कम्युनिष्ट गठबन्धन लोकतन्त्रविरुद्ध : देउवा; राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता : दाहाल

Merger of Commuist Partiesकाठमाडौँ, कात्तिक १० गते । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको गठबन्धन लोकतन्त्र र काँग्रेसका विरुद्ध भएको बताउनुभएको छ ।

नेपाल तरुण दलको ६४ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमाथि आइपरेको चुनौतीको सामना गर्न सम्पूर्ण तरुण एकताबद्ध भई काँग्रेसलाई विजयी गराउन लाग्नुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रमा विश्वास गर्ने एक मात्र पार्टी काँग्रेस भएको बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “लोकतन्त्रको संस्थागत विकासका लागि काँग्रेस बलियो हुनैपर्छ ।”

उहाँले पार्टीलाई विजयी गराउन आजैदेखि वडास्तर पुगेर काम गर्न तरुण युवालाई निर्देशन दिनुभयो । कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पक्षमा निर्वाचन परिणाम ल्याउनका लागि युवालाई खट्न निर्देशन दिनुभयो । कम्युनिष्ट पार्टीको गठबन्धनले लोकतन्त्रमाथि चुनौती थपिएको छ भन्दै नेता पौडेलले अधिनायकवादी शासन स्थापना गर्नेविरुद्ध सम्पूर्ण तरुण एक भएर सामना गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसविरुद्धको गठबन्धनबाट झस्किनुपर्ने आवश्यकता नभएको बताउनुभयो । कार्यक्रममा काँग्रेस नेता एवं तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाँड, तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र कोषाध्यक्ष विद्वान् गुरुङले काँग्रेसविरुद्ध देखिएको चुनौतीलाई अवसरका रुपमा लिई निर्वाचनमा पार्टीलाई बहुमतले विजयी गराउन सबै एकजुट भएर लाग्नुपर्ने जोड दिनुभयो ।

विसं २०१० कात्तिक १० गते काँग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको समन्वय र निर्देशनमा स्थापित तरुण दलका संस्थापक अध्यक्षमा सिंहध्वज खड्का हुनुहुन्थ्यो । त्यसपछि २०१७ साल पुस १ गते तत्कालीन प्रधानमन्त्री बिपीले तरुण दलको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरिरहेका बेला तत्कालीन राजा महेन्द्रले सेनाको बलमा सबैलाई थुनेर ‘कु’ गरेका थिए । राजाले दलमाथि प्रतिबन्ध लगाएका अवस्थामा तरुण दल पनि विघटन हुन पुगेको थियो । विसं २०५४ मा नेपालगञ्जमा भएको काँग्रेसको महासमिति भेलामा काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले खाँडको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गर्नुभएको थियो ।

त्यसयता तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव र उदयशम्शेर राणा अध्यक्ष भइसक्नुभएको छ ।

‘राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा राजनीतिक स्थिरता र समृद्धिका लागि वाम एकता गरिएको बताउनुभएको छ ।

लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १३ औँ वार्षिक साधारणसभा एवं चौथो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले राजनीतिक अस्थिरताले देशले विकासको गति लिन नसकेकाले राजनीतिक स्थिरता र लोकतन्त्रलाई मजबूत बनाउनु आवश्यक भएकामा जोड दिनुभयो ।

उहाँले दलहरू एकापसमा शत्रुता र निषेधात्मक नबनी विकास र समृद्धिका लागि सबै एक जुट बन्नुपर्ने बताउनुभयो । अध्यक्ष दाहालले समृद्धिका लागि सात वटै प्रदेशमा विकासका भिन्न भिन्न नमूनासहित अघि बढ्न सकिने बताउनुभयो ।
सो अवसरमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले कुनै पनि हालतमा प्रदेश र संघको निर्वाचन नरोकिने बताउँदै देशले संघीय लोकतान्त्रिक गणतन्त्रको भावनानुसारको ‘नयाँ मुलुकी ऐन’ पाएको जानकारी दिनुभयो ।

नेकपा(एमाले)का नेता खगराज अधिकारीले उपभोक्ता संस्थाले आफूलाई नमुना संस्थाका रुपमा स्थापित गरेको बताउनुभयो । संस्थाका अध्यक्ष बोधराज लामिछानेले लेखनाथ क्षेत्रमा १० हजारभन्दा बढी खानेपानीका धारा वितरण गरिएको र आगामी दिनमा अझै यसलाई व्यवस्थित गर्दै लाने सोच राखिएको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, एमालेका जिल्ला अध्यक्ष कृष्ण थापा, माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजकाजी गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीलगायतले खानेपानी योजनाको दीर्घकालीन विकास हुनुपर्नेमा जोड दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter