संसद्मा अब प्रधानमन्त्रीसँग सवालजवाफ

Parliament Buildingनारायण काफ्ले / काठमाडौँ, चैत १४ गते । अब प्रत्येक महिनाको दुई दिन सङ्घीय संसद्मा सांसदहरूले समसामयिक तथा नीतिगत विषयमा प्रधानमन्त्रीसँग सवालजवाफ गर्न पाउने भएका छन् ।

महिनाको पहिलो र तेस्रो हप्ताको पहिलो बैठकमा प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर हुनेछ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले महिनामा दुई बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने गरी नियमावलीमा सहमति
गरेको हो । सरकारका कामकारबाहीलाई पारदर्शी र जनचासोका विषयमा सरकारलाई सदनप्रति उत्तरदायी बनाउन प्रश्नोत्तर कार्यविधि चयन गरिएको हो । बेलायत लगायतका देशमा प्रधानमन्त्री र सांसदबीच सवालजवाफको व्यवस्था छ ।

यसअघि पनि कार्यविधिबाट उक्त व्यवस्था कार्यान्वयनमा ल्याउने प्रयास गरिए पनि सफल भएको थिएन । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले नियमावलीको प्रश्नोत्तर कार्यविधिमा सहमति भएको बताउनुभयो । पोखरेलले भन्नुभयो, “हामीले विल्कुलै नयाँ व्यवस्थामा सहमति गरेका छौँ । प्रधानमन्त्रीसँगको सीधा प्रश्नोत्तर र अन्य मन्त्रीसँगको सवालजवाफको विषयमा सहमति भएको छ । अब प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो र तेस्रो साताको पहिलो बैठकमा एक घन्टा सांसदले सवालजवाफ
गर्न पाउनेछन् ”

सहमतिअनुसार एउटा बैठकमा बढीमा १० जना सांसदले प्रश्न सोध्न पाउनेछन् । दुई बैठकमा गरी महिनामा २० सांसदले पालो पाउनेछन् । प्रधानमन्त्रीलाई प्रश्न सोध्न चाहने सांसदले बैठक सुरु हुनुभन्दा कम्तीमा पनि एक घन्टाअघि त्यसको
जानकारी दिनुपर्नेछ ।

व्यक्तिगत आक्षेप, संसदीय मर्यादा विपरीतका प्रश्न भने गर्न पाइनेछैन । त्यसैगरी अदालतमा विचाराधीन विषय, अर्धन्यायिक निकाय, जाँचबुझ समितिमा विचाराधीन विषयमा पनि प्रश्न हुनेछैन । प्रधानमन्त्रीले दिएको जवाफमा संसद्मा थप छलफल पनि हुनेछैन ।

समितिले प्रधानमन्त्री तथा मन्त्रीलाई लिखित रूपमा लिन चाहेको जवाफको कार्यविधि पनि तय गरेको छ । लिखित बेहोरामा लिखित जवाफ चाहेको भए सोही अनुसारको जानकारी सांसदले संसद्का महासचिवलाई दिनुपर्नेछ । जवाफको समय भने नियमावलीमा तोकिएको छैन । मन्त्रीसँग प्रश्न गर्ने सदस्यले एक पटकमा एउटा मन्त्रालयअन्तर्गत एकभन्दा बढी प्रश्न सोध्न पाउनेछैनन् तर मूल विषयसँग सम्बन्धित पूरक प्रश्न भने सोध्न पाइनेछ ।

सार्वजनिक जानकारीका लागि प्रश्नोत्तर नेपाल टेलिभिजनबाट अनिवार्य रूपमा प्रत्यक्ष प्रसारण हुनेछ । यसअघि नियमावलीको व्यवस्थाअनुसार प्रधानमन्त्री र मन्त्रीसँग सवालजवाफको कार्यविधि नै तयार भए पनि कार्यविधि कार्यान्वयनमा आउन सकेको थिएन ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter