निर्वाचनमा सहभागी बन्न मधेस केन्द्रित दललाई प्रधानमन्त्रीको आग्रह; देउवा सरकारबाट संविधान कार्यान्वयन र निर्वाचन सम्पन्न हुने विश्वास

Sher Bahadur Deuwaकाठमाडौँ, जेठ २६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सर्वस्वीकार्यता बढाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउने योजनामा सरकार रहेको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष समय लिएर बोल्नु हुँदै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि प्रमुख प्रतिपक्षी दलको समेत सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाइने वचनबद्धता प्रकट गर्नुभयो ।

भरतपुर महानगरपालिकामा मात्रै पहिलो पटक मतपत्र च्यातिएको नभई अन्यत्र पनि त्यस्तो घटना भएको स्मरण गराउँँदै प्रधानमन्त्री देउवाले यस विषयमा निर्वाचन आयोगले लिएको निर्णय र यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको समेतलाई सबै दलले सोही आधारमा बुझ्ने र लिनुपर्ने बताउनुभयो ।

आफू सधँै समावेशी समानुपातिक प्रतिनिधित्वको पक्षमा रहँदै आएको र सोही पक्षमा अनवरत सङ्घर्ष गर्दै आएको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री देउवाले संविधानले प्रत्याभूत गरेको विषयमा आफू प्रस्ट रहेको बताउनुभयो ।

विगतमा पटक÷पटक सहमतिको प्रयास भएको भए पनि सहमतिको वातावरण बन्न नसकेको स्मरण गर्दै प्रधानमन्त्रीले आफू सधँै राष्ट्रिय सहमति र सहकार्यमै विश्वास गर्ने र सोहीअनुसार अगाडि बढ्ने बताउनुभयो ।

नेकपा (एमाले)का नेता माधवकुमार नेपाललाई आफ्नो पार्टीले प्रधानमन्त्री बनाउन सहयोग गरेको प्रसङ्ग अघि सार्दै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल राज्यको अङ्ग नै भएकाले उसलाई उचित जिम्मेवारी र भूमिका दिइने वचनबद्धता प्रकट गर्नुभयो ।

मधेसी जनताको भावनानुसार संविधान संशोधन जरुरी रहेको र स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गरिने प्रतिबद्धतालाई उहाँले पटकपटक दोहो¥याउनु भयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो – “विगतमा संविधान संशोधन प्रस्ताव पारित गर्ने अवस्था रहेन । हामी निरन्तर प्रयासरत छांै । मधेस केन्द्रित दलले निर्वाचनमा भाग लिनुपर्छ । उहाँहरु निर्वाचनमा भाग लिनुहुन्छ भन्ने मलाई विश्वास छ ।”

मुलुकको राष्ट्रिय एकता र भावनालाई कमजोर हुन नदिने उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले सबै वर्ग तथा पक्षको भावनालाई उचित सम्मान गरेर सरकार अगाडि बढ्ने जानकारी दिनुभयो ।

विश्वमै कही नभएको समावेशी समानुपातिक प्रणाली नेपालमा रहेको बताउँदै उहाँले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिको दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

संविधानको व्यवस्था अनुसार तीनवटा निर्वाचन सम्पन्न गरेर अगाडि जाने पक्षमा सरकार अविचलित रहेको पनि उहाँले जानकारी दिनुभयो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक यही जेठ २८ गते आइतबार १३.०० बजे बस्नेछ ।

देउवा सरकारबाट संविधान कार्यान्वयन र निर्वाचन सम्पन्न हुने विश्वास

व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर अगाडि बढ्न नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ ।

संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषद्मा महिलाको उचित प्रतिनिधित्व गराउनुपर्ने, संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउनुपर्ने तथा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबै वर्ग तथा क्षेत्रको भावनालाई समेटेर अगाडि बढ्नुपर्ने सुझाव उहाँहरुले दिनुभएको थियो ।

सांसद गङ्गा चौधरीले थारु, आदिवासी, जनजातिको माग सम्बोधन गर्न र मन्त्रिपरिषद्मा महिलाको उचित प्रतिनिधित्व गराउन आग्रह गर्नुभयो ।
उहाँले भुट्टा मुद्दा लगाइएका थारु अगुवाको तत्काल मुद्दा खारेज गरी सबै वर्ग तथा क्षेत्रलाई स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी हुने वातावरण बनाउन माग गर्नुभयो ।

साना दलको माग र भावनालाई सम्बोधन गर्न आग्रह गर्नुहुँदै सांसद लोकमणि ढकालले प्रजातन्त्रको मर्म र भावनाअनुसार सरकार सञ्चालन गर्न र संविधान कार्यान्वयनमा विशेष ध्यान दिन प्रधानमन्त्री देउवासँग आग्रह गर्नुभयो ।

मधेसी, थारु, आदिवासी जनजातिलाई सबैलाई साथमा लिएर अगाडि बढ्न सांसद डिम्पलकुमारी झाले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो ।

विकास निर्माणमा विनियोजन गरिएको बजेट खर्च हुन नसकेको, ऐन कानुन भन्दा पनि शक्ति केन्द्र रिझाएर ठेक्का प्राप्त गर्ने गरेको सन्दर्भ अघि सार्दै सांसद प्रेम सुवालले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि विशेष ध्यान दिन नवनिर्वाचित प्रधानमन्त्रीको ध्यानकर्षण गराउनुभयो ।

एनसेलले पुँजीगत लाभकर नतिरेको सन्दर्भमा नयाँ सरकारले त्यसतर्फ ध्यान दिने उहाँको विश्वास थियो ।

राष्ट्रिय समस्या समाधान गर्न आग्रह गर्दै मुलुकको ४० औँं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका प्रधानमन्त्री देउवा आर्थिक वृद्धि, संविधान कार्यान्वयन, तीनवटै तहको निर्वाचन सम्पन्न गर्न सफल हुनुहोस् भन्ने कामना गर्दै सांसद् प्रेमबहादुर सिंह र कुमार खड्काले प्रधानमन्त्रीको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो ।

सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री बनाउन संविधान मान्ने मधेस केन्द्रत दलको स्थानीय तहको निर्वाचनलाई अस्वीकार गर्ने प्रवृत्ति गलत भएको बताउनुभयो ।

गुण र दोषका आधारमा प्रधानमन्त्रीलाई सहयोग गर्ने उल्लेख गर्दै उहाँले प्रधानमन्त्री देउवाको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै केही सांसदले भने मधेस केन्द्रित दलसँग गरिएको सहमतिका आधारमा तत्काल संविधान संशोधन प्रक्रिया अगाडि बढाउन नवनिर्वाचित प्रधानमन्त्रीको ध्यानकर्षण गराउनुभएको थियो ।

मुलुकको समस्या समाधानका लागि संविधानको सर्वस्वीकार्यता बढाउनु जरुरी रहेको भन्दै उहाँहरुले सहमति कार्यान्वयन नभए आफूहरु आन्दोलनमा जान बाध्य हुने धारणा राख्नुभयो ।

सांसदहरु धमेन्द्रकुमार साह तेली, नरसिंह चौधरी, महेन्द्रराय यादवले मधेसी, आदिवासी, जनजातिको माग सम्बोधन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभयो ।

सांसद सर्वेन्द्रनाथ शुक्लले तराई–मधेसमा विभिन्न प्रकारका शङ्का तथा उपशङ्का उत्पन्न भइरहेको भन्दै संविधान संशोधन प्रक्रियालाई अगाडि बढाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै, सांसद शिवजी यादवले राष्ट्रिय समस्या समाधान गर्ने लक्ष्यसहित प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका शेरबहादुर देउवाले मधेस केन्द्रित दलको माग सम्बोधन गर्न अग्रसरता लेओस् भन्नुभयो ।

सांसद अग्निप्रसाद सापकोटाले पहिलोचरणको स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको सन्दर्भमा आगामी असार १४ गते दोस्रो तहको निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । संविधान संशोधन प्रक्रियालाई अगाडि बढाएर राष्ट्रिय आवश्यकता पूरा गर्न देउवा नेतृत्वको सरकार सफल हुने आशा पनि उहाँले व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रिय सहमति कायम गरेर अघिल्लो सरकारले अगाडि बढाएका प्रभावकारी कामलाई वर्तमान सरकारले पनि ठोस रुपमा अगाडि बढाउन आग्रह गर्नुभयो ।

यस्तै सांसद सुवास नेम्वाङले देउवा नेतृत्वको सरकारमा महिला, जनजाति, आदिवासी तथा अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्वको माग गर्दै प्रधानमन्त्रीले सबै पक्षलाई मिलाएर अगाडि जाने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रिय एकता र संविधानको सर्वस्वीकार्यताको मार्गमा सरकार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रमुख प्रतिपक्षी दललाई हरेक स्थानमा पेल्ने काम भएको गुनासो गर्दै सांसद नेम्वाङले आफूहरुको पनि विश्वास जितेर काम गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभयो ।

सांसद सीतादेवी यादवले नवनिर्वाचित प्रधानमन्त्री देउवाबाट अपूरो रहेको शान्ति प्रक्रियालाई पूर्णता दिने र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने काम हुने विश्वास व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter