• Tuesday, April 08, 2025

निगमको वाइड बडी विमान ‘अन्नपूर्ण’ आइपुग्यो

Annapurna_Air_Busसिवी अधिकारी / काठमाडौँ, असार १४ गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी विमान ‘अन्नपूर्ण’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान निर्माण भएका फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको हो । सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको रु १२÷१२ अर्बको ऋणबाट दुईवटा विमान खरीद गरिएको निगमले जनाएको छ ।

निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेका दुई वाइड बडी विमानमध्ये पहिलो विमान आएको हो । दोस्रो विमान डेढ महिनापछि ल्याइनेछ । २०७४ साल वैशाख ७ गते सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरीदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो । जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो ।

निगमका अनुसार विमानको प्रतिथान मूल्य रु १० करोड ४८ लाख अमेरिकी डलर निर्धारण भएको छ । कूल २७४ सिट क्षमताको वाइड बडी अन्नपूर्णको १८ वटा सांग्रिला ‘बिजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, प्रवक्ता रवीन्द्र श्रेष्ठसहित चालकदलका (नौ जना) सदस्य गरी १९ जना यात्रु बोकेर काठमाडौँ उत्रिएको वाइड बडीको विमानस्थलमा भव्य रुपमा स्वागत गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन मन्त्रालय र प्राधिकरणका उच्च अधिकारी तथा निगमका कर्मचारीको उपस्थिति थियो । विमानस्थलमा कूटनीतिक नियोगका प्रतिनिधि पनि सहभागी थिए ।

वाइड बडी विमानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पर्यटनमन्त्री अधिकारीले वाइड बडी विमानको स्वागत गर्न पाउँदा निगम परिवार मात्र नभई देशले नै खुशी मनाएको उल्लेख गर्नुभयो । उहाँले विमान अवतरणसँगै निगमलाई विश्वका एयरलाइन्ससँग प्रतिस्पर्धी बनाउने आजको आवश्यकता र चुनौती हो भन्नुभयो ।

पर्यटनमन्त्री अधिकारीले भन्नुभयो, “तपाईहरुको मेहनत र परिश्रमबाट धेरै आरोह–अवरोह पार गर्दै निगम यहाँसम्म आइपुगेको छ । यसको प्रगतिमा अझै हामी सन्तुष्ट हुन सकेका छैनौँ किनभने हामी सँगसँगैका धेरै अगाडि बढिसके उनीहरुलाई उछिन्ने गरी हामी अघि बढ्नुछ, त्यसका लागि निगमले अन्तर्राष्ट्रिय उडानलाई प्रभावकारी बनाएर आफ्नो व्यावसायिक जीवनमा सफलता कायम गर्नेछ यसका लागि बधाई तथा शुभकामना दिन चाहन्छु ।”

उहाँले नेपाल भ्रमण वर्षलाई सफल बनाई निरन्तर पर्यटन प्रवद्र्धन विकासका लागि निगमको विमान महत्वपूर्ण कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीका अनुसार अबको डेढ महिनापछि अर्को वाइड बडी विमान आउने र सन् २०१९ को अन्त्यमा दुई वटा न्यारो बढी विमान आउने हुँदा सन् २०२० को भ्रमण वर्षमा सफलता हासिल हुनेछ । सरकारले निगमको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विभिन्न भूमिका खोजिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले व्यवस्थापनलाई खुल्ला रुपबाट प्रतिस्पर्धामा जानसक्ने वातावरण बनाएर निगमको प्रगति गर्न चाहेको स्पष्ट पार्नुभयो ।

“सरकार कसैको हातखुट्टा बाँध्ने पक्षमा छैन तपाईंहरु उड्नुस् खुल्ला आकासमा सक्ने जति त्यसअनुसारले काम गर्नुस् म सरकारका तर्फबाट गर्नुपर्ने सबै प्रकारको सहयोगको प्रतिबद्धता दिलाउछु,” उहाँले भन्नुभयो ।

निगमका महाप्रबन्धक कंसाकारले निगमलाई विश्वस्तरको प्रतिस्पर्धी बनाउन सबै पक्ष आजैदेखि सुधारका काममा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले निगमको आन्तरिक उडानलाई पनि विमानस्थल पुगेका सबै स्थानमा विमान पु¥याउने योजना सुनाउनुभयो ।

महाप्रबन्धक कंसाकारले संस्थालाई वास्तविक व्यावसायिक रुपमा अघि बढाउनका लागि प्रतिस्पर्धामा जानैपर्ने आवश्यकता औँल्याउँदै अगाडि थप्नुभयो, “खर्र्बौंको कारोबार हुने एक हजार ४०० कर्मचारी भएको यस्तो संस्था विभिन्न अवस्थामा पनि नाफामै छ, हामीले पैसा मात्र हैन यात्रुको सुरक्षालाई ध्यान दिन जरुरी छ । त्यसका लागि प्राविधिक पक्ष र सञ्चालनमा आउट सोर्सिङको माध्यमबाट भए पनि कार्यशैलीमा परिवर्तन ल्याउनैपर्छ ।”

निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएपछि साउनको पहिलो सातादेखि व्यावसायिक उडान शुरु गर्ने निगमको तयारी छ । आगामी दिनमा नेपाली पाइलटहरुले पनि वाइड बडी विमान उडाउनेछन् । पहिलो चरणमा दुबई÷दोहा उडान गरिनेछ भने त्यसपछिका चरणमा जापान, दक्षिण कोरिया र साउदी अरेबियाको रियादमा उडान गरिनेछ ।

निगमले २०७३ साल चैत २५ गते अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइड बडी ‘ए ३३०–२००’ एयरबस विमान खरीद गर्ने सम्झौता गरेको थियो । दुईवटा जहाजको लागत रु २१ अर्ब ९० करोड छ ।

निगमले हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेशिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुईवटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । निगमले आन्तरिकतर्फ नौवटा विमानबाट सेवा दिइरहेको छ । यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार, एमए ६० दुई र तीन वटा ट्विनअटर विमान छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter