हिमाल र सूर्योदय हेर्न पञ्चासे आउने पर्यटक बढ्दै

tourists-visiting-Nepalपर्वत, वैशाख १५ गते । कास्की, स्याङ्जा र पर्वतको सङ्गममा पर्ने प्रसिद्ध पञ्चासे क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा बृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा मौसम सफा भएपछि हिमाल हेर्न आउने पर्यटकको दैनिकरुपमा भीड लाग्ने गरेको हो । दैनिक सयौँको सङ्ख्यामा पञ्चासेमा पर्यटक आउने गरेका छन् ।

“यतिवेला मौसम सफा छ,” पञ्चासे क्षेत्र विकास समितिका अध्यक्ष गोपाल गुरुङले भन्नुभयो, “त्यही भएर बिहानदेखि बेलुकासम्मै हिमाल हेर्नेको भीड लाग्ने गरेको छ ।” जाडो मौसम सकिएलगत्तै घुम्न आउने पर्यटकको सङ्ख्या बढेर गएको स्थानीयवासीले जानकारी दिएका छन् । गुरुङका अनुसार भ्यू टावरमा दूरबिनसमेत राखिएकाले आगन्तुकले दूरबिनमार्फत हिमाल हेरी आनन्द लिने गरेका छन् ।

वरिपरिको तुवाँलो हटेकाले धौलागिरि, गण्डकी र लुम्बिनी अञ्चलका जिल्ला सदरमुकामसमेत एकसाथ देखिने गरेको छ । यहाँबाट माछापुछ्रे्र, धौलागिरि, अन्नपूर्णलगायत हिमशृङ्खला एकसाथ देखिने भएकाले हिमाल हेर्न आउनेको भीड लागेको हो । दैनिक एकसयदेखि चारसयसम्म पर्यटक घुम्न आउने गरेको पञ्चासे क्षेत्र विकास समितिले जनाएको छ । आन्तरिकसँगै बाह्य पर्यटक परिवारका साथ घुम्न आउने गरेका छन् ।

केही बिहान आएर बेलुका फर्कने र केही भने पञ्चासेमै पाल टाँगी बस्ने गरेका छन् । घुम्न आउनेमा युवायुवतीको सङ्ख्या बढी छ । “दुई वर्षअघि आउंँदा यसरी पञ्चासेको सौन्दर्यमा रम्न पाइएको थिएन,” पोखराबाट साथीसँग पञ्चासे आएका प्रवीण गुरुङले भन्नुभयो, “यो पटक त वास्तविक पञ्चासेको सौन्दर्यमा रम्न पाइयो ।” उहाँले फोटो पनि धेरै खिच्न पाएको बताउनुभयो ।

पञ्चासेबाट आसपासको दृश्य सहजरुपमा हेर्न मिल्ने गरी तुवाँलो हटेपछि शैक्षिक भ्रमणमा आउनेको सङ्ख्यासमेत बढेको छ । पर्वत, स्याङ्जा, पोखरा, चितवन, काठमाडौँलगायत जिल्लादेखि शैक्षिक भ्रमणमा विद्यार्थी, शिक्षक आउने गरेका छन् । दुईहजार पाँचसय १७ मिटरको उचाइमा रहेको पञ्चासेमा पर्याप्त होटल र पसल नहुँदा भने घुम्न आउने पर्यटकले समस्या झेल्ने गरेका छन् ।

अघिल्लो वर्षको तुलनामा घुम्न आउनेको सङ्ख्या झन्डै दोब्बरले वृद्धि भएको छ । बासस्थानका लागि आगन्तुकलाई समस्या भएकाले सामुदायिक भवन बनाएर बस्ने व्यवस्था मिलाइएको पञ्चासे क्षेत्र विकास समितिले जानकारी दियो । अधिकांश पर्यटक कास्कीको भदौरे तामागी, पर्वतको चित्रे, आर्थर र स्याङ्जा हुँदै पञ्चासेसम्म पुग्ने गर्छन् । यातायातका साधन नपुग्दा पर्यटक पैदल यात्रामार्फत पञ्चासे पुग्ने गरेका छन् ।

पर्यटकलाई लक्षित गरी पर्याप्तरुपमा होटल सञ्चालनमा ल्याउने हो भने अवश्य पनि पर्यटकको सङ्ख्या अझै बढ्ने भएकाले स्थानीयवासी सक्रिय बन्न थालेका छन् । साँझमा चित्रे र आर्थरमा रहेका होमस्टेमा बास बस्न जाने र बिहानै उठेर पञ्चासेमा सूर्योदय र हिमशृङ्खलाको दृश्य हेर्न जानेको सङ्ख्या उल्लेख्य हुने गरेको चित्रे होमस्टे सञ्चालक समितिका अध्यक्ष सुशीलादेवी गुरुङले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter