• Friday, June 13, 2025

चैते धानकै भर

Paddy Fieldअविनाश चौधरी / धनगढी, जेठ ३० गते । भजनी त्रिशक्ति नगरपालिकामा पर्ने दुर्गम गाउँ गोडचोराकी मीना चौधरी यतिखेर चैते धान पाक्ने पर्खाइमा हुनुहुन्छ । मनसुन सुरु हुनुअघि नै धान भित्र्याउन पाए ढुक्क बस्न सकिन्छ । त्यसैले आकाश र खेतको धान हेर्दै उहाँको दिन गुज्रिरहेको छ ।

‘बर्खे धानको खेती गरे पनि फसल मिल्दैन, तर चैते धानले परिवार धानेको छ । बर्खा नजिकिएकाले चाँडै भित्र्याउने पर्खाइमा छु’– उहाँले भन्नुभयो । कैलालीको सबैभन्दा बढी डुबान हुने क्षेत्र भएका कारण मीनालाई चैते धान भित्र्याउन हतारो भएको हो ।

मीना जस्तै तुल्सीराम चौधरी पनि धान भित्र्याउनका लागि हतारिनुभएको छ । खेतमा पानी जम्ने भएकाले चैते धान समयमै भित्र्याइसक्नुपर्ने उहाँले बताउनुभयो । ‘बर्खा सिजनको कुनै पनि बाली नपाउने हाम्रो गुजाराको स्रोत चैते धान हो’, चौधरीले भन्नुभयो– ‘त्यसैले यही धान खेतीमा लागेका हौँ । असार मसान्तभित्रै भित्र्याउनु पर्दछ । नत्र बाढीले सखाप पार्छ । ’

बाढीका कारण बर्खे बालीको खेती गर्न नपाउने कैलालीका डुबान क्षेत्रका किसानलाई चैतेधान खेती गुजाराको एकमात्र विकल्प हो । यहाँका २०५ जना किसान यो खेतीमा अग्रसर भएका छन् । चैते धानको खेती नगरे खान लाउन समस्या हुने गरेको मीनाले बताउनुभयो । यो खेतीले जोहो भएको उहाँको भनाइ छ ।
डुबान हुने जमिन भएका कारण बर्खे धानबाली नपाउने गरेको तुल्सीराम चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो–‘बर्खे सिजनमा केही नपाउने भएकाले खेत खाली छोड्ने गरेका छाँैं । चैते खेती मात्रै गर्दै आएका छौँ । ’

डुबानका कारण भोकमरी समस्या हुनसक्ने भएकाले चैते धान खेतीमा भर पर्नुपरेको किसानले बताएका छन् । यो खेतीले खान, लाउन सजिलो भएको कृषक भोजबहादुर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो क्षेत्रमा गुजाराको स्रोत चैते धान खेती बनेको छ । बर्खे सिजनको बाली मिल्दैन । ’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत यो वर्ष चैते धान खेतीको ब्लक कार्यक्रम सुरु भएपछि किसानलाई सहज भएको छ । परियोजनाअन्तर्गत बृहत् चैते धान उत्पादन कार्यक्रम तथा नमुना ब्लक कार्यक्रम सञ्चालन गरिएको छ ।

विगतबाटै आफूहरूले चैते धानको खेती गर्दै आएकोमा यो वर्ष सरकारी अनुदान मिलेपछि अझै सजिलो भएको साविकको गाविस थापापुर–५ कृष्णनगरका तारालाल डङ्गौराले बताउनुभयो । आफूले पाँच बिगाहा जमिनमा चैते धान खेती गरेको सुनाउँदै उहाँले एक बिगाहामा ४० क्विन्टल जति चैते धान फल्ने गरेको उल्लेख गर्नुभयो ।

‘बर्खे बाली लगाउन सम्भव नभएका कारण चैते धान खेती रोजेका हौं’, चौधरीले भन्नुभयो– ‘प्रतिबिघा जमिनमा ४० क्विन्टल जति चैते धान फल्छ । ’ विगतबाटै चैते धान खेती गर्दै आएका किसानलाई यस वर्ष परियोजनाको साथ मिलेको छ । विभिन्न समूह गठन गरेर चैते धान खेतीमा संलग्न उनीहरूले अनुदान पाएका छन् । यसैगरी, अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था (ईरी) ले किसानलाई चैते धानको बीउसमेत सहयोग गरेको थियो ।

डुबान क्षेत्रका किसानको गुजाराको स्रोत चैते धान खेतीमात्रै रहेकाले सरकारले सहयोगमा विशेष प्राथमिकता दिनुपर्ने कृषक गोपीलाल चौधरीले बताउनुभयो । उहाँले सिँचाइ सुविधा नहुँदा समस्या झेल्दै आएको सुनाउनुभयो ।

‘सिँचाइ सुविधा नभएका कारण धेरै जमिनमा चैते धानको खेती गर्न सकिन्न’, चौधरीले अगाडि थप्नुभयो– ‘हामीजस्ता किसानको लागि सरकारले सिँचाइ तथा मल, बीउबिजनको व्यवस्था गरिदिनु पर्दछ । ’

जिल्ला कृषि विकास कार्यालयको सहयोगमा खेती गरेका किसानको चैतेधान खेती निकै राम्रो भएको छ । बर्खे सिजनको रोपाइँ सुरु हुँदै गर्दा अहिले कतिपय किसानलाई चैते धान काट्न चटारो सुरु भइसकेको छ । कतिपय ठाउँमा धान पाक्ने क्रममा रहेको छ ।

डुबान क्षेत्रका किसानको जीवनस्तर उकास्ने उद्देश्यका साथ यो वर्षदेखि बृहत् चैते धानको कार्यक्रम लागू गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेयले बताउनुभयो । उहाँले तीन सय हेक्टर जमिनमा यस वर्ष चैते धान खेती गर्ने लक्ष्य राखिएकोमा २६३ हेक्टरमा खेती भएको जनाउनुभयो । गतवर्ष कैलालीमा १४७ हेक्टर जमिनमा चैते धान खेती भएको थियो । बर्खे धानको तुलनामा चैते धानको उत्पादकत्व राम्रो रहेको छ । चैते धानको उत्पादकत्व प्रतिहेक्टर औसतमा पाँच मेट्रिक टन रहेको छ भने बर्खे धानको उत्पादकत्व प्रतिहेक्टर ३.५ मेट्रिक टन रहेको छ । बर्खेभन्दा चैते धानको उत्पादकत्व राम्रो रहेकाले आगामी दिनमा चैते धान खेतीलाई वृद्धि गर्दै लैजाने लक्ष्य रहेको प्रमुख पाण्डेयले बताउनुभयो । ‘निर्वाहमुखी खेतीलाई अब व्यावसायिक बनाउन जरुरी छ’ उहाँले भन्नुभयो ।

यस वर्ष समूहमार्फत भजनी त्रिशक्ति नगरपालिका–५ ढुसीका १७ किसानले ११ हेक्टर, गोडचोराका किसानले ११.६ हेक्टर जमिनमा बृहत् चैते धान खेती गरेका छन् । यो खेतीले गुजारा गर्न सजिलो भएको कृष्णपुरका दुर्जन्तीदेवी थारूले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter