तत्काल मतगणना र बजेट प्रस्तुत गर्ने कार्यप्रति एमालेको विरोध; निर्वाचनमा सुरक्षा प्रदान गर्न सेना प्रतिबद्ध : रक्षामन्त्री खाँण

UML party officeकाठमाडौँ, वैशाख १३ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दुई चरणको निर्वाचन घोषणा भएको अवस्थामा पहिलो चरणको निर्वाचनको मतगणना तत्काल गर्ने र बजेट प्रस्तुत गर्न अनुमति दिने निर्वाचन आयोगको निर्णयप्रति अपत्ति जनाएको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादव र आयुक्तहरुलाई भेटेर पहिलो चरणको निर्वाचनको तत्काल मतगणना गरिँदा दोस्रो चरणको निर्वाचनलाई असर तुल्याउने भएकाले निर्वाचनको निष्पक्षता र विश्वसनीयतालाई ध्यान दिन सुझाव दिएको थियो ।

कति चरणमा निर्वाचन गर्ने भन्ने सन्दर्भमा राजनीतिक दलहरुबीच भएको रस्साकस्सीबारे स्मरण गराउँदै सरकार र आयोगले एमालेसँग कुनै सोधपुछ र परामर्श नै नगरी किन लामो अन्तर राखेर दुई चरणमा निर्वाचन घोषणा भयो भनी प्रतिनिधिमण्डलले विरोध जनाएको थियो ।

स्थानीय तहको निर्वाचन दुई चरणमा किन गरियो भनी पार्टीको धारणा राख्न भएको एमालेको टोलीले निर्वाचनको स्वच्छता, निस्पक्षताको सुन्दरताको जर्गेना गर्ने प्रमुख दायित्व आयोगको भएको पनि स्मरण गरायो ।

सरकार र निर्वाचन आयोगको परामर्शमा भएको निर्वाचनलाई शिरोधार्य गरेर प्रमुख प्रतिपक्ष दल निर्वाचनको लागि मुलुकभर परिचालन भएको अवस्थामा अचानक दुई चरणमा निर्वाचन घोषणा भएकोप्रति गुनासो व्यक्त गर्दै दोस्रो चरणको निर्वाचनको लागि घोषणा भएको मितिसमेत गलत भएको जनाएको थियो ।

छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपनेता नेम्वाङले भन्नुभयो– “निर्वाचन स्वच्छ, निष्पक्ष र पवित्र हुनुपर्छ भन्ने मान्यता ठूलो हो की मतपेटिका लामो समयसम्म कसरी राख्ने भन्ने कुरा ठूलो हो ।”

दुई चरणको निर्वाचन घोषणा भएको अवस्थामा आचारसंहिता विपरीत जेठ १५ गते बजेट घोषणा गर्ने काम ठीक नहुने जिकिर गर्दै उहाँले मुलुक निर्वाचनमय भएको हुँदा अब स्थानीय तहको सङ्ख्या बढाइमा आफूहरुले कुनै हालतमा मान्य नहुने बताउनुभयो ।

निर्वाचनमा सुरक्षा प्रदान गर्न सेना प्रतिबद्ध : रक्षामन्त्री खाँण

काठमाडौँ, वैशाख १३ गते । रक्षामन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनको सुरक्षा प्रदान गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले विगतमा संविधानसभाको निर्वाचनमा पनि सेनाले सुरक्षा प्रदान गरेको उल्लेख गर्दै स्थानीय तहको निर्वाचनमा पनि सुरक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

“सेना निर्वाचनमा सहभागी हुने मतदाता, कर्मचारी र मतपेटिकाको सुरक्षा गर्न तयार छ”, उहाँले भन्नुभयो – “अगाडिको घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा गर्ने र त्यसपछिको घेरामा निर्वाचनमा खटिने सबैको सुरक्षा गर्नका लागि सेना तयार रहेको छ ।”

उहाँले अहिले निर्वाचनमा देशभरिको सुरक्षा कस्तो हुने भन्नेमा आँकलन भइरहेको बताउँदै आवश्यक परेमात्र सेना परिचालन गर्ने जानकारी गराउनुभयो ।

“दुई चरणमा निर्वाचन हुने भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्र पनि सुरक्षा दिन सक्छन्”, उहाँले भन्नुभयो – “निर्वाचनमा सेना आवश्यक परेन भने पनि ब्यारेकबाट सेनाले अवलोकन गर्नेछ । जब सेनाको आवश्यकता पर्छ अनिमात्र सेना मैदानमा उत्रनेछ ।”

मन्त्री खाँणले सरकारले चाँडै नै राष्ट्रिय प्रतिरक्षा सुरक्षा नीति ल्याउन लागेको जानकारी गराउनुभयो । उहाँले अहिले प्रतिरक्षा सुरक्षा नीतिमा सरकारले सैद्धान्तिक सहमति जनाइसकेको भन्दै चाँडै नै समिति वा आयोग बनाएर कस्तो नीति सम्बन्धमा अध्ययन गरिने जानकारी गराउनुभयो ।

उहाँले जेठमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने सरकारले नै नयाँ बजेट ल्याउने जिकिर गर्नुभयो । उहाँले काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच मतभेद र द्वन्द्व भए पनि तीनै तहको निर्वाचनसम्म दुई पार्टीको समीकरण रहिरहने दाबी गर्नुभयो ।

उहाँले देशमा शान्ति कायम, द्वन्द्व व्यवस्थापन र तीनै तहको निर्वाचन गर्नका लागि संविधान संशोधन विधेयक ल्याइएको जानकारी गराउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter