नेपाल निर्वाचनमार्फत संविधान कार्यान्वयनमा लागिपरेको छः राष्ट्रपति भण्डारी

Presidentभरत केसी / नयाँदिल्ली, ५ वैशाख । मित्र राष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राष्ट्रपति भवनमा भारतका विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहले अलग अलग भेट गर्नुभएको छ ।

भेटका अवसरमा राष्ट्रपति भण्डारीले नेपाल भारतबीच सांस्कृतिक, धार्मिक तथा समाजिक सम्बन्ध रहेको बताउँदै आफ्नो भ्रमणले दुइ देशबीचको मित्रताको अझै प्रगाढ भई उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा ठूलो राजनीतिक परिवर्तनपछि बनेको समावेशी संविधानले महिला र पिछडिएका समुदायको अधिकार स्थापित भएको बताउनुभयो । राष्ट्रपतिले यसलाई व्यवहारमा परिणत गर्न सरकार निर्वाचनमार्फत संविधानको कार्यान्वयनमा लागिपरेको बताउनुभएको परराष्ट्रमन्त्री मन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

दुवै मन्त्रीले नेपाल भारतबीच आपसी विश्वास र सद्भावको विकास बढेर गएको बताउँदै नेपालको हित र विकासमा भारत सरकार सदैव साथमा रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । गृहमन्त्री सिंहले संविधान र निर्वाचनका बारेमा समेत जिज्ञासा राख्नुभएको थियो । सो विषयमा भेटमा सहभागी परराष्ट्रमन्त्री डा महतले नेपालको संवैधानिक व्यवस्थानुसार नै एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले सरकार सबैको भावना समेटेर निर्वाचन गर्ने प्रयासमा रहेको बताउनुभएको थियो ।

विदेशमन्त्री स्वराजले नेपालको पुनःनिर्माण तथा समग्र विकासका परियोजना चाँडोभन्दा चाँडो पूरा होस् भन्ने भारतीय प्रधानमन्त्रीकोे समेत चाहना रहेको राष्ट्रपतिसमक्ष जानकारी गराउनुभएको डा महतले बताउनुभयो । मन्त्री स्वराजले नेपालमा भारतीय सहयोगमा बन्दै गरेका विकास परियोजनाका बारेमा एक एक महिनामा सम्बन्धित अधिकारीबाट जानकारी लिने गरिएको र त्यसबारे प्रधानमन्त्रीलाई तीन तीन महिनामा आफूले जानकारी गराउने गरेको अवगत गराएको परराष्ट्रमन्त्री डा महतले बताउनुभयो । मन्त्री डा महतले परियोजनाबारे नेपाल सरकारको पनि तदारुकता रहेको उल्लेख गर्दै द्विपक्षीय संयन्त्रले काम र त्यसबारेको प्रगति विवरण दिइरहेको बताउनुभयो ।

सो अवसरमा शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादव, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, राष्ट्रपति कार्यालयका परराष्ट्रविज्ञ डा मदनकुमार भट्टराई, राष्ट्रपतिका मुख्य स्वकीय सचिव भेषराज अधिकारी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारीलगायतको सहभागिता थियो ।

यसअघि आजै राष्ट्रपति भण्डारीलाई भारतीय सेनाले राजकीय सम्मानस्वरुप राष्ट्रपति कार्यालय परिसरमा गार्ड अफ अनर प्रदान गरेको थियाृ । उक्त अवसरमा राष्ट्रपति भण्डारीका समकक्षी प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतीय उच्च अधिकारीको सहभागिता थियो । त्यसलगत्तै राष्ट्रपति भण्डारी राजघाट पुगेर त्यहाँस्थित महात्मा गान्धीको समाधिमा पुष्पमाला अर्पण गरेर श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । उहाँले आजै बजिरावादस्थित यमुना जैविक विविधता संरक्षण उद्यानको अवलोकन गर्दै राष्ट्रपतिले महुवाको बिरुवासमेत रोप्नु भएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter