लोप भैसकेको पदमार्ग ‘सराङकोट–नौडाँडा’ पुनः सञ्चालन हुने

everest-trek-trailsवासुदेव पौडेल / पोखरा, वैशाख १० गते । पर्यटकीय नगरी पोखरासँग प्रत्यक्ष सरोकार राख्ने पदमार्गमध्येको ‘सराङकोट–नौडाँडा’ पदमार्ग पुनःसञ्चालनमा आउने भएको छ ।

पोखरा आउने पर्यटक जाने गरेको सराङकोट– कास्कीकोट–तोरीपानी–नौडाँडा पदमार्ग बाटो विस्तारसँगै हराउने अवस्थामा पुगेकोमा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले पर्यटन सम्बद्ध संस्थासँगको सहकार्यमा उक्त पदमार्गलाई पुनः सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

सराङकोट डाँडाको फेदीदेखि लगभग १४ किमि दुरीमा रहेको यो पदमार्ग एक दिनको पदयात्रा गर्न रुचाउने जो कोही पर्यटकका लागि उत्कृष्ट गन्तव्य हुने भएकोले यसलाई पुनः ताजगी गराउने प्रयास गरिएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलियाले बताउनुभयो ।

“पोखरा आसपासमा रहेका सराङकोट–नौडाँडा जस्ता धेरै पदमार्ग हराउन थालेकोले यिनको पुनः ताजगीका लागि बोर्डले हाइकिङ बिथ एनटिबी, ‘द’ लष्ट ट्रेल कार्यक्रमलाई अघि बढाएको छ,” उहाँले भन्नुभयो, “कार्यक्रम अन्तर्गत प्रत्येक महिना यस्ता हराएका पदमार्ग प्रवद्र्धनका लागि पर्यटन सम्बद्ध संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिने छ ।” पोखरामा पर्यटकको बढ्दो आकर्षणसँगै पर्यटकको बसाइ लम्ब्याउनका लागि आसपासका छोटादुरीका पदमार्गको विकास र प्रचारप्रसारको आवश्यकता रहेको औंल्याउँदै उहाँले बढ्दो सहरीकरणको प्रभावमा यस्ता पदमार्ग जो कोहीका लागि आकर्षक गन्तव्य बन्ने बताउनुभयो ।

पदयात्रा पर्यटन नेपालको पर्यटनको एक विशिष्ट पक्ष भएको बताउँदै थपलियाले आन्तरिक पर्यटनमा प्रत्येक वर्ष थपिँदै गएको नयाँ पुस्तालाई समेत यस्ता गन्तव्यले लोभ्याउने विश्वास व्यक्त गर्नुभयो । पदयात्राका क्रममा पोखरा सहरको अवलोकनका साथै उच्च पहाडी तथा हिमाली दृश्य एक साथ अवलोकन गर्न पाउनु यो पदमार्गको विशिष्टता हो ।

कुलमन्डन शाहाको समयमा प्रयोगमा आएका कुवा तथा विभिन्न ऐतिहासिक सम्पदा यस क्षेत्रमा रहनुले नेपाल राज्यको इतिहासमा यिनीहरूको छुट्टै महत्व रहेको सराङकोटस्थित ग्रिन हिल रेस्टुरेन्टका सञ्चालक ठाकुर तिमल्सिनाले बताउनुभयो । “सराङकोट – नौडाँडा पदमार्गमा पर्ने कुलमन्डन शाहाले प्रयोगमा ल्याएको कुवादेखि कास्कीकोटमा रहेको ऐतिहासिक दरबार यहाँका महत्वपूर्ण सम्पदा हुन्,” उहाँले भन्नुभयो, “यी ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीयवासीका साथै राज्यको जागरुकता आवश्यक छ ।” सराङकोटबाट कास्कीकोट, तोरीपानी जस्ता स्थान हुँदै नौडाँडासम्म पुग्ने यो मार्ग एक दिने पदयात्रा र दृश्यावलोकनका लागि अत्यन्त उत्कृष्ट गन्तव्य भएको ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च९भिटोफ० कास्कीका अध्यक्ष तारानाथ पहारीले बताउनुभयो ।

पदयात्रा मार्गमा पर्ने तोरीपानी होमस्टेका साथै यस आसापसका क्षेत्रमा विस्तारै मौलाउँदै गएको ग्रामीण पर्यटन पदयात्रा मार्गको पुनः सञ्चालनसँगै विकसित बन्दै जाने उहाँको धारणा छ । “विश्वमै सुन्दर पर्यटकीय नगरीका रुपमा ख्याती पाएको पोखरा आउने पर्यटकको बढ्दो चापलाई दृष्टिगत गरी आसपासका ग्रामीण क्षेत्रमा पर्यटनको विकास आवश्यक छ,” उहाँले भन्नुभयो, “सडक विस्तारसँगै हराउने अवस्थामा पुगेका पदमार्गलाई पुनः सञ्चालनमा ल्याउने गरी कार्यक्रम अघि बढाएमा त्यसले पोखराको मात्र नभएर आसपासका गाउँको पर्यटकीय विकासमा पनि महत्वपूर्ण सहयोग पु¥याउँछ ।”

सराङकोट–नौडाँडा पदमार्गलाई एक दिने प्याकेजका रुपमा राख्न सकिने बताउँदै अध्यक्ष पहारीले थप्नुभयो,–“पोखरा आउने पर्यटकलाई एक दिन सराङकोटबाट हिँडाएर तोरीपानीस्थित भुजेल गाउँ होमस्टेमा बस्नको लागि लैजाने र भोलिपल्ट बिहान नौडाँडासम्म हिँडाएर त्यहाँबाट यातायातका साधन मार्फत पोखरा ल्याउन सकिन्छ ।” पोखरा बाग्लुङ राजमार्गमा सञ्चालनमा आएसँगै सराङकोट – नौडाँडा पदमार्ग हराउने अवस्थामा पुगेको राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका पश्चिमाञ्चल सयोजक गोविन्दराज पहारीले बताउनुभयो ।

नेपालको पर्यटकीय विकासमा पदयात्रा पर्यटनको छुट्टै विशिष्ट महत्व रहेको बताउँदै उहाँले नेपाल पर्यटन बोर्डले हराएका पदमार्गको खोजी गर्दै तिनीहरूको प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाउन खोज्नुले पोखरा आउने पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुग्ने धारणा राख्नुभयो । “ऐतिहासिकतासँग जोडिएका क्षेत्रमा पदमार्गको विकास तथा विस्तार गर्न सके त्यसले ती ठाउँको राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पहिचानका साथै समग्र देशकै पर्यटकीय विकासमा टेवा पुग्ने देखिन्छ,” – संयोजक पहारीले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter