इन्सपेक्टर तालिममा उत्कृष्ट हुनेहरु प्रधानमन्त्रीबाट पुरस्कृत

police-625x405काठमाडौँ, जेठ १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा १६५औं समूह प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । उक्त अवसरमा प्रधानमन्त्रीले कवाज निरीक्षण गर्नुको साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई पुरस्कार वितरण गरे ।

पुरस्कृत हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुमा तालिममा सर्वप्रथम हुने नारायण थापा, सर्वद्वितीय तथा शारीरिक व्यायाम प्रथम मोतिलाल योञ्जन तामाङ, सर्वतृतीय केशवराज भट्ट, अध्ययन प्रथम नरेशराज मल्ल, कवाज प्रथम नरबहादुर साउद, प्रहरी युक्ति तथा कारबाही प्रथम दीपक थापा, चाँदमारी प्रथम पुष्करराज पन्त र महिलातर्फ प्रथम अनु लामा रहेका छन् ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल प्रहरीको इतिहास त्याग, समर्पण, कर्तव्यनिष्ठ, बलिदान एवम् ‘सत्य सेवा सुरक्षण’प्रतिको प्रतिवद्धता भएकोले यस्तो गरिमामय तथा संवेदनशील कार्यभारप्रति दीक्षित अधिकृतहरु परिचित मात्रै नभई अभ्यस्त नै हुनुपर्ने बताए ।

राज्यको आन्तरिक सुरक्षाको महत्वपूर्ण र गहन जिम्मेवारी पाएको नेपाल प्रहरीका प्रत्येक सदस्यहरुलाई नागरिकप्रति सदैव उत्तरदायी र जिम्मेवार रहँदै अझै बढी जनमुखी, जनउत्तरदायी र व्यवसायिक रुपमा सेवा प्रवाह गर्न निर्देशन समेत दिए ।

समाजमा शान्ति सुव्यवस्था कायम राख्न आवश्यक ज्ञान, सीप र दक्षता अभिवृद्धिका लागि प्रहरी निरीक्षक आधारभूत तालिमलाई आधुनिकीकरण तथा अन्तर्राष्ट्रिय रुपमा समेत प्राज्ञिक पहिचान दिलाउन उद्देश्यले त्रिभूवन विश्वविद्यालयसँगको सम्बन्धनमा पिजीडिपीएस कार्यक्रम सञ्चालन गराई तालिम व्यावसायिक बनाएको जानकारी पाउँदा अझ खुसी लागेको उल्लेख गर्दै उनले यसबाट परिवर्तित र जटिल सामाजिक परिवेशका चुनौतीहरु सामना गर्न सैद्धान्तिक तथा व्यावहारिक रुपमा सफल, सबल र सक्षम बन्न सक्ने विश्वास ब्यक्त गरे ।

समय र प्रविधिको विकाससँगै अपराधको क्षेत्रमा समेत नयाँ चुनौति र जटिलताहरु थपिएको चर्चा गर्दै उनले त्यस्ता चुनौतिहरुलाई व्यावसायिक र प्रभावकारी रुपमा सामना गर्न अझै बढी परिष्कृत ज्ञान, सीपका साथै दायित्वबोध र निरन्तर लगावको खाँचो पर्ने र त्यसका लागि कर्तव्य र जिम्मेवारीप्रति नयाँपनसहित सदैव संवेदनशील रहन उहाँले आग्रह गरे ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले पहिलो चरणको निर्वाचनमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै उनले दोस्रो चरण तथा प्रदेश र संघका निर्वाचनहरुमा समेत यस्तै भूमिकाको अपेक्षा गरेको उल्लेख गरे ।

समारोहमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रशिक्षार्थीहरुले तालिममा सिकेका ज्ञान, सीप र कलालाई राष्ट्र तथा नागरिकको सुरक्षामा सरल र सहज रुपले मानवअधिकारको संरक्षण गर्दै काम गरी जनमैत्री सेवालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । आमनागरिकको सबैभन्दा नजिकको सरकारी निकाय नै नेपाल प्रहरी भएकोले कानूनी शासनको प्रत्याभूति दिलाउन, नागरिकको ज्यान तथा सम्पत्तिको संरक्षण गर्नका लागि सेवा नै सर्वोपरी कार्य ठानी काम गर्न प्रशिक्षार्थीहरुलाई उनले निर्देशन दिएका छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले समृद्ध, समुन्नत तथा शान्त र सुरक्षित नेपाल बनाउने गहन दायित्व बोकेको नेपाल प्रहरीका हरेक सदस्यहरुले सत्मार्ग र सत्कर्मले संगठन र समाजले खोज्ने असल पात्रको रुपमा आफूलाई उभ्याउने गरी सामथ्र्यवान बनाउन प्रशिक्षार्थीहरुलाई निर्देशन दिए । नेपाल प्रहरी सामु बेलाबखत आइपर्ने चुनौती तथा जटिलताहरुसँग मुकाविला गर्न प्रशिक्षणले तालिममा प्राप्त सही र उचित ज्ञानको सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

२०७२ माघ २८ गतेबाट सुरु भएको उक्त तालिममा १३ महिलासहित कुल १ सय ३२ जना प्रहरी निरीक्षकहरु सहभागी भएकोमा सबैजनाले सफलतापूर्वक तालिम हासिल गरेको प्रतिष्ठानका निमित्त प्रमुख डिआईजी देवेन्द्र सुवेदीले जानकारी दिए ।

समारोहमा गृह राज्यमन्त्री इन्द्रबहादुर बानिया, महान्याधिबक्ता रमणकुमार श्रेष्ठ, गृहसचिव लोकदर्शन रेग्मी, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान बिभागका मुख्य अनुसन्धान निर्देशक लगायतको उपस्थिती थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter