• Thursday, May 29, 2025

नेपाल–अमेरिका व्यापार प्रवद्र्धनमा जोड

flag of Nepal and USकाठमाडौँ, असोज २४ गते । उद्योग मन्त्री सुनिलबहादुर थापाले अमेरिकाले नेपाललाई विभिन्न ७७ वटा वस्तुमा व्यापार सुविधा प्रदान गरेपनि त्यसबाट लाभ लिन नसकिएको बताउनुभएको छ ।

रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धान इन्स्टिच्युट (आइएसएसआर)को सहकार्यमा नेपालस्थित अमेरिकी राजदूतावास र प्याभिलियन समूहले आज आयोजना गरेको नेपाल–अमेरिका व्यापार अभिवृद्धिसम्बन्धी एक दिवसीय कार्यशालाको उद्घाटन गर्दै मन्त्री थापाले सो कुरा बताउनुभएको हो । विगतमा नेपालले अमेरिकामा ग्रार्मेन्टलगायतका वस्तुहरु निर्यात गरेकामा पछिल्लो समय त्यसको निर्यात कम भए पनि अहिले छालाजन्यलगायत विभिन्न ७७ वटा वस्तुलाई व्यापारिक सुविधा प्राप्त भएकाले त्यसतर्फ लाग्न उहाँले व्यवसायीलाई आग्रह गर्नुभयो ।

नेपाल विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पक्ष तथा संगठनहरुको सदस्य रहेकाले विश्व व्यापारमा प्रशस्त अवसर रहेको उल्लेख गर्दै मन्त्री थापाले यसका लागि व्यवसायीलाई सरकार सक्दो सहयोग र सुविधा दिन तयार रहेको छ भन्नुभयो । मन्त्री थापाले स्थानीय तहको निर्वाचन सम्पन्न भई केन्द्रीय तथा प्रदेश तहको निर्वाचन हुन गइरहेकाले मुलुकले राजनीतिक स्थिरता पाएको बताउँदै अब नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी गर्न सहज वातावरण बनेको उल्लेख गर्नुभयो । संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले ७७ वटा वस्तुमा भन्सार तथा कोटारहित सुविधा पाउनु नेपालका लागि ठूलो अवसर भएकाले त्यसअनुरुप उत्पादन गरी अमेरिकी बजारमा पु¥याउन सकिएमा प्रशस्त लाभ लिन सकिने बताउनुभयो ।

अमेरिकाले नेपाललाई विभिन्न क्षेत्रमा आर्थिक तथा अन्य सहयोग गर्दै आएको र हालै अमेरिकाले ५०० मिलियन अमेरिकी डलर सहयोग गर्ने निर्णय गर्नुलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिन सकिने उल्लेख गर्नुभयो ।

कार्यशालामा नेपालका लागि अमेरिकी राजदूत अलाइन बि. टेप्लिजले नेपालको आर्थिक समृद्धिमा अमेरिकाले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सहयोग गर्दै आएको उल्लेख गर्दै ७७ वटा वस्तुमा व्यापारिक सुविधा अमेरिकाले नेपाललाई मात्रै दिएको जानकारी दिनुभयो । अमेरिकाले नेपालमा शान्ति, लोकतन्त्र र सम्बृद्धि भएको हेर्न चाहेको बताउँदै उहाँले नेपालले पछिल्लो समय हासिल गरेको आर्थिक वृद्धि दर सन्तोषजनक रहेको उल्लेख गर्नुभयो ।

वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले सन् २०११ मा अमेरिकासँग भएको व्यापार तथा लगानीसम्बन्धी सम्झौता (टिफा) दुई देशबीच व्यापार तथा लगानीका क्षेत्रमा कोशेढुंगा रहेको बताउँदै नेपाललाई उपलब्ध गराइएको व्यापारिक सुविधाबाट लाभ लिन सकिएमा आगामी दिनमा अझ अन्य वस्तुमा पनि सुविधा थप गर्न सकिने धारणा राख्नुभयो । कार्यक्रममा आइएसएसआरका अध्यक्ष डा गोविन्द नेपालले व्यापारबाट मात्र मुलुकको दिगो विकास गर्न सकिने हुँदा अमेरिकासँगको व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्न प्राप्त सहुलियतको भरपुर उपयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका सभापति पेभिलियन समूहका अध्यक्ष नरेश श्रेष्ठले अमेरिकी बजार र मागअनुसार वस्तु उत्पादन तथा बजारीकरण गर्न सकिएमा नेपालको बढ्दो व्यापार घाटालाई कम गरी आर्थिक विकास, गरिबी न्यूनीकरण तथा रोजगारी सिर्जनाबाट जीवनस्तरमा सुधार ल्याउन सकिने धारणा राख्नुभयो । टिफा सम्झौताले दुई देशबीच व्यापार विस्तार, लगानी र प्राविधिक सहयोग एवम् आर्थिक सम्बन्ध अभिवृद्धिका लागि ढोका खोलेको उहाँको भनाइ थियो । सन् २०१६ मा नेपाल अमेरिकाको १२५ औँ ठूलो आपूर्तिकर्ता राष्ट रहेको थियो । सो वर्ष नेपालबाट कार्पेट, टेक्सटायल, उनीका सामान, पशु खाद्यान्न, कृषिजन्य वस्तुलगायतका करिब रु नौ करोडबराबरको सामान निर्यात भएको सो अवसरमा जानकारी दिइयो ।(रासस)

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter