नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ आवश्यक – राष्ट्रपति

President Visitकाठमाडौँ, मंसिर १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको परिचायकका रुपमा रहेको नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभएको छ ।

ज्यापू संस्कृति विकास कोषले यहाँ आज आयोजना गरेको १४औँ राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको मौलिक संस्कृतिको संरक्षकका रुपमा रहेका ज्यापू समुदाय परिश्रमी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कला, संस्कृति र भाषामा एकदमै धनी रहेका ज्यापू समुदायको कला, संस्कृति एवं भाषाको संरक्षणका लागि सबैको सहयोग र सद्भाव जरुरी छ ।”

भूकम्पका कारण क्षतिग्रस्त भएका काठमाडौँ उपत्यकाको सांस्कृतिक धरोहरको संरक्षण र पुनःनिर्माण गर्ने अभियानमा नेवार र विशेष गरी ज्यापू समुदाय सफल हुने राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गर्नुभयो ।

आधुनिकीकरणले नेपालको मौलिक कलासंस्कृति क्रमशः छायामा परेको हो कि भन्ने आशंका पैदा भएको भन्दै राष्ट्रपति भण्डारीले भाषा, रीतिथितिको जर्गेनामा कुनै पनि कञ्जुस्याइँ नगर्न आग्रह गर्नुभयो ।

स्थानीय तहको निर्वाचन सकिएलगत्तै पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको र दोस्रो चरणको निर्वाचन यही मंसिर २१ गते शान्तिपूर्ण रुपले सम्पन्न हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले अब मुलुक राजनीतिक स्थायित्वसहित आर्थिक विकासको चरणको प्रवेश गर्ने सर्वत्र महसुस गरिएको छ भन्नुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यकाको कलासंस्कृति र भाषाको संरक्षणका लागि महानगरले अभियान नै शुरु गरिसकेको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता तीर्थराम डंगोलले नेवार समुदाय कृषि, कला र संस्कृतिका धनी जाति भएको धारणा राख्नुभयो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले मूर्तिकार रवीन्द्र ज्यापूलाई ज्यापू रत्न, फणिन्द्ररत्न बज्राचार्यलाई भाषा, संस्कृति सम्मान र नातिकाजी महर्जनलाई शिक्षा सम्मान प्रदान गर्नुभएको थियो ।

राष्ट्रिय ज्यापू दिवस मूल समारोह समितिका संयोजक मंगलकृष्ण महर्जनले नेपाली मौलिक पहिचानसँग जोडिएको नेवारी संस्कृतिको जर्गेनाको रक्षाका लागि सबैको सहयोग जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा ज्यापू समुदायको संस्कृतिसँग जोडिएको मौलिक कलाको प्रदर्शनी, परम्परागत धिमे बाजा र यःमरीकोसमेत प्रदर्शनी गरिएको थियो । विसं २०६१ देखि ज्यापू दिवस मनाउन थालिएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter