आगामी डेढ वर्षभित्र प्राधिकरणकै ८०० मेगावाट विद्युत्

Electricityकाठमाडौँ, चैत ६ गते । नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले आगामी डेढ वर्षभित्र ८०० मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् ।

प्राधिकरणले तयार पारेको कार्ययोजनाका आधारमा माथिल्लो तामाकोशी, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली थ्री ‘ए’, साञ्जेन, रसुवागढीजस्ता आयोजनाबाट विद्युत् उत्पादन हुनेछ ।

स्वदेशी आयोजना निर्माण सम्पन्न भएपछि विद्युत्मा आत्मनिर्भर बन्न सकिने प्राधिकरणको बुझाइ छ । ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य पूरा गर्नसमेत निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण रहेको छ ।

प्राधिकरणका अनुसार आगामी डेढ वर्षभित्र माथिल्लो साञ्जेन १४.८ मेगावाट, साञ्जेन ४२.५ मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न हुनेछ । साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख किरण श्रेष्ठले दुवै आयोजनाको भौतिक निर्माण कार्य करिब ७० प्रतिशतको हाराहारीमा पुगेको जानकारी दिनुभयो । त्यसमा माथिल्लो साञ्जेनको प्रगति भने उल्लेख्य रुपमा सकारात्मक रहेको छ ।

यस्तै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना २०७५ साल मंसिर मसान्तमा सम्पन्न हुनेछ । सरकारले सो आयोजनामा सबै प्रकारको सहयोग उपलब्ध गराएको छ । आयोजनाको काम द्रुत रुपमा भइरहेको प्रवक्ता डा गणेश न्यौपाने बताउनुभयो ।

यस्तै भूकम्प र नाकाबन्दीका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना भने आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने गरी कार्यतालिका तयार गरिएको छ । यस्तै चालू आवभित्रै कुलेखानी तेस्रो जलविद्युत् आयोजना सम्पन्न गर्ने भनिए पनि निर्माण व्यवसायीका कारण ढिलाइ भइरहेको छ । कूल १४ मेगावाट क्षमताको सो आयोजनाको भौतिक निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भए पनि ‘हाइड्रोमेकानिकल’ र इलेक्ट्रोमेकानिकल’ को काम रोकिँदै आएको छ ।

यस्तै १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पनि डेढ वर्षभित्र निर्माण सम्पन्न हुनेछ । सो आयोजनाको हाल ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजना प्रमुख माधव कोइरालाले जानकारी दिनुभयो । यस्तै मध्यभोटेकोशी जलविद्युत् आयोजनालाई पनि २०७५ सालको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ । तर सो आयोजनाको कार्यप्रगति भने हालसम्म ४० प्रतिशतमात्रै सम्पन्न भएको छ ।

निर्माण सम्पन्न भइसक्नु पर्ने राहुघाट जलविद्युत् आयोजना ठेकेदार छनोटको प्रक्रियामा नै अल्झिएको छ । काम नगरेपछि ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियामा जाँदा राहुघाटको निर्माण शुरु हुनै सकेको छैन । सो आयोजनाको क्षमता ३२ मेगावाटबाट बढाएर ४० पु¥याइएको छ ।

प्राधिकरणका अनुसार माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाको ठेकेदार छनोटको प्रक्रिया शुरु भएको छ । प्राधिकरण र नेपाल टेलिकमलगायतको लगानी रहने सो आयोजना माथिल्लो त्रिशूली थ्री ‘ए’को सहायक आयोजनाका रुपमा निर्माण गर्न लागिएको हो । सो आयोजनाको क्षमता ३७ मेगावाट रहेको छ । प्राधिकरणले सो आयोजना २०७६ को अन्त्यसम्म सक्ने कार्यतालिका बनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आगामी तीन वर्षभित्र प्राधिकरण र सहायक कम्पनीका करीब एक हजार मेगावाट क्षमताका आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्यका साथ काम भइरहेको छ ।

यस्तो छ निजी क्षेत्रको तयारी

यस्तै निजी क्षेत्रले सो अवधिमा साना, मझौला आयोजनाबाट करीब एक हजार ३०० मेगावाट क्षमताका आयोजना निर्माण सक्ने गरी तयारी गरिरहेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अनुसार सरकारले थप सहजीकरण गरिदिए आगामी डेढ वर्षभित्र करिब एक हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न हुने जनाएको छ ।

इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले विद्युत् खरिद सम्झौता भएका तीन हजार ५०० मेगावाट क्षमता बराबरका आयोजनामध्ये करीब ७० प्रतिशत आयोजना निर्माणका चरणमा रहेको बताउनुभयो ।

ऊर्जामा आत्मनिर्भर–सरकारको प्राथमिकता

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि सरकारी, निजी क्षेत्रका आयोजना तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने योजनामा सरकार रहेको जानकारी दिनुभयो ।

उहाँले वार्षिक रु एक खर्ब बराबरको पेट्रोलियम पदार्थको आयातमात्रै प्रतिस्थापन गर्न पनि विद्युत् उत्पादनमा जोड दिनुपर्ने र निर्माणाधीन आयोजना समयअगावै सक्नुपर्ने बताउनुभयो । हाल भारतबाट पेट्रोलियम पदार्थमात्रै नभई हिउँदमा ४५० मेगावाट विद्युत् आयात भइरहेको प्राधिकरणले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter