निर्वाचनसँगै मतदाता शिक्षा पनि; हरेक मतदाता तथा उम्मेदवारलाई सुरक्षा दिइने; मतपत्र छपाइ जारी

Election Commissionहेटौँडा, १० चैत । आगामी वैशाख ३१ हुने स्थानीय निकायको निर्वाचनबारे जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जिल्लाका सरोकार निकायसँग आज छलफल गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयले विभिन्न राजनीतिक दल, गाउँपालिकाका प्रमुख, जिल्ला प्रशासन कार्यालय , जिविस, चारै सुरक्षा निकाय प्रमुख र गैरसरकारी संस्थाका प्रतिनिधिसँग निर्वाचन आचारसंहिता पालना, मतदाता शिक्षा कार्यक्रमसम्बन्धी विविध विषयमा छलफल गरेको हो ।

कार्यक्रममा निर्वाचन कार्यालयमा दर्ता भएका २२ राजनीतिक दलले पालना गर्नुपर्ने आचारसंहिताबारे निर्वाचन कार्यालयले प्रस्तुति दिएको थियो । हरेक गाउँपालिकामा १२ वटा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

सो अवसरमा सभासद् राजाराम स्याङ्तानले दुई दशकपछि हुन लागेको स्थानीय निकायको निर्वाचन संविधान कार्यान्वयन गर्ने प्रस्थानविन्दु एवं जनताका विकास तथा सेवा गर्ने आधार भएकाले निर्वाचनलाई सबै क्षेत्रले सफल पार्नुपर्ने बताउनुभयो । प्रजिअ नारायणप्रसाद दुवाडीले चुनाव निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपले सम्पन्न गर्ने सबैको कर्तव्य भएकाले आआफ्ना क्षेत्रबाट योगदान गर्न अनुरोध गर्नुभयो ।

हरेक मतदाता तथा उम्मेदवारलाई सुरक्षा दिइने

निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित ढङ्गले सम्पन्न गराउने उद्देश्यले ‘स्थानीय निर्वाचन र निर्वाचन सुरक्षा योजना’ का विषयमा सुरक्षा निकायका अधिकारीसँग छलफल गरेको छ ।

स्थानीय तहको निर्वाचन सुरक्षाको तयारीको पछिल्लो अवस्थाबारेमा जानकारी लिइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । छलफलमा आयोगका पदाधिकारीले सुरक्षा तयारीका विषयमा कमजोरी हुन नपाओस् भनेर थप सुझाव पनि दिनुभएको थियो । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदानपछिको मतपेटिका ढुवानी, मतगणनाको सुरक्षा तथा समग्र निर्वाचनको व्यवस्थापनमा समेत सचेत र चनाखो रही सुरक्षा व्यवस्था हुने गरी काम गर्न निर्देशन दिनुभयो ।

निर्वाचन आयोग, उच्चस्तरीय सुरक्षा समितिका संयोजकसमेत रहनुभएका आयुक्त सुधीरकुमार शाहले गृह मन्त्रालयबाट प्राप्त सुरक्षा योजनाप्रति सन्तोष व्यक्त गर्दै केही विषयमा थप स्पष्ट गर्न र कार्यान्वयनयोग्य सुरक्षा योजनालाई प्राथमिकता दिन आग्रह गर्नुभएको थियो ।

गृहसचिव लोकदर्शन रेग्मीले क्षेत्रीयदेखि वडास्तरसम्म सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको र हरेक मतदाता तथा उम्मेदवारलाई सुरक्षा सुनिश्चितता दिने किसिमले मन्त्रालय अगाडि बढेको जानकारी गराउनुभयोे । छलफलमा आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सचिव गोपीनाथ मैनाली पनि सहभागी हुनुहुन्थ्यो ।

यसैगरी निमित्त प्रहरी महानिरीक्षक डा दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी र नेपाली सेनाका उपरथी विनोदकुमार श्रेष्ठसमेत सहभागी हुनुहुन्थ्यो ।

मतपत्र छपाइ जारी

स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको छपाइ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा जारी छ । यही चैत ६ गतेदेखि सुरु भएको छपाइका क्रममा १२ जिल्लाका मतपत्र छापिइसकेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter