कांग्रेस प्रतिपक्षमा बसेर संगठन सुदृढ गर्न लाग्ने; महासमिति बैठक बोलाउन नेतृत्वमाथि दबाब; सत्ता हस्तान्तरण गर्न आतुर छु – प्रम देउवा

Sher Bahadur Deuwaकाठमाडौँ, पुस १ गते । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अप्रत्यासित हार व्यहोरेपछि सरकारको नेतृत्वकर्ता दल कांग्रेसले प्रतिपक्षमा बसेर संगठन सुदृढ गर्ने तयारी गरेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा आफूनिकटस्थ नेताहरूसँगको छलफलपछि पार्टी हारेकाले सरकार निर्माणको खेलोफड्कोमा नलागेर प्रतिपक्षमा बस्दै संगठन सशक्त बनाउने निष्कर्षमा पुगेका हुन् ।

कांग्रेसले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २३ र प्रदेश सभामा ४१ सिट जित्दै तेस्रो पार्टी बनेको छ । तर, समानुपातिकतर्फ ल्याएको मतले आउने सिट जोड्दा भने कांग्रेस दोस्रोमा उक्लनेछ । सभापति देउवाले समानुपातिकतर्फको नतिजा सार्वजनिक भएपछि यस विषयमा आफ्नो व्यक्तिगत धारणा सार्वजनिक गर्ने र संस्थागत निर्णयका लागि पार्टी केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेका छन् ।

पार्टीको निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले समानुपातिकतर्फको नतिजा सार्वजनिक भएपछि निर्वाचन समीक्षा र आगामी रणनीति तय गर्न केन्द्रीय समिति बैठक बस्ने बताए । ‘समानुपातिकतर्फको नतिजा सार्वजनिक भएपछि सभापतिले आफ्नो धारणा सार्वजनिक गर्नुहुन्छ, संस्थागत धारणा सार्वजनिक गर्न केन्द्रीय समिति बैठक आह्वान हुन्छ,’ खाणले भने ।

निर्वाचनमा जनताले दिएको म्यान्डेटअनुरूप कांग्रेसले अब संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने खाणले बताए । सभापति देउवानिकट नेता खाणले प्रतिपक्षमा बसेर कांग्रेसले तीन विषयमा सरकारको ‘वाच’ गर्ने बताए । ‘हामी जनताको म्यान्डेटअनुरूप प्रतिपक्षमा बस्छाैँ,’ खाणले नयाँ पत्रिकासँग भने, ‘प्रतिपक्षमा बस्दा कांग्रेसको सबैभन्दा पहिलो प्राथमिकता मुलुकमा शान्ति स्थापना गर्ने रहन्छ । दोस्रो, जनप्रतिनिधिले संविधानसभाको माध्यमबाट बनाएको संविधानलाई सबैको स्वामित्वमा स्थापित गर्ने र कार्यान्वयन गर्ने, तेस्रोमा संविधानका मूलभूत अवधारणा बहुलवादमा आधारित बहुदलीय व्यवस्था, लोकतान्त्रिक मूल्य, मान्यता, संसदीय लोकतन्त्र रक्षार्थ जस्तोसुकै कार्य गर्नु परे पनि कांग्रेस पछि पर्दैन ।’

अर्का केन्द्रीय सदस्य डा. शेखर कोइरालाले निर्वाचनमार्फत जनताले कांग्रेसलाई विपक्षमा बस्ने म्यान्डेट दिएको बताए । ‘जनताले निर्वाचनमार्फत कांग्रेसलाई विपक्षमा बस भनेका छन्, तसर्थ कांग्रेस विपक्षमा बसेर सरकारले गरेका राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गर्छ’ ।

महासमिति बैठक बोलाउन नेतृत्वमाथि दबाब

निर्वाचनमा पराजय व्यहोरेपछि कांग्रेस सभापति देउवामाथि समीक्षा गरेर आगामी रणनीति तय गर्न महासमिति बैठक बोलाउन नेताहरूले दबाब दिइरहेका छन् । कांग्रेसमा महासमिति बैठक महाधिवेशनपछिको दोस्रो शक्तिशाली निकाय हो । डा. कोइरालाले पार्टी हारको कारण समीक्षा गरी आगामी रणनीति बनाउन महासमिति बैठक बोलाउन जरुरी रहेको बताए ।

‘निर्वाचनमा भएको पराजयको गम्भीर रूपमा समीक्षा गर्न जरुरी छ । कहाँ–के कमजोरी हुँदा पराजय व्यहोर्नुपर्‍यो, अगामी दिनमा त्यसलाई कसरी करेक्सन गर्ने भन्ने योजना बनाउनु आवश्यक छ,’ कोइरालाले भने, ‘त्यो कमजोरी पत्ता लगाउने र आगामी रणनीति तय गर्ने पार्टीको शक्तिशाली निकाय भनेको महासमिति बैठक हो, अब केन्द्रीय समिति बैठक बसेर महासमिति बैठक बोलाउनुपर्छ ।’

पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य गगन थापा, चन्द्र भण्डारीलगायत नेताहरूले सार्वजनिक रूपमै महासमिति बैठक बोलाएर निर्वाचनको समीक्षा गर्नुपर्ने बताएका छन् । अन्य सभापतिनिकट नेताहरूले पनि सार्वजनिक रूपमा नबोले पनि सभापति देउवालाई भेटेर महासमिति बैठक बोलाउन दबाब दिइरहेका छन् । देउवानिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘निर्वाचनको समीक्षा गर्न महासमिति बैठक बोलाउनुपर्छ भनेर सभापतिलाई सुझाब दिइरहेका छाँै, उहाँ सकारात्मक हुनुहुन्छ ।’

सत्ता हस्तान्तरण गर्न आतुर छु – प्रम देउवा

प्रधानमन्त्री शेरवहादुर देउवाले आफू छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताउनुभएको छ ।

नेकपा (माओवादीका केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित आज बिहान प्रम निवास बालुवाटारमा भएको भेटमा उहाँले राष्ट्रियसभा निर्वाचनसम्बन्धी राष्ट्रपति कार्यालयमा रहेको विधेयकलाई छिटोभन्दा छिटो जारी गर्न आवश्यक रहेकोमा जोड दिनुभएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले वाम गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यनिर्वाचनमा प्राप्त गरेको सफलताका लागि अध्यक्ष प्रचण्डलाई बधाई दिनुभएको संयोजक परियारले जानकारी दिनुभयो ।

सो भेटमा अध्यक्ष प्रचण्डले तीन प्रमुख दलको सहमतिमा मात्र राजनीतिक र संवैधानिक नियुक्ति गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभएको संयोजक परियारले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा संवैधानिक, राजनीतिक र प्रदेशका गभर्नर लगायतका नियुक्ति नगर्न ध्यानाकर्षण गराउनुभएको अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमल्सिनाले जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले राष्ट्रियसभा निर्वाचनका विषयमा प्रमुख दलकाबीच छलफलका माध्यमबाट निष्कर्ष निकाल्न सकिने भन्दै त्यसका लागि पहल गर्न प्रम देउवालाई आग्रह गर्नुभएको प्रेस सहयोगी तिमल्सिनाले बताउनुभयो । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter