पशुपति क्षेत्रलाई लागुपदार्थ निषेध गरी ध्यान, योग केन्द्रका रुपमा विकास गरिने

Pashupati Templeकाठमाडौँ, माघ १४ गते । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई गाँजा, भाङ, धतुरो निषेध गरी ध्यान, योग साधना स्थलका रुपमा स्थापित गरिने भएको छ ।

यस वर्षको महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्र विकास कोषले आजदेखि यो अभियान शुरु गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । गाँजा बेच्ने र सेवन गर्ने सुरक्षित स्थलका रुपमा प्रयोग गरिँदै आएको सूर्यघाट, मृगस्थली जंगल, गोपालबाबा आश्रम, राममन्दिर परिसर, राजराजेश्वरी नहर नजिकको पीपलबोटलगायत क्षेत्रमा दैनिक सुरक्षा गस्ती गरी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने गरिएको छ ।

गत मंसिर तेस्रो सातादेखि कोषको नेतृत्वमा महानगरीय प्रहरी वृत्त गौशाला, सशस्त्र प्रहरी बल पशुपति मन्दिर वेसक्याम्पलगायत सरोकार भएका निकायको संलग्नतामा बिहान, दिउँसो र बेलुकी तीनपटक गस्ती गरी लागुपदार्थ सेवन एवं बेचबिखनमा संलग्नलाई रंगेहात पक्राउ शुरु गरिएको सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिनुयभयो ।

“राममन्दिर क्षेत्रका केही साधुको जटाबाट समेत गाँजा बरामद गरिएको छ, भष्मेश्वर अखडाका साधुलाई प्रहरी कारबाही भएको छ, यसक्रममा प्रहरीले धारिला चक्कु र तरबार बोक्ने एवं संकलन गरेर राख्नेलाई पनि कारबाही गरिएको छ, साधुको आडमा पशुपति क्षेत्रमा गाँजाको व्यापार हुन दिइन्न, यस्तो व्यापारले प्रत्येक वर्ष १० हजार युवा लागुऔषध जस्तो कुलतमा फस्ने गरेका छन्”–उहाँले भन्नुभयो ।

राज्यले वैधानिक रुपमा प्रतिबन्ध लगाएपनि शिवरात्रिमा गाँजा, भाङ, धतुरोजस्ता लागुपदार्थ सेवन आरम्भ गर्ने दिनका रुपमा मनाउन खोज्ने गलत चलनलाई अन्त्य गर्न लागिएको कोषले जनाएको छ । श्रीपञ्चमीलाई विद्या आरम्भ गर्ने दिनका रुपमा लिएजस्तै शिवरात्रिलाई गाँजा आरम्भ गर्ने दिनका रुपमा नलिन युवा वर्गलाई अनुरोध गरिएको छ ।

लागुपदार्थको बढी प्रयोग हुने सूर्यघाट, मृगस्थली जंगल, गोपालबाबा आश्रम, राममन्दिर परिसर, राजराजेश्वरी नहर क्षेत्रलाई ध्यान, योग केन्द्रका रुपमा विकास गरी धार्मिक एवं आध्यात्मिक वातावरण बनाउने काम शुरु गरेको जनाइएको छ । यसका लागि ध्यान, योग क्षेत्रमा क्रियाशील संघ संस्थासँग सहकार्य गरेर पशुपति क्षेत्रलाई साधनास्थलका रुपमा विकास गर्ने कोषको लक्ष्य छ ।

यसबाट खराब लतमा लागेका युवालाई सत्मार्गमा ल्याउन सहयोग पुग्नेछ । युवालाई दुव्र्यसनमुक्त बनाउनका लागि कोषले यस्तो अभियान शुरु गरेको हो । साथै पशुपति क्षेत्रलाई धुम्रपान, मांस, मदिरा बिक्री वितरण एवं ओसारपसार गर्न समेत निषेध गरिएको छ ।

अभियान शुरु गरिएको डेढ महिनाको अवधिमा लागुपदार्थ सेवन, बेचबिखन र आपराधिक क्रियाकलापमा संलग्न २७९ व्यक्तिलाई पक्राउ गरिएको प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले बताउनुभयो ।

“पक्राउ परेकामध्ये ३६ लाई लागुऔषध ऐन, ८० लाई सार्वजनिक अपराध ऐनअनुसार मुद्दा चलाइएको छ, लागुऔषधको प्रयोग गरेर उपचार गर्नुपर्ने अवस्थामा पुगेका १० लाई पुनःस्थापना केन्द्रमा पठाइएको छ”–उहाँले भन्नुभयो ।

एचआइभी एड्स, हेपाटाइटिस जस्ता दीर्घ रोग लागेका २०, ३० बालबालिका, अशक्त २० र सेवनकर्ता ९३ लाई पक्राउ गरी सम्झाएर यस्ता गतिविधिमा नलाग्न प्रेरित गरिएको प्रहरीले जनाएको छ । यसक्रममा ३० ग्राम खैरो हिरोइन, पाँच केजी चरेश, २० केजी गाँजा, ५०० थान अन्य विभिन्न नामका लागुऔषध बरामद गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

यस वर्षको शिवरात्रिदेखि पशुपति वनकालीमा मेला एवं बजार पनि नराखिने भएको छ । गत पुस ९ गतदेखि पशुपति क्षेत्रका महत्वपूर्ण स्थलमा सवारी साधन निषेध गरी वनकालीमा पार्किङ गरिएकाले बजार र मेला नराखिने भएको हो । कोष कार्य सञ्चालन समितिको गत पुस ३० गतेको बैठकले मेला एवम् बजार नराख्ने निर्णय गरेको सो अवसरमा जानकारी दिइयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter