• Saturday, May 24, 2025

चिलिमेका दुई कम्पनीको साधारण शेयर आउँदै, सञ्चयकर्ता प्राथमिकतामा; निजी प्रवद्र्धकको साधारण शेयर आउँदै

NEAकाठमाडौँ, भदौ २२ गते । चिलिमे जलविद्युत् कम्पनी मातहत रहेका दुई महत्वपूर्ण जलविद्युत् आयोजनाले साधारण शेयर निष्कासन गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनी मातहतका रसुवागढी जलविद्युत् आयोजना र साञ्जेन जलविद्युत् आयोजनाले साधारण शेयर जारी गर्न लागेका हुन् ।

रसुवागढी जलविद्युत् आयोजनाले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र लगानीकर्ता निकायका कर्मचारीलाई पहिलो चरणमा एक करोड ६४ लाख २१ हजार ४० कित्ता साधारण शेयर जारी गर्ने तयारी गरेको हो । साधारण शेयर जारी गरेर रु एक अर्ब ६४ करोड २१ लाख चार हजार बराबर रकम जोहो गर्ने आयोजनाको तयारी छ ।

नेपाल–चीन सीमा नजिक कूल १११ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको क्रममा रहेको छ । आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत, नेपाली नागरिकको १५ प्रतिशत, स्थानीय प्रभावितको १० प्रतिशत, कर्मचारी सञ्चयकोषलगायतको १९.५ प्रतिशत र अन्यको ४.५० प्रतिशत शेयर रहनेछ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा गत वैशाख १३ गते साधारण शेयर निष्कासनका लागि निवेदन दिएको थियो । बोर्डले मागेका केही सुझावसमेत बुझाइसकेको कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल, एआइबिएल क्यापिटल, ग्लाबेल आइएमई क्यापिटल र एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् ।

आयोजनाका प्रमुख माधव कोइरालाले भूकम्प र भारतको अघोषित नाकाबन्दी तथा ठेकेदारको समस्याका कारण केही ढिला भएको आयोजना हाल युद्धस्तरमा निर्माण भइरहेको बताउनुभयो ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् आयोजनाले साधारण शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीले गत वैशाख १२ गते आवेदन दिएको थियो । सो कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण शेयर जारी गर्न लागेको छ । रु ८७ करोड ६० लाख बराबरको साधारण शेयर जारी गर्न कम्पनीले नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक तोकेको छ ।

सो कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गरेका कर्मचारी तथा लगानी गरेका कम्पनीका कर्मचारीलाई साधारण शेयर दिन लागेको हो । उक्त कम्पनीले १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२.५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण करिब ६० प्रतिशत सकिएको छ । साञ्जेन जलविद्युत् आयोजनाको निर्माण करिब ४५ प्रतिशत सम्पन्न भएको छ । यसबाट सबैभन्दा बढी लाभ कर्मचारी सञ्चयकोषमा कोष कट्टी गरिरहेका तथा लगानीकर्ता कम्पनीका कर्मचारीलाई हुनेछ ।

निजी प्रवद्र्धकको साधारण शेयर आउँदै

बोर्डमा आवेदन दिइएको आधारमा हेर्ने हो भने यस वर्ष विभिन्न १४ जलविद्युत् कम्पनीको मात्रै प्राथमिक शेयर र थप निष्कासन (एफपिओ) गरी रु पाँच अर्ब सात करोडभन्दा बढी शेयर बजारमा आउन लागेको छ ।

कुल १४ जलविद्युत् कम्पनीले आइपिओ र एफपिओका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । आवेदन दिएका सबैको शेयर यस वर्षभित्रै निष्कासन हुनेछ ।

बुटवल पावर कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा एफपिओ निष्कासन गर्न लागेको छ । सो कम्पनीले प्रतिकित्ता रु ५१८ प्रिमियम मूल्य प्रस्ताव गरेको छ । धितोपत्र बोर्डले स्वीकृति दिन बाँकी रहेको उक्त प्रस्तावअनुसार ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासन गर्न लागेको छ ।

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावितलाई रु ११ करोड बराबरको ११ लाख कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ । राधी विद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई रु सात करोड ६४ लाख ५५ हजार बराबरको सात लाख ६४ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ ।

आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले स्थानीयवासीलाई रु आठ करोड बराबरको आठ लाख कित्ता शेयर निष्कासन गर्न लागेको जनाएको छ । आयोजनाका प्रमुख विश्वनाथ कँडेलले साधारण शेयर निष्कासनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

यस्तै गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले स्थानीयवासीलाई रु दुई करोड बराबरको दुई लाख कित्ता साधारण शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयवासीलाई रु तीन करोड ७१ लाख ४० हजार बराबरको तीन लाख ७१ हजार ४०० कित्ता र शुभम् पावर लिमिटेडले स्थानीयवासीलाई रु दुई करोड बराबरको दुई लाख तथा लुघिम बुद्धपावर नेपाल लिमिटेडले स्थानीयवासीलाई रु नौ करोड ७८ लाख बराबरको नौ लाख ७८ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको छ ।

बोर्डकाअनुसार युनिक हाइडेल लिमिटेडले रु पाँच करोड ५५ लाख बराबरको ५५ लाख कित्ता, सिइडिबी हाइड्रो फण्डले रु २२ करोड ८९ लाख ३० हजार बराबरको २२ लाख ९८ हजार कित्ता, कालिका पावर लिमिटेडले स्थानीयवासीलाई रु छ करोड बराबरको छ लाख कित्ता र युनियन हाइड्रोपावर लिमिटेडले रु छ करोड ३३ लाख ७४ हजार बराबरको छ लाख ३३ हजार कित्ता साधारण शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter