• Sunday, June 15, 2025

अन्योलमा खेलकूद, चिन्तित खेलाडी

बाँके, फागुन १२ गते । नेपालगन्जलाई केन्द्रमा राखेर आयोजना हुन लागेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताले बाँकेवासीलाई खुशी तुल्याएको छ । बाँकेवासीसँगै खेलाडी र खेलप्रेमीहरु प्रतियोगिताको प्रतिक्षामा छन् । खेलक्षेत्रमै क्रियाशील खेलाडीका लागि यो महाकुम्भ हो, जसले आफ्नो नामसँगै दाम पनि कमाउन चाहेका छन् । प्रतियोगिताको मिति पटकपटक सारिँदा खेलप्रेमी र खेलाडीहरु भने यति बेला निराश बनेका छन् ।

“हामीहरुको यो उत्साह र जाँगरमा अङ्कुश लगाउने काम भएको छ । पटकपटक मिति सार्दा खेल क्षेत्रमा आफ्नो क्षमता प्रस्फुटन गर्नबाट बन्देज गराएको जस्तो आभास हामीलाई भइरहेको छ । हामी खेलक्षेत्रमै आफ्नो भविष्य बनाउन चाहन्छौँ”, एक खेलाडीले भने ।

पटकपटक मिति सारिरहँदा निराश भएका खेलाडीहरुको एउटै आग्रह छ, समयमै प्रतियोगिता सञ्चालन होस् । लामो समयदेखि प्रतियोगिताका लागि तयारी गरिरहेका खेलाडीहरु प्रतियोगिताको मितिमै अन्योल हुँदा मेहनत खेर गइरहेको बताउँछन् । तोकिएको मितिमा प्रतियोगिता नहुनु र पटकपटक मिति सारेर अन्योल हुँदा खेलाडी र खेलक्षेत्रप्रति आयोजकले बेवास्ता गरेको खेलप्रेमी दीपक हमाल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “खेलाडीलाई अवसर चाहिएको छ, त्यसतर्फ सम्बद्ध पक्षले चासो नदिँदा समस्या भएको छ ।” पटकपटक मिति सारेर आयोजकले खेलाडीलाई दुःख दिन नहुने उहाँको तर्क छ । प्रतियोगिता सञ्चालन गर्ने खेल मैदान र अन्य भौतिक संरचनाहरु समयमै निर्माण सम्पन्न नहुँदा खेलाडीहरु त्यसको मार परेका छन् ।

तोकिएको समयमा भौतिक पूर्वाधारहरु नबन्नु र प्रतियोगिताको मिति नतोकिनुले खेलाडीहरु अन्योलमा छन् । यसअघि मङ्सिर २५ गतेदेखि आयोजना हुने भनिएको प्रतियोगिता भौतिक संरचना र बजेट निकासा नभएको भन्दै राष्ट्रिय खेलकूद परिषद् (राखेप) को बोर्ड बैठकले आगामी माघ २५ देखि फागुन ३ गतेसम्म गर्ने निर्णय गरेको थियो ।

सो मितिमा पनि प्रतियोगिता हुन नसक्दा अन्योलता सिर्जना भएको छ । राखेपले सचिवालय नै स्थापना गरेर काम शुरु गरेको भएपनि यस वर्ष प्रतियोगिता हुनेमा आशङ्का बढेर गएको छ । राष्ट्रिय गौरवको प्रतियोगिताको मिति नै अन्योलमा राखेर खेलाडीलाई हौसला प्रदान गर्नुपर्नेमा मनोबल कमजोर बनाउन नहुने खेलप्रेमी श्याम गिरीको तर्क छ ।

प्रदेश ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले यसै वर्ष प्रतियोगिता सञ्चालन हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ, यसै वर्ष प्रतियोगिता सम्पन्न हुन्छ ।” रङ्गशाला परिसरमै पौडी पोखरी, भारोत्तोलन, सुटिङ रेञ्ज निर्माण, कभर्डहल मर्मत अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । खजुरामा भलिबल र कोहलपुरमा क्रिकेट मैदानको काम पनि अन्तिम चरणमा पुगेको छ ।

मैदान अभाव

विभिन्न खेलहरुको सङ्गमस्थल नेपालगन्ज रङ्गशालामा यतिबेला पुनःनिर्माणको कार्य भइरहेको छ । प्रतियोगितालाई लक्षित गरी रङ्गशाला पुनःनिर्माणसँगै यसको क्षमता पनि विकास गरिँदैछ । तर प्रतियोगिताको मिति नतोकिँदा यहाँका खेलाडी तथा प्रशिक्षकहरु चिन्तित बनेका छन् । दैनिक हुने खेल अभ्यासमा खेलाडीहरुलाई मैदान अभाव भएको छ ।

रङ्गशाला पुनःनिर्माण भइरहेकाले खेलाडीहरुलाई अभ्यासका लागि ठाँउ छैन । लामो समयदेखि निर्माण कार्य भइरहेकाले जुडो, तेक्वान्दो, कुस्ती, दौडलगायत खेलका खेलाडीलाई खेल मैदान अभाव भएको हो । प्रतियोगिता भइहाले अभ्यासविनै खेल खेल्नुपर्दा भनेअनुरुप नतिजा प्राप्त गर्न नसकिने खेलप्रेमीहरुको ठहर छ । प्रतियोगितामा समावेश हुने ३७ खेलमध्ये १७ खेल बाँकेमा हुनेछन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter