एक सय ५० प्रजातिका बीउ संरक्षण

Comunity_Seedदमौली, माघ १३ गते । तनहुँको भानु नगरपालिका–९ पुर्कोटमा स्थापित सामुदायिक बीउ बैंकमा १५० प्रजातिका बीउ संरक्षण गरिएको छ ।

परम्परागत र स्थानीय जातका बीउबीजन संरक्षण गर्ने उद्देश्यले विसं २०६८ मा स्थापित उक्त बैंकमा ती बीउ संरक्षण गरिएको सामुदायिक बीउ बैंक केन्द्रीय समन्वय समिति सदस्य सीताराम बजगाईँले जानकारी दिनुभयो ।

भावी पिँढीको सम्भावित खाद्य सुरक्षाका लागि जैविक विविधता संरक्षणमार्फत स्थानीय बाली संरक्षण गर्ने उद्देश्यले उक्त बैंक स्थापना गरिएको उहाँले बताउनुभयो । जैविक विविधता र कयौँ असल गुण भएका विभिन्न प्रजातिका स्थानीय बाली लोप हुँदै गएपछि जिल्ला कृषि विकास कार्यालयको आर्थिक र प्राविधिक सहयोगमा विसं २०६२ मा जैविक विविधता संरक्षण समिति गठन गरिएको थियो । सोही समितिको सक्रियतामा उक्त ठाउँमा सामुदायिक बीउ बैंक स्थापनाको अवधारणा ल्याइएको हो ।

उक्त बैंकमा अन्नबालीतर्फ धान, मकै, कोदो, जौ, फापर, कोशेबालीतर्फ बोडी, भटमास, गहत, केराउ, मस्याङ, बकुल्ला, रहर, र सिमीको बीउ सङ्कलन गरिएको छ । तेलहन बालीतर्फ तिल, तोरी, आलस, जरेबालीतर्फ पिडालु, तरुल, ओल र लहरे तथा अन्य तरकारी बालीतर्फ फर्सी, घिरौला, लौका, चिचिण्डो, कुभिण्डो, काँक्रो, तिरइ, करेला, भिण्डी, रायो, लुडे र उखुको बीउ सङ्कलन गरिएको छ भने मसला बालीतर्फ खुर्सानी, सुप, सिलाम, भाङ र लसुनलगायत बीउ सङ्कलन गरिएको छ ।

बैंकमा सङ्कलन गरिएका विभिन्न प्रजातिका बीउबाट विशेषज्ञले नयाँ जात निकाल्न लैजाने गरेको बीउ बैंकका अध्यक्ष दीपकराज अधिकारीले जानकारी दिनुभयो ।

सामुदायिक बीउ बैंकका लागि सामथ्र्य नेपालले रु ३५ लाखको लागतमा तीनकोठे भवन निर्माण गरिदिएको छ । अधिकारीका अनुसार भूकम्प प्रतिरोधात्मक उक्त भवनमा उन्नत जातका बीउ भण्डारण गरिएको छ ।

लिबर्ड पोखरा र स्थानीय जनताको आर्थिक सहयोगमा रु छ लाखको लागतमा दुईकोठे कार्यालय भवनसमेत निर्माण गरिएको छ । अधिकारीका अनुसार बीउ बैंकमा सुरक्षित राखिएका विभिन्न प्रजातिका बीउ कृषकलाई निःशुल्क रूपमा वितरण गरिएको छ भने खरीद गर्न चाहनेलाई समेत बिक्रीको व्यवस्था मिलाइएको छ ।

एक हजार ६१३ भूकम्पपीडित परिवारलाई बीउ वितरण गरिएको र स्थानीय बालीको महत्व, गडौले मल, गोठेमल प्रयोग र जैविक विषादीको प्रयोगबारे कृषकलाई सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

बीउ बैंकमा रहेका बीउ ग्रेडिङका लागि एक सेट ग्रेडिङ मेसिन, डिजिटल तराजु, बीउको चिस्यान नाप्ने उपकरण र उमार शक्ति परीक्षण उपकरणसमेत खरीद गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter