आँपका बोट झपक्कै उत्पादन बढ्ने अनुमान

Mangoसप्तरी, चैत ४ गते । सप्तरीमा आँपका बोट मजर (फूल) ले ढपक्कै भएका छन् । फूल लागेका आधारमा यस वर्ष सप्तरीमा गत वर्षको तुलनामा ५० देखि ७५ प्रतिशतसम्म आँप उत्पादन बढ्ने अनुमान गरिएको छ ।

बर्सेनि सात हजार हेक्टर जग्गामा आँप खेती हुँदै आएको सप्तरीमा यस पल्ट आँपका बोटमा मजर राम्रो लागेकाले उत्पादन बढ्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख भागिरथ यादवका अनुसार गत वर्ष सात हजार हेक्टरमा लगाइएको आँप खेतीबाट २० हजार मेट्रिक टन मात्र आँप उत्पादन भएकोमा यसपल्ट बोटमा (फूल) मजर राम्रो लागेकाले उत्पादनमा वृद्धि भई ४० देखि ५० मेट्रिक टनसम्म उत्पादन हुने अनुमान गरिएको छ ।

जिल्लाको श्रीपुर, मधुपटी, मलहनिया, हरिहरपुर, प्रस्वनी, शम्भुनाथ, बकधुवा, महुली, जन्डोल, मैनाकडेरीलगायतका स्थानमा कृषकले अत्यधिक आँप खेती गरेका छन् । ती सबै स्थानमा आँपका बोट (फूल)मजरले ढपक्कै भएको छ ।

आँप उत्पान बढ्ने भएपछि सप्तरीका किसान हौसिएका छन् । आँपको बोटमा अत्यधिक मजर लागेपछि अहिलेदेखि नै पहेरदारी गर्न थालिएको जन्डोलका कृषक दुर्गानन्द चौधरीले बताउनुभयो । मजरले ढपक्कै भएको रूख हेरेर अहिलेदेखि नै व्यापारी ठेक्का लिन आउन थालेका छन्, उहाँले भन्नुभयो तर एक महिनासम्म पर्खेर हेर्छु त्यसपछि मात्र निर्णय गर्ने छु । उहाँले एक बिघा १० कट्ठा जग्गामा आँपको बगैँचा लगाउनुभएको छ ।

जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख यादवका अनुसार गत वर्ष मौसमले साथ नदिँदा र आँपमा लाग्ने मधुवा कीराले हैरान बनाउँदा उत्पादन घटेको थियो । उत्पादन कम र उपभोक्ता बढी भएकाले गत वर्ष बजार भाउ महँगिए पनि यस वर्ष आँप उत्पादन बढ्ने भएकाले मूल्यमा पनि कमी आउने उहाँले बताउनुभयो । उहाँले आँपको बोटमा मधुवा कीरा लाग्न नदिन यसपल्ट विभिन्न स्थानमा विषादी छर्ने तौर तरिकाबारे कार्यालयका प्राविधिकहरू मार्फत उत्पादनस्थलमै पुगेर तालिम दिनुका साथै संरक्षणका लागि आवश्यक ज्ञान दिइएकाले यस्तो सुधार देखिएको बताउनुभयो । सिरहापछि आँप उत्पादनमा मुलुककै दोस्रो स्थानमा रहेको सप्तरीको आँप स्थानीय बजारका साथै काठमाडौँ, पोखरा, नारायणघाट, विराटनगर र धरानसम्म खपत हुने गरेको उहाँले बताउनुभयो । यसपल्ट मधुवा कीराको चिन्ता छैन आँधी र असिनाबाट मात्र आँपको बोटलाई जोगाउन सकियो भने शतप्रतिशत उत्पादनमा वृद्धि हुन्छ, उहाँले भन्नुभयो ।

उहाँले कृषकलाई तालिमका साथै कृषि विज्ञहरूद्वारा आँप उत्पादन वृद्धिका लागि तयार गरिएको चेतनामूलक पर्चा, पम्प्लेटले पनि निकै काम गरेको बताउनुभयो । सप्तरीका कृषकले मालदह, बम्बई, दसहरी, कलकतिया, आम्रपाली, नेगडा, बिजु, सरही, किसुनभोगलगायत जातका आँप खेती लगाएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter