• Monday, April 14, 2025

भेरी–बबई बहुद्देश्यीय आयोजनाको सुरुङ पूरा

नेपालगञ्ज, चैत २२ गते । राष्ट्रिय गौरवको भेरी–बबई बहुद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ पूरा भएको छ । आयोजनाको १२ हजार दुई सय मिटर सुरुङ खन्ने कार्य बिहीबार सम्पन्न भएको हो ।

सन् २०२० मार्चभित्र सुरुङको काम सम्पन्न गर्ने लक्ष्य रहेकोमा टनेल बोरिङ मेसिनका कारण त्यसको एक वर्षअघि नै सुरुङ निर्माण कार्य पूरा गरिएको भेरी–बबई बहुद्देश्यीय डाइभर्सन आयोजना प्रमुख सञ्जीव बरालले बताउनुभयो ।

सुरुङ खन्ने कार्य पूरा भए पनि त्यसको औपचारिकता भने नयाँ वर्षमा दिइने भएको छ । त्यसका लागि केही भाग खाली राखेर प्रधानमन्त्री केपी शर्मा ओलीबाट सुरुङ छिचोलिने उहाँले जानकारी दिनुभयो । उहाँले निर्धारित समयभन्दा एक वर्ष पहिले नै सुरुङ निर्माण कार्य पूरा गर्नु आफैमा ठूलो उपलब्धि भएको जनाउँदै यो आयोजनाको सुरुङ निर्माण कार्यले निर्धारित समयभन्दा पनि पहिले काम पूरा गर्न सकिने सन्देश दिएको जनाउनुभयो ।

एक वर्षअघि नै सुरुङ पूरा गरिएपछि आयोजनाका स्वदेशी विदेशी प्राविधिकदेखि अन्य कर्मचारी र कामदारसमेत अत्यन्तै उत्साहित भएको प्रमुख बरालले बताउनुभयो ।

सुरुङ पूरा भएपछि आयोजनाका अन्य कार्यहरूमा पनि तीव्रता दिइने बताउनुभयो । ‘सुरुङ निर्माण कार्य आज बिहान पूरा भएको छ, अब सुरुङको भित्री भागको फिनिसिङका काम गरिने छन्, त्यसमा करिब ३ महिनाजति लाग्नेछ, त्यसका साथ साथै अन्य विभिन्न काम पनि अगाडि बढ्नेछन्’, आयोजना प्रमुख बरालले भन्नुभयो ।

उहाँले अब आयोजनाको सम्पूर्ण ध्यान हेडवर्कस निर्माण र पावर हाउस निर्माणतर्फ केन्द्रित हुने जनाउँदै ती काम पनि निर्धारित समयभन्दा पहिले नै पूरा गर्ने अभियानमा लाग्ने बताउनुभयो ।

नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टीबीएम) को सफल परीक्षणका कारण निर्धारित समयभन्दा एक वर्ष अगावै सुरुङ निर्माणकार्य पूरा भएको हो । सो सुरुङ निर्माणका लागि हालसम्म सात अर्ब रुपियाँ खर्च भएको आयोजनाले जनाएको छ । सुरुङ निर्माण कार्यमा करिब सात सय नेपाली र ८० चिनियाँ कामदार चौबिसै घण्टा खटिएका थिए । २०७४ कात्तिक अन्तिम सातादेखि टीबीएमले सुरुङ खन्न थालेको थियो ।

चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड (कोभेक) ले सुरुङ निर्माणको जिम्मा लिएको थियो । अत्याधुनिक कम्प्युटर चालित उक्त मेसिन खरिदपूर्व कोभेकले उत्पादक कम्पनीसँग जडानका साथै परीक्षणस्वरुप पाँच मिटर सुरुङ खनेर मात्र हस्तान्तरण गर्नुपर्ने सर्त राखेको थियो । सर्तानुसार नै उत्पादक कम्पनीले आयोजनास्थलमै आएर २५० मिटर लामो मेसिन जडान गरेको थियो ।

आयोजनाका अनुसार भेरीको चिप्लेमा ‘टनेल एक्जिट प्लेटफर्म’ को निर्माण कार्य पनि सम्पन्न भएर प्लेटफार्म तयार भइसकेको छ । भेरीको पानी बबई नदीमा खसाल्नका लागि चिप्लेमा छ गेजसहितको ब्यारेज निर्माण गरिने र सो ब्यारेज ११४ मिटर लामो तथा १४ मिटर अग्लो हुने बताइएको छ ।

सिँचाइ विभागद्वारा तयार गरिएको गुरुयोजना अनुसार आयोजनाको टनेल निर्माण, बाँध, विद्युत् गृह, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकललगायतका काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड रुपियाँ खर्च हुने आयोजना प्रमुख बरालले बताउनुभयो ।

भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउनुका साथै ४८ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter