पारवहन सन्धिमा हस्ताक्षर हुन्छः परराष्ट्रविद्

Rajan_Bhattarai

काठमाडौँ, असार २ गते । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा नेपाल–चीनबीच पारवहन तथा यातायातसम्बन्धी सन्धिमा हस्ताक्षर हुनसक्ने प्रवल सम्भावना रहेको परराष्ट्र मामिलाका जानकारहरुले संकेत गर्नुभएको छ ।
आज यहाँ आयोजित साक्षात्कारमा नेकपाका नेता एवं परराष्ट्र मामिलाका जानकार डा राजन भट्टराईले आगामी मंगलबारबाट हुने प्रधानमन्त्रीको चीन भ्रमणको अवसरमा पारवहन र यातायात क्षेत्रमा सहयोग आदानप्रदान सन्धिमा हस्ताक्षर हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाललाई विकास र समृद्धिको बाटोमा अघि बढाउने सन्दर्भमा प्रधानमन्त्रीको आगामी चीन भ्रमण ऐतिहासिक कोशेढुङ्गाको रुपमा सावित हुनेछ, पारवहन तथा यातायात क्षेत्रमा सहकार्य गर्ने सन्दर्भमा काजगपत्रको आदानप्रदान भइरहेको छ ।”

नेपालमा राजनीतिक स्थिरता कायम भई अत्याधिक जनाधारसहितको सरकार गठन भएको हुँदा विकास र समृद्धिका लागि चीनको सडक, रेल, ऊर्जा, सिँचाइ, पर्यटनगायत पूर्वाधार क्षेत्रमा लगानी र सहयोग हुनेसक्ने बताउँदै नेता डा भट्टराईले समुद्रको तटसम्मको पहुँच नेपालको अधिकार मात्र नभई प्राथमिकताको विषय हो भन्ने पक्षलाई छिमेकी चीनले बुझेको छ भन्नुभयो ।

पूर्वराजदूत डा सुरेश चालिसेले राजनीतिक स्थायित्वपछि गठन भएको वर्तमान सरकारको विकास र समृद्धिको नारालाई सार्थकता प्रदान गर्न राम्रो कुटनीतिक प्रयोग भएमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमण निकै उपलब्धिमूलक हुनसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको पर्यटन, ऊर्जा, कृषि, जलस्रोत र पूर्वाधार विकासमा चीनलाई विकासको साझेदार बनाउनुपर्छ, समृद्धि र विकासमा एकढिक्का भएर अघि बढ्नुपर्ने बेलामा राजनीतिक प्रणाली र सिद्धान्त फेरबदलको कुरा उठाउँदा लगानी र सहयोगको उत्साहमा कमी आउने सक्ने पक्षलाई हेक्का गर्न आवश्यक छ ।”

अर्का पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले नेपालको समृद्धिका लागि चीनलाई विकासको साझेदार बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा पारवहन र यातायातका विषयमा सन्धिमा हस्ताक्षर हुनुपर्दछ भन्दै उहाँले भन्नुभयो, “नेपालको व्यापार घाटालाई सन्तुलन ल्याउन तथा निर्यात बढाउन कृषि, उद्योग र उत्पादनका क्षेत्रमा संयुक्त लगानी प्रवद्र्धन गर्नुपर्छ । प्रधानमन्त्रीको आगामी भ्रमणबाट जलस्रोत र ऊर्जा क्षेत्रमा नयाँ अध्याय शुरु हुनेछ ।” (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter