• Monday, April 14, 2025

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

Ishwor Pokharelकाठमाडौँ, असोज २० गते । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं ४ ले आज निर्वाचन क्षेत्र नं ५ अन्तर्गत सुकेधारामा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा उहाँले सार्वजनिक सम्पत्तिको रक्षा गर्नु सबै नागरिकको कर्तव्य भएको बताउनुभयो ।

विभिन्न आवरणमा सार्वजनिक सम्पत्ति कब्जा हुन सक्नेतर्फ सचेत गराउँदै उहाँले भन्नुभयो, “सार्वजनिक सम्पत्ति हडप्न राजनीतिक दलका छाता ओढेका व्यक्ति, उच्च ओहोदाका कर्मचारी, सामाजिक सेवामा योगदान गरेका र धार्मिक आवरण बोकेको व्यक्ति लाग्न सक्छन्, सार्वजनिक सम्पत्ति रक्षाका लागि वडा कार्यालय सजग हुनुपर्छ । ”

नीति, विधि र संरचनामा देखिएका समस्या समाधान गर्नु अहिलेको मुख्य चुनौती रहेको उहाँको भनाइ थियो ।

विगतका चलनचल्तीको बुझाई, माग र आग्रहद्वारा निर्देशित हुँदा विकास निर्माण अलपत्र पर्न सक्ने बताउँदै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “योजना, नीति कार्यान्वयन गर्दा परिभाषित संस्थाले परिभाषित काम गर्न सक्नुपर्छ, पार्टीका नेता तथा जनप्रतिनिधि एवं समाजका सचेत नागरिकले पनि आफूलाई त्यसअनुरुप ढाल्नुपर्छ ।”

प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले जनतालाई आवश्यक सेवा, सुविधा र सहयोग उपलब्ध गराउन जनतासँग जनप्रतिनिधि अभियान सञ्चालन गरिएको जानकारी दिँदै जनप्रतिनिधि जहिले पनि जनतासँगै हुने बताउनुभयो ।

धोवीखोला करिडोरमा ढल निकासको उचित प्रबन्ध नहुँदा डुबानको समस्या देखिएको उल्लेख गर्दै उहाँले गलत संरचना निर्माण गर्ने निर्माण व्यवसायी, प्राविधिकलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने बताउनुभयो ।

वडा नं ४ का वडाध्यक्ष मोहन विष्टले जनताका माग तथा भावना र वडाभित्र देखिएका समस्या समाधान गर्न आफू लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “वडा तहबाट हुने समस्या वडा कार्यालयबाटै समाधान हुन्छ, ठूलो समस्या आइपरे प्रदेश सरकार र सङ्घीय सरकारबाट समस्याको समाधान गरिन्छ ।”

कार्यक्रममा सो क्षेत्रका नागरिक अगुवाले ढल, खानेपानी, सडक कालोपत्रेलगायत विकास निर्माणका क्रममा देखिएको समस्या समाधान गर्न आग्रह गरेका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter