अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बन्ने; धुर्मुस र सुन्तली सद्भावनादूत

Dhurmus Suntali

चितवन, माघ १३ गते । धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने भएको छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नामकरण गरिएको रङ्गशालाको यही माघ १६ गते राष्ट्रिय सभागृह काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा निर्माण घोषणा गर्ने कार्यक्रम तय भएको छ । सोही कार्यक्रममा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच सहमतिपत्रमा हस्ताक्षर समेत गरिँदै छ ।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) का अनुसार महानगरपालिकाले उपलब्ध गराउने २० बिघा छ कठ्ठा जग्गामा रङ्गशाला बन्ने छ । रङ्गशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने उहाँले बताउनुभयो । सो रङ्गशालालाई एकेडेमिका रूपमा विकास गरिने लक्ष्य राखिएको छ ।

सो जग्गा रङ्गशाला निर्माणका लागि दुई विश्वविद्यालय र भरतपुर महानगरपालिकाबीच यस अघि नै सम्झौता भइसकेको छ । सामाजिक क्षेत्रमा सक्रिय फाउण्डेशनले नेपालमा रङ्गशाला निर्माण गर्ने जनाएसँगै स्वदेशी र विदेशी नेपालीहरू उत्साहित भएका थिए । कतिपय देशमा रङ्गशाला निर्माणका लागि रकम सङ्कलन समेत थालिएको थियो ।

कट्टेलका अनुसार औपचारिक घोषणा र सम्झौतापछि स्वदेश र विदेशमा रहेका नेपालीसँग आर्थिक सहयोग जुटाइने छ । रङ्गशालाको गुरुयोजना बन्दै गरेकाले के कति खर्च र समय लाग्ने भन्ने विषय घोषणा कार्यक्रममा नै जानकारी दिने उहाँले बताउनुभयो ।

राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोगको लागि फाउण्डेशनले आह्वान गर्दै आएको छ । अध्यक्ष कट्टेलले सरकार र जनताको सहभागितामा अन्तर्राष्ट्रियस्तरको पहिलो रङ्गशाला नेपालमा बन्ने बताउनुभयो ।

कलाकारिताबाट समाजसेवामा लाग्नुभएका कट्टेलको नेतृत्वको फाउण्डेशनले यस अघि एकीकृत नमूना प्रहरी बस्ती काभ्रे, एकीकृत नमूना गिरानचौर बस्ती सिन्धुपाल्चोक, एकीकृत नमूना मुसहर बस्ती महोत्तरी र एकीकृत नमूना सन्तपुर बस्ती रौतहट निर्माण गरिसकेको छ । ती बस्तीमा ३२० बढी परिवार बसोबास गर्दै आएका छन् ।

धुर्मुस र सुन्तली सद्भावनादूत

प्रदेश नं १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सद्भावनादूत नियुक्त हुनुभएको छ । सो कार्यक्रमका लागि उक्त मन्त्रालय एवं धुर्मुस र सुन्तलीबीच आज यहाँ सम्झौता भएको छ ।

एक वर्ष अवधि रहने सद्भावनादूतले राष्ट्रिय स्वास्थ्य नीति–२०७१ र नसर्ने रोगको रोकथाम तथा नियन्त्रण कार्यान्वयन योजना २०१६–२१ को स्वस्थ जीनवशैली प्रवद्र्धनसम्बन्धी सञ्चार कार्यक्रमलाई प्राथमिकता दिएर अभियान सञ्चालन गर्नुपर्ने, स्वस्थ जीवनका लागि खानपान, सरसफाइ र योग तथा व्यायामलाई प्राथमिकता दिनुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

सद्भावनादूतले ‘एक घर, पाँच योग, पाँच जडीबुटी, पाँच वटा सकारात्मक व्यवहार’, ‘मेरो फोहर म आफैँ सफा गर्छु’, ‘समुदायको सरसफाइमा मेरो दायित्व’ जस्तानारासहित दैनिक जीवन पद्दति, व्यवहार, सरसफाइ, पोषण आदिलाई जोडेर स्वस्थ जीवन कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।

मुख्यमन्त्री शेरधन राईले यस प्रदेशलाई स्वस्थ र समृद्ध बनाउन सरकार शुरुदेखि नै प्रयत्नशील भएको बताउनुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले रोग लाग्न नदिन विभिन्न कार्यक्रम सञ्चालन गरिएको र ‘स्वास्थ्य प्रवद्र्धन वर्ष–२०७५’लाई मूर्त रुप दिन सबैजना खानपिन, सफाइ र व्यायाममा केन्द्रित हुनुपर्छ भन्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter