• Monday, April 21, 2025

तोकेको मितिमा निर्वाचन गराउन आयोग तयारः आयुक्त साह; मतदाता शिक्षा क्षेत्रीय प्रशिक्षक प्रशिक्षण

Election Commissionबुटवल, १३ चैत । निर्वाचन आयुक्त सुधीरकुमार साहले सरकारले तोकेको मितिमा निर्वाचन गराउन निर्वाचन आयोग पूर्ण तयारीका साथ लागेको बताउनुभएको छ ।

उहाँले निर्वाचन सम्पन्न गर्नका लागि चाहिने समयभन्दा निकै कम समयभित्र निर्वाचन गराउने गरी सरकारले तोकेको मितिमा पनि आयोग निर्वाचन गराउन सक्षम रहेको बताउनुभएको छ ।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि निर्वाचन तयारीका क्रममा आयोगले बुटवलमा आयोजना गरेको दुईदिने प्रशिक्षक प्रशिक्षण तालिमका लागि बुटवल आउनुभएका आयुक्त साहले आज बुटवलमा पत्रकारसँग कुरा गर्दै निश्चित समयमा निर्वाचन गराउने गरी आयोगले सबै तयारी गरिरहेको जानकारी दिनुभयो ।

उहाँले २० वर्षपछि हुन लागेको यो चुनावमा सबैतिर उत्साह बढेको बताउँदै वैशाख ३१ गते एकै चरणमा निर्वाचन हुने पनि बताउनुभयो । उहाँले तयारीका लागि ८३ दिनमात्रै प्राप्त भए पनि निर्वाचन आयोगले सबै कामसक्ने बताउनुभयो ।

उहाँले निर्वाचनको तयारीका क्रममा आयोगले निर्वाचनका लागि आवश्यक पर्ने करिब २५ हजार आवश्यक मतपेटिका खरिदको प्रक्रिया अघि बढाएको, स्तरीय मतदाता परिचयपत्र छाप्ने काम भइरहेको, क्षेत्रगतरुपमा मतदाता शिक्षासम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको, १२ जिल्लाका मतपत्र छपाइको काम सकिएको जानकारी पनि दिनुभयो ।

आयुक्त साहले नागरिकलाई सुरक्षित, निर्भिकरुपमा मतदान गर्न वातावरण बनाउन र केन्द्रसम्म धेरै मतदातालाई उपस्थित गराउन आयोगले काम गरिरहेको बताउनुभयो ।

उहाँले पहिलेका निर्वाचनमा भन्दा अहिले मतदानको बदर सङ्ख्या घटाउने र सदर बढाउने उद्देश्यअनुरुप निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २१ हजार मतदान केन्द्रमा मतदाता शिक्षा चलाउनेसमेत जानकारी दिनुभयो ।

यस कार्यमा नमुना मतपत्रसमेत बोकेर स्वयम्सेवक मतदाताको घरघरमा पुग्ने उहाँले बताउनुभयो । निर्वाचन आयुक्त साहले स्थानीय चुनावमा उम्मेदवारको सङ्ख्या नै तीनलाख ६० हजारको हाराहारीमा पुग्ने भएकाले सचेतनाको काम पूर्णरुपमा हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “एउटा पदमा १० जनाले उम्मेदवारी दिए भने पनि तीनलाख ३० हजार उम्मेदवार हुनेछन्, उम्मेदवार, कार्यकर्ता प्रत्येक घरघरमा चुनाव प्रचारमा पुग्छन्, यसले निर्वाचनको रौनकता निकै बढाउनेछ ।”

मतदाता शिक्षा क्षेत्रीय प्रशिक्षक प्रशिक्षण

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी यहाँ मतदाता शिक्षा क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबारदेखि सुरु भएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालय पोखराको आयोजनामा भएको सो कार्यक्रममा लुम्बिनीका गुल्मी, पाल्पा, गण्डकी र धवलागिरिका १० जिल्लाका प्रशिक्षकको सहभागिता रहेको कार्यालयका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।

दुई दिनसम्म हुने सो कार्यक्रममा जिल्लाका निर्वाचन अधिकारी, माध्यमिक विद्यालयका महिला सामाजिक शिक्षक, जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति, सामाजिक अधिकृत र जिल्ला समन्वय समितिका सामाजिक शाखा अधिकृतसमेत ५० जनाको सहभागिता छ । प्रशिक्षकले प्रशिक्षण लिएपछि आआफ्ना जिल्लामा गएर हरेक मतदान केन्द्रका टोल टोलमा खटिने स्वयंसेवकलाई मतदाता शिक्षासम्बन्धी तालिम दिनेछन् ।

मतदाता शिक्षा कार्यक्रमले बदर मत घटाउने र मतदान केन्द्रमा बढीभन्दा बढी मतदाता सहभागी गराउन प्रेरित गर्ने विश्वास गरिएको छ । यही चैत २७ वा २८ गतेदेखि एक महिनासम्म मतदाता शिक्षाका लागि स्वयंसेवक परिचालन गरिने बताइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter