कर्मचारीको अभावमा काम गर्न असहज भएकोे गुनासो

government logoनगेन्द्र सापकोटा / काठमाडौँ, असार २ गते । सरकारले जिल्लास्थित विषयगत कार्यालयलाई स्थानीय तह (गाउँपालिका र नगरपालिका)को मातहत हस्तान्तरण गर्न ढिलाइ गर्दा निर्वाचित जनप्रतिनिधिलाई काम गर्न असहज भएको छ ।

सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेशको २६ नं. बुँदामा स्थानीय तहको नियमित कार्य सञ्चालनका लागि स्थानीय विकास अधिकारी, गाउँ र नगरपालिकाका कार्यकारीबाहेक विभिन्न सेवामा रहेका कर्मचारीलाई समान्य प्रशासन मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सोझै स्थानीय तहमा कामकाज गर्न खटाउने उल्लेख छ ।

विषयगत कार्यालयका कर्मचारी स्थानीय तहको मातहत नआउँदा संविधानले दिएका अधिकारहरू स्थानीय तहसम्म आउन नसकेको र काम गर्न असहज भएको निर्वाचित जनप्रतिनिधिको गुनासो छ ।

धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक ब्याञ्जुले स्थानीय तहका जनप्रतिनिधिलाई काम गर्न अप्ठ्यारो भएको बताउनुभयो । उहाँका अनुसार जिल्लास्थित विषयगत कार्यालयहरू स्थानीय तहको मातहतमा नआउँदा स्थानीय तहलाई योजना र बजेट निर्माण गर्न अप्ठ्यारो भएको छ । सबै स्थानीय तहले असार मसान्तभित्र आगामी वर्ष २०७४÷७५ का लागि योजना र बजेट निर्माण गरी गाउँ र नगरसभाबाट पारित गराइसक्नुपर्ने व्यवस्था छ । उहाँले भन्नुभयो, ‘संविधानअनुसार प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन नहुँदा स्थानीय तहलाई राजस्व सङ्कलन र खर्च गर्ने स्पष्ट आधार छैन । ’

दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतले स्थानीय तह शासन सञ्चालन आदेशको भरमा सञ्चालन गर्नुपरेकाले स्थानीय तहको शासन सञ्चालन ऐन निर्माण नहुँदासम्म निर्वाचित जनप्रतिनिधिले धक फुकाएर काम गर्न नसक्ने बताउनुभयो । उहाँका अनुसार निर्वाचित जनप्रतिनिधिसँग काम गर्ने तीव्र इच्छा हुँदाहुँदै कानुनी अप्ठ्यारोका कारण चाहेर पनि काम गर्न सकिएको छैन । स्थानीय तह आफैंलाई कानुन बनाउन सक्ने अधिकार भए पनि कतिपय स्थानीय तहको कानुन निर्माण गर्दा प्रदेश कानुनसँग बाझिने भएकाले प्रदेश कानुन निर्माण नहुँदासम्म स्थानीय तहले कानुन निर्माण गर्न सक्दैन ।

स्थानीय शासन विज्ञ एवं स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेल सरकारकै ढिलासुस्तीेले स्थानीय तहका प्रतिनिधिले चाहेर पनि काम गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय तहलाई राजस्व, खर्च बाँटफाँट गर्न, ऋण लिन र अन्तर सरकारलाई वित्तीय हस्तान्तरणका लागि प्राकृतिक स्रोत तथा वित्तीय आयोग अत्यावश्यक छ, त्यो निर्माण नहुँदा स्थानीय तहका प्रतिनिधिले चाहेर मात्र पनि काम गर्न सक्नुहुन्न । ’

निर्वाचित जनप्रतिनिधि नहुँदा निर्णय भई लागू भएका चालु आर्थिक वर्षका योजना सम्पन्न गर्नु निर्वाचित जनप्रतिनिधिका लागि चुनौती छ । त्यसका लागि उहाँहरूले निरन्तर अनुगमन गरी निर्धारित समयसीमा भित्रै योजना सम्पन्न गरिसक्नुपर्ने उहाँले बताउनुभयो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलिया भने एक साताभित्र सञ्चालन भएका स्थानीय तहमा जिल्लास्थित विषयगत कार्यालयका कर्मचारी समाहित भई काम गरिसक्ने दाबी गर्नुहुन्छ ।

उहाँका अनुसार कृषि, पशु सेवा, जनस्वास्थ्य र महिला विकास कार्यालयका कर्मचारी अब स्थानीय तहकै मातहतमा आइसक्ने छन् । सोहीअनुसार अहिले मन्त्रालयले निर्देशन दिइसकेको छ । जिल्ला समन्वय समितिमा आवश्यकभन्दा धेरै भएका कर्मचारी पनि एक हप्ताभित्रै जिल्लास्थित गाउँपालिका र नगरपालिकाको मातहमा पुगिसक्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter