• Friday, June 13, 2025

सवारी साधनका लागि अनिवार्य इम्बोस्ड नम्बर (नम्बर प्लेट प्राप्त गर्ने प्रक्रिया)

embossed-number-plateकाठमाडौँ, मङ्सिर २९ गते । आगामी चैत्र मसान्तसम्म प्रदेश नं. ३ अर्थात साविकको बागमती अञ्चलमा दर्ता भएका चार पाङ्ग्रे सवारीसाधनले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गरी तोकिएको समयभित्र अनिवार्य रूपमा उच्चस्तरीय सुरक्षा सहितको इम्बोस्ड नम्बर प्लेट जडान गर्न आह्वान गरेको हो ।

विभागका अनुसार सरकारी र संस्थानका सबै चारपाङ्ग्रे सवारीसाधनले चैत्र मसान्तसम्म अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्छ । त्यस्तै निजी चारपाङ्ग्रे सवारीसाधनतर्फ लट नम्बर १ देखि १२ सम्मले अनिवार्य रूपमा चैत्र मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नु पर्नेछ । साथै सो अवधिमा ऐच्छिक रूपमा लट नं. १२ देखि माथिका २ र ३ पाङ्ग्रे सवारीसाधनले पनि इम्बोस्ड नम्बर जडान गर्न सक्ने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिनुभयो ।

लट नं. १३ देखि माथिका सम्पूर्ण चारपाङ्ग्रे सवारीसाधनले २०७५ असार मसान्तसम्म अनिवार्य रूपमा इम्बोस्ड नम्बर राखिसक्नु पर्ने विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेटका लागि अनलाईन आवेदन २४ घण्टा खुला राखिएको प्रवक्ता डा. पाण्डेले बताउनुभयो । इम्बोस्ड नम्बर प्लेट वितरणका लागि सबै तयारी पूरा भएको र प्रक्रिया पूरा हुनासाथ प्लेट प्राप्त गर्नसक्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।

विभागले गत भदौ ५ गतेबाट उच्चस्तरीय सुरक्षा सहितको इम्बोस्ड नम्बर प्लेटको उद्घाटन गरेको थियो । भदौ ९ गतेबाट बागमती अञ्चलमा दर्ता भएका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो ।

विभागका अनुसार नयाँ प्रविधियुक्त उच्च सुरक्षित इम्बोस्ट नम्बर प्लेटबाट सवारीधनी र सवारीसाधनका बारेमा एकै ठाउँबाट विवरण उपलब्ध हुनेछ । राजस्व असुलीको अवस्थाका बारेमा पनि तत्काल जानकारी हुनेछ । सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न सहयोग पुग्नेछ । साथै, चोरीका सवारी पूर्ण नियन्त्रण हुने विभागका प्रवक्ता डा. टोकराज पाण्डेको दाबी छ ।

इम्बोस्ट नम्बर प्लेट जडान गरेपछि देशभरका सवारीसाधनको अवस्थालाई एकै ठाउँबाट निरीक्षण तथा अनुगमन गर्न सकिने छ । पाँच वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ट नम्बर प्लेट राख्न यातायात व्यवस्था विभागले सुरुमै चार करोड ३७ लाख ८७ हजार पाँच सय अमेरिकी डलर खर्च गरेको छ ।

२३ प्रकारका नम्बर प्लेटलाई पाँच प्रकारमा सीमित गरिएको छ । सार्वजनिक सवारीमा पहेलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर, सरकारीमा सेतो प्लेटमा सेतो अक्षर, कुटनीतिक सवारीमा सेतो प्लेटमा निलो अक्षर रहने कानुनी व्यवस्था गरिएको छ ।

इम्बोस्ट नम्बर प्लेटका लागि ठूला सवारीसाधनलाई तीन हजार छ सय रुपियाँ, चार पाङ्ग्रेको तीन हजार दुई सय, तीन पाङ्ग्रेको दुई हजार नौ सय र मोटरसाइकलको दुई हजार पाँच सय रुपियाँ लाग्ने छ ।

चारपाङ्ग्रे सवारीसाधनमा अगाडि सिसाभित्र फ्राइड एण्टीना स्टीकर राखिने छ । उक्त चिप्समा सो सवारीसाधन र सवारीधनीको सम्पूर्ण विवरण राखिएको हुन्छ । दुई पाङ्ग्रे सवारीमा पछाडिको नम्बर प्लेटमा विशेष प्रकारको कभर बनाएर चिप्स राखिएको छ । जसमा सम्पूर्ण विवरण उल्लेख छ । उक्त विवरणको जानकारी लिन काठमाडौँ उपत्यकाको पाँचवटै प्रवेश नाका थानकोट, फर्पिङ, जगाती, जोरपाटी र नागार्जुनमा एफआरआईडी गेट राखिने छ । सो गेटबाट प्रवेश हुने सम्पूर्ण सवारीसाधनको पूरा जानकारी विभागमा जडित कन्ट्रोल कक्षमा देखिने छ ।

नम्बर प्लेट प्राप्त गर्ने प्रक्रिया

इम्बोस्ट नम्बर प्राप्त गर्नका लागि अनलाईनबाट फारम भर्नुपर्छ । यातायात व्यवस्था विभागको वेबसाइटको पेजमा इम्बोस्ट नम्बर प्लेट अनलाईन निवेदन क्लिक गरी फारम भर्नुपर्छ । जसमा पहिलो चरणमा सवारीसाधनको नम्बर, मोबाइल नम्बर र इमेल ठेगाना पठाएपछि विभागले तुरुन्तै कोर्ड नम्बर मोबाइल म्यासेजमा पठाउन्छ । प्राप्त म्यासेज फारममा पुनः टाइप गरेपछि अर्को फारम खुल्छ जसमा सवारीको सम्पूर्ण विवरण र वैयक्तिक विवरण भर्नुपर्छ ।

त्यसपछि सम्बन्धित यातायात कार्यालयमा गई पैसा बुझाएको भौचर नम्बर फारममा उल्लेख गरी अनलाईनमा पठाएपछि नम्बर प्लेट लिन कहिले र कहाँ जाने भन्ने बारेमा इमेल र मोबाइलमा म्यासेज आउँछ । म्यासेजमा तोकिएको समयमा आफ्नो सवारीसाधन लिएर गएपछि इम्बोस्ट नम्बर प्लेट जडान गरिन्छ । अनलाईन फारममा भरिएको विवरण अनुसार इम्बोस्ट नम्बर छापिने छ । छापिएको नम्बर प्लेट विभागले सम्बन्धित कार्यालयमा तोकिएको समयमै पठाउने छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter