• Saturday, June 14, 2025

एउटा भिजनको खाँचो छ

Visionयोगीशकृष्ण / मध्य राततिर बलदेवको फोन आयो । अरुबेला र यसबेलाको फोनालाप अलि फरक खालको हुन्छ । फोन उठाउनासाथ उसले तत्काल आदेश फर्मायो “हे दाजु, एउटा अलि राम्रोखालको “भिजन” चाहिएको छ । सकभर चाँडो पठाइदेऊ । ”
बलदेवलाई पहलमानी गर्ने शोख छ । घरमा गाईभैँसी पालेको छ । खेतीपाती राम्रै गर्छ । बेला बेलामा भने यस्तै मध्य राततिर ताल न सुरको कुरा गर्ने गर्छ ।

मैले उसलाई भनेँ “ तिम्रो भिजन प्रष्ट छ । कुस्ती खेल । दूध घिउ खाऊ । खेती गर ।”

“हे हे हे ” उसले हाँस्दै भन्यो “ यो त व्यक्तिगत भिजन न भो । मलाई जनतावाला भिजनको खाँचो छ ।”

जब कुनै मानिसले जनता शब्दको प्रयोग गर्न थाल्छ मलाई डर लाग्छ –यो मानिस अब मानिस रहन्न । नेता हुने तयारीमा छ ।

मलाई बलदेवको माया लाग्यो, “तिमीलाई यस्तो खालको भिजन चाहियो किन ? ”

स्थानीय चुनावको मौसम छ । जसको मुखमा पनि भिजन भिजनै छ । केन्द्रका नेता होस् वा स्थानीय । भर्खरको कुरा हो , एउटा पार्टीको नेता थियो । टिकट नदिने भयो त अर्को पार्टीमा गयो । टिकट कनफरम भइसकेको छ । टिकट दिने कारण के हो त, भिजन हो रे । ऊ सँग भिजन छ । पुराना नेता कार्यकर्ता मुख बाएर हेरिरहेछ –हिजो आएको मानिसले टिकट पायो । पुरानाको भागमा ठनठन गोपाल ।हेर्नूस् त भिजनको कमाल ।”

मैले उसलाई सम्झाउने प्रयास गरेँ ,“यो केही होइन , अवसरवाद हो । अखबारको कुरा पत्याउने हो भने पैसाको पनि कुरा छ अरे ।”

ऊ हाँस्यो “ पाँच बरिसमा जहाँ करौँडोको खेला हुन्छ , त्यस ठाउँका लागि दश बीस लाख खर्च गर्नु कुन भारी बात हो । एक कठ्ठा खेत र दुईटा गाई म पनि दाउमा लगाउन तयार छु । गाउँ गाउँमा सिँहदरबार जो आउँदैछ ।”

स्थानीय निकाय शक्तिसम्पन्न भएपछि त्याहाँ छोटे सिँहदरबार बन्छन् । सुडान घोटाला नभए पनि नदी कटान घोटालाको प्रचुर संभावना बलदेवले देखेको रहेछ क्यार, त्यसैप्रति शायद ऊ इशारा गर्दै थियो ।

विस्तारै विस्तार ऊ खुल्न थाल्यो“ मेरो पनि इच्छा छ कि चुनाव लडूँ । मेरो जेठानको एउटा पार्टीमा जोर चल्छ । टिकटको जुगाड उसले मिलाइदिन्छ । उसको बैनीको घरपरिवारको कुरा हो । ”

“तिमी त कुनै अर्को पार्टीको समर्थक थियौ त । टिकट कसरी पाउँछौ ? ”

ऊ फेरि मजासँग हाँस्यो “तिमी त कुरा बुझ्दैनौ , दाजु । यो सिद्धान्तको कुरा हो । सब पार्टीको एउटै सिद्धान्त हो –चुनाव जित्नु , सत्तामा जानु । समोसा छ नि त्यसलाई कसैले चटनीसँग खान्छ , कसैले छोलासँग । कसैले त्यसमा प्याजको टुक्रा टाक्री , दही–सही हालेर चाट बनाउँछ । आलु टिकिया पनि सादा खाए चप हुन्छ त्यसमा मेकअप गरेपछि टिकिया चाट हुन्छ । यी सबमा मेन कुरा त आलु न हो । सबै पार्टी यस्तै हुन् । सब मेकअपको फेर हो । मैले टिकट पाउनु र टिकट खोज्नु सिद्धान्तको कुरा हो । दाजु , धेरै कुरा के गर्नु मलाई गतिलो फस्टकिलासको एउटा भिजनको जोगाड गरिदेऊ , जनतावाला भिजन । चुनाव प्रचार जो गर्नु छ । हाम्रो प्रदेशमा चुनावका लागि दुइ तीन महिना समय छ । यस बीच कुनै भिजन खोजेर पूरा गाउँ भिजाइ दिनु छ , त्यसपछि मेरो जीत पक्का हुन्छ । ”

“कस्तो भिजन भनूँ ? ”

उसले नै प्रस्ताव राख्यो “यो डुङ्गावाला भिजन कस्तो हुन्छ । पानी जहाजवाला भिजनमा त अर्कैको अधिकार छ । पारि बिहारमा बाँध बाँधेका कारण वर्सातमा गाउँमा डुङ्गा चलाउनु पर्ने अवस्था हुन्छ । यसको भिजन बनाउँदा कसो होला ? रेलको भिजन एउटाको छ त त सम्मुनत नेपाल अर्काको छ । शहिदको सपना पूरा गर्ने भिजन पुरानो मोडल भइसक्यो । सुनेर सब हाँस्छ । घर घरमा दूधको लाइन कस्तो हु्न्छ , यसले कत्तिको काम गर्छ । कि वृद्धहरुका लागि घरघरमा अस्पताल ठीक हुन्छ । केटाहरु सब कोही अरब त मलेसिया पुगेका छन् । भोट दिने त बुढाबुढी न हुन् ।”

भिजन बजारमा पनि त पाउँदैन । पाउने भए गजबका विज्ञापनसहित बजार विकसित हुने थियो – मजबुत भिजन । पाँच वर्षको ग्यारेन्टी सहित । तरकारी बाहेक सबै विदेशी सामान पन पराउने नेपालीका लागि घरदैलो सेवा पनि उपलब्ध हुँदो हो – हे । भिजन लिनूस् भिजन । दिल्लीको भिजन ।युपीको भिजन । बिहारको भिजन त पाउन्न । उतै बडी डिमान्ड छ । दिल्लीको भिजन भुटान सिक्किम ब्राण्ड खूब चलेको छ । अहिले नयाँमा बलुचिस्तान ब्राण्ड आएको छ ।

युरेपियन युनियनले पनि उम्दा खालको भिजन उपलब्ध गराउँदा हुन् –भिजन विथ डिभाइन पावर । विथ क्रिश्चिनियन फ्लेवर आदि । अमेरिकन के कम हुँदा हुन् – भिजन वियतनाम । विजन अफगानिस्तान । भिजन इराक ।

बजारमा सहज तवरले भिजन उपलब्ध छैन । नभए बलदेललाई पठाइदिन हुन्थ्यो ।म अकमकाएँ ।

उसले शायद बुझ्यो “ रात धेरै भइसकेको छ । अब सुतिहाल । सुत्दा सुत्दै मेरो लागि भिजन खोजी देऊ” ।

उसले फोन राख्यो । म सुत्ने तरखरमा लागेँ ।

(प्रतिक्रियाका लागि yogishkrishna81@gmail.com वा editor@nepalekhabar.com)

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter