• Thursday, June 12, 2025

जमरा सेलाएलगत्तै चुनावी सरगर्मी बढ्यो

Dashain Tikaपोखरा, असोज २१ गते । नेपालीका घरघरमा दशैँ सकिएर जमरा सेलाइएलगत्तै आसन्न संघ र प्रदेशको निर्वाचनले राजनीतिक सरगर्मी ह्वात्तै बढाएको छ ।

निर्वाचन नजिकिँदै गर्दा भएको वामपन्थी र लोकतान्त्रिक ध्रुवीकरण यतिखेर चोक र चिया पसलमा चर्चाको विषय बनेको छ नै । आसन्न निर्वाचनमा दल कसकसलाई उम्मेदवार बनाउँछन् भन्ने विषयमा पनि बहस चल्न थालेको छ । निर्वाचनलाई आफ्नो पक्षमा कसरी पार्ने भन्ने गृहकार्यस्वरुप दल योग्य, सक्षम र चुनाव जित्नसक्ने लोकप्रिय उम्मेदवारको खोजीमा छन् ।

उम्मेदवार चयनका लागि पार्टीभित्र दलले नाम सिफारिशको कार्य थालिसकेका छन् । संविधानले गरेको व्यवस्थाअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट निर्वाचित १६५ जना र समानुपातिकबाट निर्वाचित ११० सदस्य रहने व्यवस्था छ ।

त्यस्तै प्रदेशसभामा सम्बन्धित प्रदेशबाट प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्यामा हुन आउने सदस्य र उक्त सदस्य संख्यालाई ६० प्रतिशत मानी बाँकी ४० प्रतिशतमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्य रहनेछन् ।

आसन्न निर्वाचनमा प्रदेश नं ४ मा रहेका ११ जिल्लाबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १८ जना र प्रदेशसभामा ३६ जना निर्वाचित हुनेछन् । यस प्रदेशमा प्रदेशसभामा समानुपातिकतर्फबाट २४ जना सदस्य निर्वाचित हुनेछन् ।

नेकपा (एमाले) प्रदेश नं ४ का संयोजक किरण गुरुङले एमाले यतिखेर उम्मेदवार सिफारिश गर्ने गृहकार्यमा जुटेको बताउनुभयो । “उम्मेदवार चयनका लागि हामीले निश्चित विधि र प्रक्रिया निर्धारण गरेका छौँ,” उहाँले भन्नुभयो, “निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै सिफारिश गरिएको नामको अन्तिम टुंगो स्थायी कमिटीको बैठकले लगाउनेछ ।”

आसन्न निर्वाचनलाई लक्ष्य गरी नेकपा (माओवादी केन्द्र)ले आफ्नो तयारी तीव्र बनाएको सो पार्टीका प्रदेश नं ४ संयोजक हरि अधिकारी ‘कुमार’ले जानकारी दिनुभयो । “नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको नीतिगत सहमतिअनुसार दुई पार्टीबीच उम्मेदवार तयका लागि ६०÷४० को सहमति भएको छ,” उहाँले भन्नुभयो, “चुनावका लागि ठाउँ तय भएलगत्तै हाम्रोतर्फबाट उम्मेदवारी तत्कालै टुङ्ग्याउने गरी छलफल जारी राखेका छौँ ।”

निर्वाचनलाई लक्ष्य गरी नेपाली काँग्रेसले आफ्नो आन्तरिक तयारीलाई अघि बढाइसकेको उक्त पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले बताउनुभयो । उम्मेदवारी तयका लागि जिल्ला÷जिल्लाबाट नामावली सिफारिश भइआएको बताउँदै उहाँले पार्टीले उम्मेदवार छनोटका लागि आज संसदीय समिति बनाउने जानकारी दिनुभयो ।

“पार्टीमा उम्मेदवार हुन चाहनेको संख्या अत्यधिक छ,” उहाँले भन्नुभयो, “उपलब्ध नामावलीमध्येबाट ज्येष्ठता, निरन्तरता, लोकप्रियताजस्ता निश्चित मापदण्डका आधारमा उम्मेदवारको अन्तिम सूची तयार गरिनेछ ।”

केन्द्रीय कार्यसमितिले असोज २५ गतेभित्र समानुपातिकतर्फको सूची तयार गरिसक्ने जानकारी दिँदै उहाँले यही महिनाभित्रमा प्रत्यक्षतर्फको सूची पनि तय गरिसक्ने बताउनुभयो । नजिकिँदो निर्वाचनका कारण चुनावी तयारीका बीचमा नै दशैँ मनाएका दलका नेताका लागि आसन्न तिहार पनि चुनावी व्यस्तताकाबीच मनाउनुपर्ने निश्चित प्रायः देखिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter