विषादी रोक्न नयाँ योजना ल्याउने- कृषिमन्त्री खनाल; कृषिजन्य वस्तु भारत निर्यातमा सघाउन मन्त्री यादवको आग्रह

agricultureकाठमाडौँ, चैत ६ गते । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषिजन्य वस्तुमा प्रयोग हुने विभिन्न रसायन तथा विषादी रोक्नका लागि मन्त्रालयले चाँडो नयाँ योजना ल्याउने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री खनालले भन्नुभयो–“जनताले पनि घर आँगनमै तरकारी फलाउनुपर्छ । सरकारले पनि प्रोत्साहन गर्छ । विषादीको प्रयोग रोक्नुपर्छ ।”

मुलुकलाई आगामी तीन वर्षभित्र कृषि तथा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबैखाले कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन सकेमा उपभोग्य सामग्रीको आयात बन्द भई व्यापार घाटा न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आगामी पाँच वर्षभित्र देशमा प्रांगारिक उत्पादन वृद्धि गरी निर्यात गरिने योजना रहेको बताउँदै सातदेखि दश वर्षसम्ममा फलफूल उत्पादनमा देशलाई आत्मनिर्भर गरिने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रभावकारी रुपमा परिणाम हासिल गर्न नसकेकाले उक्त परियोजनालाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।

कृषि प्रधान देशमा कृषि उत्पादनको वातावरण नभएका कारण युवा जनशक्ति विदेशिन बाध्य रहेको भन्दै उहाँले उनीहरुलाई कृषि क्षेत्रमा सहभागी गराउन सके यस क्षेत्रले फड्को मार्ने बताउनुभयो ।

कृषिजन्य वस्तु भारत निर्यातमा सघाउन मन्त्री यादवको आग्रह

विश्व व्यापार संगठनको अनौपचारिक मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा भारतको नयाँ दिल्लीमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भारतका वाणिज्य मन्त्री सुरेश प्रभुलाई भेटेर नेपालका कृषिजन्य वस्तुको भारत निर्यातमा सघाउन आग्रह गर्नुभएको छ ।

भेटमा उहाँले नेपाल–भारत सीमाका मुख्य भन्सार नाकामा व्यापारजन्य पूर्वाधार निर्यात, नेपालमा भारतीय लगानी वृद्धिलगायत पारस्परिक व्यापार अभिवृद्धिबारे आफ्ना भारतीय समकक्षीको ध्यानाकर्षण गराउनुभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज जनाएको छ ।

सो अवसरमा नेपालमा उत्पादनको उच्च सम्भावना भएका वस्तुमा लगानी वृद्धि गर्न र व्यापारजन्य क्षमता विकासमा परिणाम देखिने गरी काम गर्न भारत इच्छुक रहेको जानकारी भारतका वाणिज्य मन्त्रीले दिनुभएको थियो ।

भेटमा दुवै मन्त्रीले आगामी महिना काठमाडौँमा आयोजना हुने वाणिज्य सचिवहरुको बैठकलाई सफल तुल्याउने सम्बन्धमा पनि छलफल गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter