशाखामा आयोजना गरेको पत्रकारसम्मेलनमा उनीहरुलाई सार्वजनिक गर्दै वरिष्ठ उपरीक्षक दिनेश अमात्यले ठगीमा नयाँ प्रयोग देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “उनीहरुले विभिन्न अनलाइनमा २० देखि पाँच सय डलरसम्म तिरेर अर्काको एटिएम कार्डलगायत विद्युतीय कार्डको नम्बर र पिन नम्बर पत्ता लगाउने गरेका थिए । नक्कली कार्डमा सोही नम्बर हालेर पैसा निकाल्ने गरेका रहेछन् ।

काठमाडौँलगायत भारतका ठूला व्यवसाय सञ्चालनमा रहेका ‘पोइन्ट अफ सेल मेसिन’बाट विद्युतीय कार्डहरु डेबिट कार्ड, क्रेडिट कार्ड, सेक्युरिटी कार्ड, प्रिपेड कार्ड र ब्लाङक कार्डको कीर्ते गरी करोडौँ रकम चोरी गर्ने कार्यमा उनीहरु संलग्न रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई राजधानीका विभिन्न स्थानबाट चैत ६ गते प्रहरीले पक्राउ गरेको हो ।

हालसम्म उनीहरुले नयाँदिल्लीको चारवटा कपडा पसलबाट दुई वर्षअघि भारतीय रुपैयाँ रु तीन लाख, दुई वर्षअघि कास्की पोखरास्थित टीका रिसोर्टबाट रु दुई करोड, एक वर्षअघि काठमाडौँ क्षेत्रपाटीस्थित डी सोभिनियरबाट रु ३० लाख, नौ महिनाअघि काठमाडौँका चावहिलस्थित चाँदनी ज्वेलर्सबाट रु ४७ लाख, तीन महिनाअघि भक्तपुरस्थित पौरानिक थान्का तथा मालाबाट रु. ४५ लाख र पछिल्लो समय १५ दिनअघि महाराजगन्जस्थित लिक्वायर कम्पनीबाट रु चार लाख निकालेको खुल्न आएको प्रहरीले जनाएको छ ।

साथै सिटी सेन्टरमा रहेको अडिडास सोरुमको स्विप मेसिनबाट प्रत्येक दिन १० लाख र उपत्यकास्थित विभिन्न क्यासिनोमा रहेका स्विप मेसिनबाट प्रत्येक दिन रु ५० लाखसम्म निकाल्ने योजना उनीहरुले बनाएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रहरी उपरीक्षक विष्णु केसीले सो समूहले व्यापारिक मलमा गएर एकै पटक लाखौँको किनमेल गर्ने र नक्कली कार्डमार्फत अर्काको रकम झिक्ने गरेको तथा त्यहाँका कर्मचारीसँग मिलेमतो गरी रकम लिने गरेको देखिएको प्रारम्भिक अनुसन्धानमा देखिएको बताउनुभयो ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter