गाईफार्ममा ५० करोड लगानी थपिँदै

cow-shedभैरहवा, असोज ८ गते । रूपन्देहीको टिकुलिगढीस्थित लुम्बिनी एग्रो प्रोडक्टस् एण्ड रिसर्च सेन्टर प्रालिले ५० करोडभन्दा बढी लगानी थप गर्ने भएको छ । मुलुककै ठूलो मानिएको गाईफार्मले लगानी थप गरेर डेरी उद्योग र खाद्य उद्योग ग्राम सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

पाँच सय गाई पालेर दैनिक सरदर दुई हजार लिटर दूध बिक्री गर्दै आएको कम्पनीले इजरायली कम्पनीसँग मिलेर अन्तर्राष्ट्रिय मापदण्डका डेरीबाट बन्ने सामग्रीहरू उत्पादन गर्ने तयारी गरेको हो । इजरायल कृषि र डेरी उत्पादनमा विश्वमै अग्रणी मुलुक मानिन्छ । इजरायलको एबीईएल कम्पनीसँगको साझेदारीमा ३५ करोड लगानीमा गाईफार्मसँगै डेरी प्लान्ट राख्न थालिएको हो । डेरी प्लान्टमा इजरायलकै मेसिन, प्रविधि र व्यवस्थापन हुनेछ ।

अमेरिकन ब्रिडका जर्सी र होलस्टोन फ्रिजन जातका दुई सय ५० गाईबाट सुरु भएको फार्ममा तीनै गाईका बाच्छीहरूसमेत गरी हाल पाँच सयको हाराहारीमा गाई छन् । जसमध्ये एक सय ७० जति गाई दुहुना छन् । फार्ममा एकैपटकमा २० देखि २५ वटासम्म गाई दुहुन मिल्ने गरी मेसिन जडान गरिएको छ ।

तीन बिघा क्षेत्रफलमा स्थापना हुने डेरी प्लान्टबाट युरोपियन र अमेरिकन मापदण्डमा प्रशोधित दूध, दही, घिउ, मही, मिल्कसेक (बोतल दूध) र आइसक्रिमलगायतका परिकार उत्पादन हुनेछन् । डेरी प्लान्ट ६ महिनाभित्र सञ्चालनमा आउने प्रालिका सञ्चालक शशिधर शर्मा पौडेलले बताउनुभयो । “डेरी प्लान्टका लागि इजरायली टिमसँग लगानीको हिस्सा र व्यवस्थापनबारे समझदारी भई आवश्यक कानुनी प्रक्रिया पनि पूरा गरिसक्यौं” उहाँले भन्नुभयो– “जग्गाको व्यवस्था पनि भइसक्यो, मेसिन ल्याउन एक÷दुई दिनमै एल्सी (प्रतिपत्र) खुल्दैछ । ” डेरी उद्योगमा दैनिक २० हजार लिटर दूधबाट डेरीजन्य वस्तु उत्पादन गर्ने लक्ष्य प्रालिको छ । स्वचालित प्लान्ट भएकाले यसमा करिब २० जनाले प्रत्यक्ष रोजगारी पाउने प्रालिले जनाएको छ । डेरी उद्योगमा इजरायली कम्पनी र प्रा.लि.ले बराबर लगानी गर्ने सहमति भइसकेको छ ।

निकट भविष्यमै उत्पादन सुरु हुने डेरी प्रोडक्टमध्ये प्रा.लि.ले बोतल दूधलाई पहिलो प्राथमिकता दिने सञ्चालक पौडेलले जानकारी दिनुभयो । बहुराष्ट्रिय कम्पनीले उत्पादन गर्ने हल्का पेय पदार्थहरू (कोक, फेन्टा आदि) को सट्टा मिल्कसेक (बोतल दूध) को सेवन बढाउने रणनीति लिइएको पौडेलले बताउनुभयो । “अरू पेय पदार्थको तुलनामा स्वास्थ्यका लागि पनि दूध हितकर हुने र मूल्य पनि उस्तै उस्तै पर्ने भएकाले मिल्कसेकको उत्पादन धेरै गर्छौं”– पौडेलले भन्नुभयो ।

नेपालस्थित कम्पनीले डेरी प्लान्टसँगै खाद्यान्न परिकारहरू उत्पादनको तयारी पनि गरिरहेको छ । पास्ता, कर्नफ्लेक्स, कुकिज र मसलालगायतका खाद्य वस्तु उत्पादन गर्ने गरी एकैथलोमा खाद्य उद्योग ग्राम सञ्चालनमा आउन लागेको हो । ६ महिनाभित्र सञ्चालनमा आउने खाद्य उद्योग ग्राममा १५ देखि २० करोड रुपियाँ लगानी हुने अनुमान छ ।

खाद्य उद्योग ग्रामका लागि भौतिक संरचना निर्माण र मेसिनहरू ल्याउने काम भइसकेको पौडेलले बताउनुभयो । खाद्य उद्योग ग्राममा प्रा.लि. अन्तर्गत एक सय जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने छन् । डेरी र खाद्य प्रोडक्टहरूको बजार देशव्यापी बनाउने प्रालिको लक्ष्य छ ।

कम्पनीले फार्ममा उत्पादन हुने गाईको गोवरबाट विद्युत् उत्पादन समेत गर्दैछ । पहिलो चरणमा ५ सय घनमिटर गोवर ग्यासबाट ३ सय किलोवाट बिजुली निकाल्ने र त्यसपछि ११ सय घनमिटरको प्लान्ट बनाएर ७ सय ५० किलोवाट बिजुली उत्पादन गर्ने तयारी प्रा.लि.को छ । गोवरबाट विद्युत् उत्पादन भएपछि प्रालि अन्तर्गका उद्योगहरू र गाई फार्ममा खपत हुने विद्युत्का लागि खर्च हुने रकमसमेत जोगिने छ ।

नेपालकै ठूलो गाई फार्मको रूपमा स्थापित भएपछि यो फार्म हेर्न देशका सबैजसो जिल्लाबाट मानिस दैनिक आउने गरेका छन् । सबैभन्दा धेरै सङ्ख्यामा गाई, मेसिनबाटै दूध दुहुने प्रविधि, आफ्नै दूध चिस्यान मेसिन र सरकारबाट उत्कृष्ट किसानका रूपमा विकास रत्न पदक र हालै मात्र जनसेवा श्री पदकबाट सम्मानित जस्ता कारणले पौडेलको फार्म देशभर चर्चित भएकाले हेर्न आउनेहरूको सङ्ख्या पनि ठूलो रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter