कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिँदै

tourists-visiting-Nepalधनकुटा, मंसिर १५ गते । ‘ग्रीन कागते, क्लिन कागते’ अभियान शुरू गरेसँगै धनकुटाको कागतेको कृषि पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको छ ।

धनकुटा नगरपालिका–३ स्थित कागते धनकुटा बजारबाट चार किलोमिटर टाढा रहेको छ । कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न नव निर्वाचित जनप्रतिनिधि र स्थानीवासीले अभियान नै सञ्चालन गरेका छन् ।

हिले र धनकुटा बजारको बीच भागमा पर्ने कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न त्यहाँको भूगोललाई तीन भागमा विभाजन गरिएको छ । “कागतेलाई वैकल्पिक शहरको रूपमा विकास गर्दै मालबासे, चाङलुङगा र सिलुङ्गा क्षेत्रलाई बाख्रापालन पकेट क्षेत्रको रूपमा विकास गर्ने योजना अघि बढाएका छौँ”– धनकुटा नगरपालिका–३ कागतेका वडाध्यक्ष विकास घिमिरेले भन्नुभयो ।

प्रशस्त मात्रामा डाले घाँस पाइने सो क्षेत्रमा बाख्रापालनको पर्याप्त सम्भावना छ । बाख्रापालनलाई अगाडि बढाउन रु दुई लाख बराबरको उन्नत बोयर जातका दुईवटा बोका कागते ल्याइएको छ । अध्यक्ष घिमिरेले भन्नुभयो, “दुईवटा कृषि समूह बनाएर ती बोका वितरण गरिएको छ ।”

त्यसैगरी पातले, सेउले र लाकुरेलाई गाई भैँसी र नगदेबालीको पकेट क्षेत्रका रूपमा विकास गरिँदै छ भने कागते र निगाले क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने गरी योजना अघि बढाइएको छ । ‘ग्रीन कागते, क्लिन कागते’ अभियानअन्तर्गत कागतेका प्रत्येक घर हरियो रङले पोतिएका छन् । निगाले क्षेत्रका प्रत्येक घरमा पनि अब छिट्टै हरियो रङ पोतिने छ ।

“हरियालीलाई विशेष प्राथमिकता दिएका छौँ, घरको छेउछाउमा फूल, धुपीका बिरुवा रोप्न शुरू गरेका छौँ” उहाँले भन्नुभयो ।

कागतेलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न बाल उद्यान र वनभोज स्थल निर्माण गरिँदैछ । कागती फलको स्तम्भ पनि त्यहाँ बनाउने योजना छ । अहिले उक्त वडामा बिहानदेखि बेलुका चार बजेसम्म घरेलु मदिरा बिक्री वितरण तथा सेवन गर्न निषेध गरिएको छ ।

करिब दुई हजार ६०० जनसंख्या रहेको सो वडामा राई, क्षेत्री, बाहुन, दलित, नेवारलगाायत समुदायको बसोबास रहेको छ । त्यहाँका स्थानीयवासी कृषिबाटै आत्मनिर्भर बनेका छन् । कागतेका प्रत्येक सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाइँदै छ । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका उम्मेदवारले समेत कागेत क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter