यूएन पार्क त्रिवि गेटसम्म फैलिने

UN Parkकाठमाडौँ, वैशाख १३ गते । शङ्खमूल पुलदेखि टेकू दोभानसम्म फैलिएको संयुक्त राष्ट्रसङ्घीय (यूएन) पार्क विस्तार भएर बल्खु पुलदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय गेटसम्म फैलिने भएको छ । यसअघि एक हजार ५७६ रोपनी जग्गामा फैलिएको सो पार्क विस्तारमा सरकारले स्वीकृति दिएपछि यसले थप ३० रोपनी जग्गा ओगट्ने भएको हो ।

पार्कका कार्यकारी निर्देशक लक्ष्मीनारायण चौधरीका अनुसार पार्क विस्तार हुने भएपछि त्यसको व्यवस्थापनको काम सुरु भएको छ । पार्कलाई हरियाली बनाउनेतिर केन्द्रित भई काम भइरहेको उहाँले जानकारी दिनुभयो । पार्क व्यवस्थापनका लागि बजेट न्यून रहे पनि सरसफाइ तथा आन्तरिक व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको चौधरीले बताउनुभयो ।

दुई दसकअघि २०५२ चैत २६ मा स्थापना भएको सो पार्कमा अहिले विभिन्न जातका बोटबिरुवा रोपिएका छन् । पार्क व्यवस्थापनले अहिले काठमाडौंँको बीच भागमा हरियाली छाएको छ । रूख बढेर जङ्गल बनेपछि त्यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी बस्न थालेका छन् ।

शहरी विकास मन्त्रालयअन्तर्गत रहेको सो पार्कको चालू आर्थिक वर्षमा दुई करोड २६ लाख रुपियाँ बजेट रहे पनि आगामी आव २०७४÷७५ का लागि सात करोड २१ लाख रुपियाँ बजेट प्रस्ताव गरिएको निर्देशक चौधरीले जानकारी दिनुभयो ।

अहिले थापाथली पुलस्थित पार्कको जग्गामा करिब ५० लाख रुपियाँ खर्चेर यूएन स्मारक निर्माण भइरहेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्नुभएको सो स्मारकको निर्माण अन्तिम चरणमा पुगेको छ । नौ मिटर अग्लो सो स्मारकमा चौबीसै घण्टा घुम्ने ग्लोब र प्रकाश जडानको काम भइरहेको निर्देशक चौधरीले बताउनुभयो ।

उहाँका अनुसार पार्कमा हरेक दिनजसो फिल्म तथा भिडियो सुटिङको काम हुने गरेको छ । सुटिङ र पिकनिक समूहलाई न्यूनतम पाँच सय रुपियाँ शुल्क तोकिएको छ । छ महिना अघिदेखि सुरु गरिएको सो शुल्कबापत ३५ हजार रुपियाँ जम्मा भइसकेको चौधरीले बताउनुभयो ।

पार्कको व्यवस्थापन गर्ने क्रममा अहिले पार्कभित्र आधुनिक सशुल्क शौचालय निर्माण गरिएको पनि निर्देशक चौधरीले बताउनुभयो । सो रकम पार्क व्यवस्थापनमा खर्च गरिने उहाँले बताउनुभयो । निर्देशक चौधरीका अनुसार पार्क परिसरमा बिहान–बेलुका डुल्नेको भीड हुन्छ । योगका लागि पनि दैनिक समूह आउने गरेका छन् ।

पार्कभित्र असारे, कल्गी, लप्सी, मसला, काइँयो, अम्बा, रुद्राक्ष, धुपी, लिप्टिस, कपुर, वरपीपल, निम आदि प्रजातिका बोटबिरुवा रहेका छन् । पार्कका इञ्जिनियर असीम अधिकारीका अनुसार त्यहाँ काग, बकुल्ला, ढुकुर, भँगेरा, मैना, भाकुर, चिल, परेवा आदि चराचुरुङ्गी बस्न थालेका छन् ।

यूएनको सदस्य राष्ट्रले विश्व शान्तिका लागि योगदान दिनेको स्मरणमा यूएन पार्क बनाउने प्रचलन छ । त्यही प्रचलनअनुसार नेपालमा पनि पार्कको स्थापना गरिएको निर्देशक चौधरीले बताउनुभयो । पार्कभित्र मान्छे हिँड्ने पक्की ट्र्याक खोलिएको छ । जसले व्यायामका लागि पैदल हिँड्नेलाई थप सुविधा थपिएको छ ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा १९ मङ्सिर २०६६ मा कालापत्थरमा बसेको मन्त्रिपरिषद् बैठक र त्यहाँबाट ल्याइएको ढुङ्गाको स्मारक पनि पार्क परिसरमा निर्माण गरिएको छ । रूख बिरुवा हलक्क बढेर सुन्दर भएका छन् ।

पार्कको व्यवस्थापन तीव्र गतिमा भए पनि थापाथलीस्थित नदीको किनारमा करिब २५० घर सुकुमबासीको नाममा बनाएर बस्ती बसेपछि पार्क कुरूप बनेको निर्देशक चौधरीले बताउनुभयो । त्यसको व्यवस्थापनका लागि पहल भइरहेको भए पनि दलीय किचलोले व्यवस्थापनमा ढिलाइ भएको उहाँले गुनासो गर्नुभयो ।

पार्क व्यवस्थापनका लागि शहरी विकास मन्त्रीको संयोजकत्वमा चौध सदस्यीय पार्क विकास समिति गठन गरिएको छ । सो समितिमा शहरी विकास, विज्ञान प्रविधि, अर्थ, गृह, रक्षा, परराष्ट्र, भूमिसुधार, भौतिक पूर्वाधार, सिँचाइ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ । त्यस्तै सदस्यमा काठमाडौंँ महानगरपालिका, ललितपुर उपमहानगरपालिकाका प्रमुख र पार्कका कार्यकारी निर्देशक सदस्यसचिव रहने व्यवस्था छ ।

वाग्मती नदी वरिपरिको सार्वजनिक जग्गाको संरक्षण, वाग्मतीलाई फोहोरमैलाबाट जोगाउन र आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गर्ने उद्देश्यले स्थापना भएको सो पार्कमा निर्देशकसहित हाल २१ जना कर्मचारीले रोजगारी पाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter