मानवाधिकार विशेष समाधीक्षक सोमबार आउँदै

human-rights-for-all-humans-is-rightकाठमाडौँ, माघ १४ गते । नेपाल सरकारको निमन्त्रणामा प्रवासी कामदारको मानवाधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष समाधीक्षक फिलिप गोन्जालेस मोरालेस नेपालको आठ दिवसीय भ्रमणमा सोमबार यहाँ आउँदै हुनुहुन्छ ।

आप्रवासी कामदारको अधिकार र सुविधाप्रति नेपाल सरकार प्रतिबद्ध रहेको तथा उनीहरुको मानवाधिकार संरक्षणमा संवेदनशील रहेको सन्देश उहाँको भ्रमणबाट प्रवाह हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताउनुभयो ।

“सीमित क्षमता भएको अल्पविकसित हाम्रो मुलुक एक दशक लामो द्वन्द्वपछि राजनीतिक स्थायित्व र विकासतर्फ उन्मुख भइरहेका बेला विशेष समाधीक्षकलाई भ्रमणका निम्ति आमन्त्रण गर्नु हाम्रा लागि महत्वपूर्ण छ”, उहाँले भन्नुयो, “नेपाल सरकारले राष्ट्रसंघीय मानवाधिकार परिषद् र उक्त विश्व संस्थाका संयन्त्रहरुमा नेपालले सधैँ रचनात्मक साझेदारी एवं सहयोग गर्दै आएको छ ।”

विशेष समाधीक्षक मोरालेससहित अन्य दुई समाधीक्षकलाई नेपाल सरकारले आमन्त्रण गरेको जानकारी दिँदै प्रवक्ता पौड्यालले यसबाट मानवाधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध रहेको दर्शाउँछ भन्नुभयो ।

आप्रवासी कामदार शोषणमुक्त हुनुपर्ने, ठगी नियन्त्रणमा नेपाल सरकारले गम्भीर भएर कारबाही गरेको, वैदेशिक रोजगारीका नाममा हुन सक्ने मानव तस्करी नियन्त्रणका निम्ति नेपालका कानून कार्यान्वयन गर्ने निकाय सक्षम एवं प्रभावकारी रुपमा कार्यसम्पादन गर्न समर्थवान छन् भन्ने सन्देश प्रवाह गर्नु भ्रमणको अर्को उद्देश्य भएको उहाँले बताउनुभयो ।

भ्रमणका क्रममा उहाँले नेपाली प्रवासी कामदारको अधिकार संरक्षणमा संलग्न सरकारी अधिकारी, रोजगारीदाता निकाय, आप्रवासनसम्बन्धी मामिलाका जिम्मेवार निकाय, नागरिक समाज, अन्तर्राष्ट्रिय संगठन, वैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्ति तथा तिनका परिवारसँग विचारविमर्श गरिने कार्यक्रम छ ।

भ्रमण उपयोगी तुल्याउन परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय, सहजीकरण र सहयोग गरिरहेको जानकारी दिँदै प्रवक्ता पौड्यालले वैदेशिक रोजगारीमा जाने कामदारको अधिकार सुरक्षाका लागि नेपाल सरकारले नीतिगत, कानूनी एवं संस्थागत व्यवस्था गरेको स्थलगत रुपमा विशेष समाधीक्षकले जानकारी लिने बताउनुभयो ।

विशेष समाधीक्षक मोरालेसले आगामी जेठ÷असारमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा नेपालसम्बन्धी विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । स्वतन्त्ररुपमा प्रस्तुत हुने उक्त प्रतिवेदनमा उहाँले नेपाली प्रवासी कामदार विश्वका कुनै पनि मुलुकमा शोषणमा पर्न नहुने तथा उनीहरूमाथिका दमन र अत्याचारविरुद्ध आवाज उठाउँदै आप्रवासी कामदारका मानवाधिकार संरक्षणमा जोड दिने अपेक्षा गरिएको छ ।

यसैबीच जेनेभाबाट मानवाधिकार परिषद्ले जारी गरेको वक्तव्यमा विशेष समाधीक्षकले नेपाल भ्रमणको आमन्त्रण पाएकामा नेपाल सरकारप्रति आभार व्यक्त गर्नुभएको छ ।

उहाँले दैनिक एक हजार ६०० नेपाली वैैदेशिक रोजगारीका निम्ति बाहिरिने गरेको र देशको कूल गार्हस्थ्य उत्पादनमा ३० प्रतिशतको विप्रेषण योगदान रहेका सन्दर्भमा आफ्नो नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter