कौसीमा ७८ वर्षीया वृद्धाको तरकारी खेती

Vegetable farming Nepalभरतपुर, माघ १२ गते । भरतपुर महानगरपालिका–१० स्याउली बजारकी ७८ वर्षीया कृषक धनिकला काफ्लेको दिनचर्या कौसी र छतमा लगाएको तरकारीको स्याहारमा नै बित्ने गर्छ ।

परिवारका अन्य सदस्यसँगै उठेपछि नित्यकर्म सकेर उहाँ चियाको चुस्कीसँगै घरको छतमा उक्लिनुहुन्छ । उमेरअनुसार भजनकीर्तन र घुमफिर गर्ने बेलामा पनि उहाँलाई आफ्नो पौरखमै खुशी लाग्छ । आफूलाई चाहिने तरकारी घरमै उत्पादन गर्ने उद्देश्यले तीन वर्षअघि उहाँले शुरू गरेको कौसी बगैँचामा पूर्णतः प्राङ्गारिक फलफूल र तरकारी फल्छन् । उहाँको कौसी र छतमा यतिबेला काउली, गोलभेँडा, साग, धनिया, प्याज, लसुनदेखि कागतीसम्म छन् । पुर्खौली घर गुल्मीकी धनिकला आफ्नो कामप्रति निकै सन्तुष्ट हुनुहुन्छ । विशेष परिस्थितबाहेक तरकारीको बिरुवा पनि नकिन्ने उहाँले बाह्रैमास हरियो तरकारी फलाउँदै आउनुभएको छ ।

अठहत्तर वर्षको उमेरमा पनि निकै फुर्तिलो देखिनु हुने धनिकला आफूलाई कामले नै फुर्तिलो बनाएको बताउनुहुन्छ । अहिलेसम्म बजारमा लगेर तरकारी नबेच्नुभएकी उहाँ आफूकहाँ आउने पाहुनालाई मौसमअनुसारको तरकारी र फलफूल कोसेली दिएर पठाउनुहुन्छ । “घरमा आउने कसैलाई पनि खाली हात पठाउँदिन, धनिकला भन्नुहुन्छ”, घरमा भाडामा बस्ने र छिमेकीलाई पनि तरकारी दिने गरेको छु ।”

आफ्नै घरमा तरकारी फलाउन सबैभन्दा पहिले भान्छाबाट निस्कने फोहरलाई कुहिने र नकुहिने गरी छुट्याएर मल तयार गर्ने गरेको उहाँ बताउनुहुन्छ । कुनै पनि विषादीको प्रयोग नगरे पनि छतमै तरकारी तयार हुन्छ भन्ने उदाहरण उहाँले दिनुभएको छ । “तरकारीको बीउ ल्याउनेलगायत काममा छोरीले सहयोग गरेकी छ” उहाँ भन्नुहुन्छ, “छतभरि तरकारी फलाउने काम आफैँ गरेकी हूँ ।” टोलमार्फत तालीममा सहभागी भएपछि कौसी खेती गर्न प्रेरणा जागेको उहाँ बताउनुहुन्छ । “आफूलाई खान र घरमा आउने पाउनालाई दिन प्रशस्त पुग्छ काफ्ले भन्नुहुन्छ, तीन वर्षदेखि मैले तरकारीका लागि हाटबजार टेकेको छैन ।”

कौसी खेतीका लागि धेरै मिहेनत नचाहिने तर इच्छाशक्ति हुनपर्नेमा जोड दिँदै धनिकला गफ गरेर अरुको कुरा काट्दै भुल्नुभन्दा यस्तै उत्पादन हुने खालका काम गर्नुपर्ने बताउनुहुन्छ । “घरमै हरियोपरियो हे¥यो मनमा आनन्द हुनाका साथै साँझ बिहान के तरकारी पकाउँ भन्न परेन भान्सामा भात बसाल्यो तरकारी लिन कौसीतिर लाग्यो”, उहाँ भन्नुहुन्छ ।

चितवनका महत्वपूर्ण सरकारी कार्यालय र सङ्घसंस्था भएको भरतपुरको १० नम्बर वडा अहिले घरैघरले भरिएको छ । खाली जग्गा पाउन मुस्किल छ । खेती गरी जीविका चलाउँछुभन्दा पनि जग्गा पाइने अवस्था छैन । बजारमा तरकारीको भाउ पनि बढेको बढ्यै छ । त्यही पनि स्वस्थ्यकर हुँदैन । यस्तो बेला सबैका लागि विकल्प बनेको छ ‘कौसी खेती’ । धनिकला यस्को उदाहरणीय पात्र हुनुहुन्छ । उहाँ मात्र होइन, भरतपुरको स्याउली बजार टोल र यस आसपासका क्षेत्रमा पछिल्लो समय कौसी खेती गर्नेको सङ्ख्या बढ्दो छ । कौसी खेतीले प्राङ्गारिक तरकारी मात्र दिएको छैन । भान्साको फोहर पनि घरैमा उपयोग भएको छ ।

शहरमा आफ्नै घर हुनेले कौसी खेती गर्नसके तरकारीका लागि बजारको भर पर्नुपर्दैन साथै स्वस्थ्यकर र प्राङ्गारिक तरकारी घरमै फलाउन सकिन्छ । घरमा थोरै मात्र खाली ठाउँ छ भने पनि गमलामा तरकारी लगाएर त्यो जग्गाको सदुपयोग गर्न सकिन्छ । भरतपुर महानगरपालिका र कृषि ज्ञान केन्द्रले पनि शहरी क्षेत्रमा कौसी बगैँचा बनाउन प्रोत्साहन गरिरहेको छ ।

देशैभर विषादी प्रयोग भएका तरकारीको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको समाचार सुनिरहेका बेला भरतपुरमा भने घरबाट नै प्राङ्गारिक तरकारी अभियान शुरु गरिएको छ । अधिकांश व्यक्तिले हतारहतार बजार गएर झोलाभरि तरकारी ल्याउँदा विष पनि सँगसँगै भान्छामा ल्याउनेहरूका यी वृद्धा धनिकला उदाहरणीय पात्र बन्नुभएको छ ।

यसरी आफ्नै घरको सानो छत वा कौसीमा पनि तरकारी उत्पादन गर्दा घरमै काम पाइनुका साथै स्वस्थ, ताजा र विषादीरहित तरकारी उपभोग गर्न पाइने र परिवारको स्वास्थ्य पनि नबिग्रने वातावरण बन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter