• Tuesday, April 15, 2025

कहिले बन्छ नेपालगञ्जमा ‘बहुउद्देश्यीय सभागृह’ ?

बाँके, कात्तिक १० गते । ‘बहुउद्देश्यीय सभागृह र प्रदर्शनीस्थल’ निर्माणको मुद्दा अघि सारेर नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले हरेक वर्ष महोत्सव आयोजना गर्छ । सङ्घका पूर्वअध्यक्ष दामोदर आचार्यको कार्यकालमा सभागृह र प्रदर्शनीस्थल बनाउन सरकारबाट १० बिघा जमीन नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले प्राप्त गरेको थियो ।

जग्गा प्राप्त भएसँगै सभागृह र प्रदर्शनीस्थल सहयोगार्थ भन्दै सङ्घले महोत्सव आयोजना गर्दै आएको छ । तर सभागृह र प्रदर्शनीस्थल निर्माणको टुङ्गो भने हालसम्म लागेको छैन । तत्कालीन समयमा करीब रु ३५ करोडमा सभागृह र प्रदर्शनीस्थल निर्माण हुने अनुमान गरिएको थियो ।

हालसम्म सङ्घले सभागृह र प्रदर्शनीस्थल सहयोगार्थ भन्दै यसअघि तीन वटा महोत्सव सम्पन्न गरिसकेको छ । जसबाट करीब रु डेढ करोड सङ्कलन भएको छ । तर अहिले पूर्ववत योजनाअनुसार नै सभागृह र प्रदर्शनीस्थल बनाउने हो भने पनि रु ५० करोडसम्म खर्च हुने देखिन्छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले यहाँका राजनीतिक दलको असहयोगका कारण निर्माणमा समस्या भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योगी व्यवसायीले मात्रै आवश्यकता महसुस गरेर हुँदोरहेनछ, राजनीतिक सहयोग पनि आवश्यक छ तर यहाँका राजनीतिक दलले आवश्यकता महसुस नगरिदिँदा समस्या भएको छ ।”

बहुउद्देश्यीय सभागृह निर्माणको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० र नक्सा तयार भइसकेको बताउँदै केन्द्रीय सदस्य श्रेष्ठले भन्नुभयो, “केही रकम हामीले जम्मा गरिसकेका छौँ, अझै आवश्यक रकम खोजिरहेका छौँ, बाह्य दाताले पनि यसमा सहयोग नगर्ने भएकाले सरकारले नै केही रकम विनियोजन गर्नुपर्ने भएपछि हामीलाई राजनीतिक दलको सहयोग चाहिएको छ ।”

उहाँका अनुसार उद्योग वाणिज्य सङ्घलाई प्रदान गरिएको जग्गा सडक विभाग मातहतको भएकाले विभागले जग्गा दिन नमानेका कारण पनि निर्माणमा कठिनाइ भइरहेको छ । उहाँले भन्नुभयो, “जग्गा भोगचलन गर्न सडक विभागलाई आठ कोठे भवन बनाइदिनुपर्ने सम्झौतामा उल्लेख छ, हामी त्यो भवन बनाइदिन तयार भए पनि विभागले नमानेकै कारण समस्या उत्पन्न भएको छ ।”

राजधानीबाहिर देशकै सबैभन्दा ठूलो सभागृह निर्माण गर्ने महत्वकाङ्क्षा बोकेको नेपालगञ्ज उद्योग वणिज्य सङ्घले केही वर्षयता दाताको खोजी गरिए पनि नपाइएपछि औद्योगिक महोत्सव आयोजना गरेर त्यसबाट केही रकम बचत गरिरहेको छ । सङ्घका अध्यक्ष नन्दलाल वैश्यले पनि बजेट अभावकै कारण समस्या भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले जग्गा दिएको छ, पर्याप्त बजेट हामीसँग छैन, हामीले पनि सरकारसँगै बजेट माग्ने र अपुग रकम जुटाउने हो, यस बिषयमा अर्थ मन्त्रालयमा छलफल पनि भएको छ, मन्त्रालयतहबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ ।” उहाँका अनुसार सडक विभागलाई जग्गा उपलब्ध गराइदिन पनि पत्राचार गरिसकिएको छ ।

“मन्त्रिस्तरीय निर्णयबाट हामीले जग्गा पाइसकेका छौँ, जग्गाको लालपुर्जा पनि हामीसँगै छ, सडक विभागको प्रयोजनका लागि आठ कोठे भवन निर्माण गरिदिने शर्तअनुसार हामीले जग्गा उपलब्ध गराइदिन भनेका छौँ, विभागले जग्गाको टुङ्गो नलगाए पनि अब हामी प्रदर्शनीस्थल निर्माण सुरुवात गर्दछौ”, अध्यक्ष वैश्यले भन्नुभयो, “अबको केही महीनाभित्र हामीले निर्माणको काम शुरु गर्दछौँ ।”

सरकारसँग भएको सम्झौताअनुरुप सभागृह र प्रर्दशनीस्थल निर्माण कार्य व्यावसायिक प्रयोजनका लागि नहुने उल्लेख भएकाले पनि यो परियोजना सुरुवातका क्रममा केही समस्या भएको व्यवसायीको भनाइ छ । अध्यक्ष वैश्यका अनुसार अब निर्माणका लागि आवश्यक बजेटबाहेक अन्य कुनै समस्या छैन । नेपालगञ्ज उपमहानगरपालिकाले पनि भवन निर्माणका लागि स्वीकृति दिइसकेको उहाँको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter