• Saturday, June 14, 2025

निब्र्याजी ऋण बिना झन्झट प्रदान गर्न प्राधिकरणको निर्देशन

Nepal Reconstruction Authorityकाठमाडौँ, असोज २५ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिने निब्र्याजी रु तीन लाख ऋण सहजरुपमा प्रदान गर्ने व्यवस्था मिलाउन सरोकार भएका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा ऋण उपलब्ध गराउने कार्यविधि २०७४ लाई संशोधन गर्दै बन्दै गरेको घर धितो राखेर पनि निब्र्याजी ऋण पाइने व्यवस्था गरेको हो । प्राधिकरणले सरोकार भएका निकायलाई कर्जा प्रवाह सहजरुपमा गर्ने व्यवस्था मिलाउन पनि आह्वान गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, शहरी विकास मन्त्रालय, बैंकर्स एशोसियशन र महालेखा नियन्त्रकको कार्यालयका प्रतिनिधिलाई मन्त्रिपरिषद्बाट सोमबार स्वीकृत कार्यविधिअनुसार निजी आवास पुनःनिर्माणका लागि भूकम्पपीडितलाई तत्कालै निब्र्याजी ऋण दिने काममा सहजीकरण गर्न निर्देशन दिनुभएको हो ।

“सरकारले कार्यविधि नै स्वीकृत गरिसकेको छ, त्यसैले लाभग्राही सूचीमा परेकालाई सहजरुपमा निब्र्याजी ऋण दिने व्यवस्था मिलाउनुहोस्, कुनै पनि बहानामा भूकम्पपीडितलाई अल्झाउने प्रयास नहोस्” – उहाँले भन्नुभयो ।

बैठकले भूकम्पपछि निजी आवास पुनःनिर्माणको कार्यअन्तर्गत आवास अनुदानको किस्ता वितरणमा संलग्न रहेका बैंक तथा वित्तीय संस्थालाई निब्र्याजी ऋण दिने प्रक्रियालाई उच्च प्राथमिकतामा राखी सहयोग गर्ने व्यवस्था मिलाउन बैंकर्स एसोसियसनमार्फत निर्देशन दिने निर्णय गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।

अनुदान वितरण कार्यमा संलग्न सबै बैंकलाई समेत निब्र्याजी ऋण दिने कामलाई तीव्रताका साथ अघि बढाउने निर्देशन दिन प्राधिकरणले राष्ट्र बैंकलाई अनुरोध गरेको छ ।

सो अवसरमा बैंकर्स एसोसियनका अध्यक्ष अनिल केशरी शाहले सरकारको नीतिअनुसार निब्र्याजी ऋण प्रवाह गर्न कुनै अप्ठ्यारो नभएको भन्दै राष्ट्र बैंकसँग समन्वय गरेर कर्जा परिचालनलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो ।

प्राधिकरणले कोष तथा लेखा नियन्त्रक कार्यालयलाई कर्जा प्रवाहलाई प्राथमिकतामा राखेर कार्य गर्ने निर्देशन दिन महालेखा नियन्त्रकको कार्यालयलाई समेत पत्राचार गर्ने निर्णय गरेको छ ।

बैठकले भूकम्प प्रभावित ३१ वटै जिल्लाका गाउँपालिका एवं नगरपालिकालाई दोस्रो र तेस्रो किस्ताका लागि आवेदन दिएका लाभग्राहीको निवेदन यथाशीघ्र जाँच गराई भूकम्प प्रतिरोधी ठहरिएका घरलाई तत्कालै भुक्तानीको प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिएको प्रवक्ता भुसालले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter