उत्खनन् बन्द गर्न प्रजिअलाई मन्त्री जमरकट्टेलको निर्देशन

government logoचरिकोट, चैत १३ गते । दोलखामा अवैध रुपमा भइरहेको बालुवा, गिटी, रोडाढुंगालगायत प्राकृतिक स्रोत साधनको उत्खनन् तथा मापदण्ड विपरितका क्रसर उद्योग तत्काल बन्द गर्न प्रदेश सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

प्रदेश नं ३ का आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेलले प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापालाई टेलिफोन गरेर प्राकृतिक स्रोत साधनको अवैध रुपमा भइरहेको दोहनको तत्काल अन्त्य गर्न निर्देशन दिनुभएको हो ।

जिल्लामा बालुवा, गिटी, रोडाढुंगा र अन्य प्राकृतिक सम्पदाको मनोमानी ढंगले उत्खनन् भइरहेको विषयलाई लिएर प्रदेशको गृह मन्त्रालय समेतको जिम्मेवारीमा रहेका आन्तरिक मामिला मन्त्री जमरकट्टेलले प्रमुख जिल्ला अधिकारी थापालाई आइतबार टेलिफोन गरेर निर्देशन दिनुभएको हो । उहाँले नियम विपरित सञ्चालित क्रसर उद्योग तथा बालुवा उत्खनन् बन्द गर्न निर्देशन दिनुभएको छ ।

जिल्लामा केही व्यापारी, राजनीतिक दलका नेता, जनप्रतिनिधि र प्रहरी प्रशासन समेतको मिलेमतोमा अवैध क्रसर सञ्चालन तथा बालुवा, गिटी र रोडाढंगाको मनपरी उत्खनन् तथा मनोमानी मूल्यमा बिक्री भइरहेको गुनासो आएको भन्दै मन्त्री जमरकट्टेलले यस्तो निर्देशन दिनुभएको हो ।

मन्त्री जमरकट्टेलले नियम विपरित सञ्चालित क्रसर उद्योग तथा बालुवा उत्खनन् बन्द गर्न निर्देशन दिनुभएको छ । उहाँले मापदण्ड पूरा गरेकालाई पनि व्यवस्थित ढंगले सञ्चालन गर्न निर्देशन दिनुभएको छ । बालुवा उत्खनन्को विषयलाई लिएर तामाकोशी गाउँपालिकास्थित भिरकोटको माझी वस्तीमा स्थानीय माझी समुदाय र प्रहरीबीच झडप भएको थियो ।

उहाँले चालु आवको असार मसान्तसम्म विद्यमान नियमानुसार नियमन गर्न र साउनबाट स्थानीय सरकार तथा प्रदेश सरकारले बनाउने ऐन र मापदण्डअनुसार क्रसर उद्योग तथा खानी सञ्चालन र व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको बताउनुभयो ।

भूकम्पपछि पुनःनिर्माणको बहानामा जिल्लामा तामाकोशीबाट जथाभावी उत्खनन् गर्नुका साथै मापदण्ड विपरित क्रसर सञ्चालन गरिँदैआएको छ । प्रमुख जिल्ला अधिकारी थापाले मन्त्री जमरकट्टेलले उक्त कार्य रोक्न निर्देशन दिनुभएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter