सक्षम जनशक्ति तयार गर्न त्रिविको भूमिका प्रशंसनीयः प्रधानमन्त्री

TU Convocationललितपुर, पुस १६ गते । । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न त्रिभुवन विश्वविद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको ४३ औँ दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “मुलुकको जेठो यस विश्वविद्यालयले नेपालको शैक्षिक जगतमा पुर्‍याएको योगदान अतुलनीय रहेको छ ।”

मुलुकको कला, संस्कृति र परम्पराको संरक्षण गर्न तथा ज्ञान विज्ञान र प्रविधिका क्षेत्रमा समसामयिक अध्ययन अनुसन्धानमा त्रिविबाट निकै ठूलो काम भइरहेको बताउँदै प्रधानमन्त्री देउवाले भने, “मुलुकको राजनीति र प्रशासनिक नेतृत्व सम्हाल्ने अधिकांश राजनीतिक–सामाजिक एवं प्रशासनिक व्यक्तित्व यसै विश्वविद्यालयका उत्पादन हुन् ।”

प्रधानमन्त्री देउवाले शिक्षा क्षेत्रमा देखिएको असमानता हटाई समतामूलक र सबै वर्ग समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ बनाउन राज्यले पहल गरिरहेको बताउँदै विश्वविद्यालयबाट उपाधि हासिल गरेका आफ्ना विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणीत गर्नेतर्फ आवश्यक ध्यान दिन निर्देशन दिए ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले बदलिँदो परिस्थितिमा देश विकासमा सहयोग गर्न विश्वबजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता भएकाले त्यसका लागि सामूहिक प्रयत्नको थालनी त्रिविबाटै हुनुपर्ने बताए ।

भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति एवं समारोहका प्रमुख अतिथि जगदीश कुमारले हाम्रो शिक्षा प्रणालीबाट उत्पादित जनशक्ति राष्ट्रियस्तरमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पनि प्रतिस्पर्धा गर्नसक्ने गरी पाठ्यक्रम तयार गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।

त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले मुलुकमा उच्च शिक्षाको ५८ वर्षको इतिहासमा अनेकौ चुनौतीको सामना गर्दै राष्ट्रको सर्वाङ्गीण विकासका लागि आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले निकै ठूलो भूमिका निर्वाह गरेको बताए ।

४३अाैं दीक्षान्त समारोहमा २०७३ असार ३ देखि २०७४ जेठ १७ सम्म उक्त विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान र संकाय अन्तर्गतका ६० आङ्गिक र एक हजार ८५ वटा सम्बन्धन प्राप्त क्याम्पसबाट स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तह उतीर्ण गरेकामध्ये ८ हजार २६७ जना सहभागी भएका थिए ।

त्यसमध्ये विभिन्न संकायबाट विद्यावारिधि उपाधि प्राप्त गर्ने ६२ जना तथा विश्व विद्यालयका विभिन्न संकायतर्फ एमफिल, स्नातकोत्तर र स्नातक तहमा उच्चतम अंक ल्याउने ३१ जना छात्रछात्रालाई विभिन्न पदक तथा पुरस्कार प्रदान गरिएको छ ।

मुलुकको उच्च शिक्षामा ८३ प्रतिशतभन्दा बढी योगदान त्रिविबाट हुँदै आएको र अहिले पनि जेहन्दार विद्यार्थीको रोजाइको आकर्षण पनि सोही विश्वविद्यालय नै रहेको दाबी गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter