संकलन केन्द्र र हाटबजारले किसान खुसी

लमजुङ, चैत २२ गते । लमजुङको मस्र्याङदी गाउँपालिका ३ खुदीबजारमा कृषि उपज संकलन केन्द्र र हाटबजार सञ्चालनमा आएपछि किसान खुसी भएका छन् ।

मस्र्याङ्दी बहुउद्देश्य कृषि सहकारी संस्थाले कृषि उपज संकलन केन्द्र तथा हाटबजार सञ्चालनमा ल्याएको हो । उक्त केन्द्रमा गाउँको पाखोबारीमा पाइने निउरो, सिस्नो, कुरिलोलगायत विभिन्न साग तथा बारीमा लगाएका काउली, बन्दा, गोलभेडा, मुला, फर्सीलगायत विक्री गर्न पाउँदा किसानले खुसी व्यक्त गरेका छन् । यसअघि पाखोबारी तथा खेतबारीबाट खेर गइरहेको र बजार नपाएको कृषि उत्पादनले गाउँघरमै बजार पाउन थालेको किसानले बताएका छन् ।

मस्र्याङदी गाउँपालिका ७ उस्तागाउँकी मुना गुरुङले गाउँका पाखोबारीमा पाइने सिस्नो, निउरो, कुरिलो, कर्कलो साथै काउली, बन्दा, आलु संकलन केन्द्रबाट विक्री भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीले उत्पादन गरेको तरकारी विक्री हुँदैन जस्तो लाग्थ्यो । अहिले सजिलै विक्री भएको छ । अझैं उत्पादन बढाउने सोंच बनाएका छौं ।’

मस्र्याङदी गाउँपालिका ९ का किसान मिनबहादुर कार्कीका अनुसार संकलन केन्द्र र हाटबजार सञ्चालनपछि किसानलाई आफ्ना उत्पादन विक्री गर्न सहज भएको छ । गाउँमै उत्पादन गरेको तरकारी तथा हस्तकलाका सामग्रीले उचित मूल्य पाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीले घरमै तरकारी फलाउँछौं । हस्तकलाका सामान बनाउँछौं । विक्री हुन गाह्रो थियो । अहिले संकलन केन्द्र स्थापना भयो । अहिले हाम्रो मेहेनतको फल खेर गएको छैन ।’

संकलन केन्द्रमा स्थानीय हस्तकलाका सामाग्री, कृषि उत्पादन राखिएको छ । गाउँघरमै फलेका कृषिजन्य वस्तु साथै डोकानाम्ला, झोला, स्याखु, राडीपाखी, ऊनका कपडा, बख्खुलगायत हस्तकलाका सामाग्रीहरु संकलन तथा विक्री गरिएको सहकारीका अध्यक्ष बीरेन्द्रबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार संकलन केन्द्रमा हरियो तरकारी, खुर्सानी, बनमा पाइने कुरिलो, निउरो, खसीबोका, लोकल कुखुरा संकलन तथा विक्री गरिएको छ । संकलन केन्द्रमा कृषि उत्पादनको दैनिक संकलन गर्ने ब्यवस्था मिलाइएको उहाँले बताउनुभयो । ठूलो मात्रामा हाटबजार महिनाको अन्तिम शनिबार आयोजना गरिने र पछि महिनाको २ पटक सञ्चालन गरिने उहाँले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले किसानको मेहेनत खेर नफाल्न र कृषि उत्पादनको बजारीकरणका लागि संकलन केन्द्र सञ्चालन गरिएको बताउनुभयो । संकलन केन्द्र बनेसंगै कृषिजन्य उत्पादनको बजार सुनिश्चित भएको उहाँले बताउनुभयो । उपाध्यक्ष होमबहादुर विश्वकर्माका अनुसार संकलन केन्द्र तथा हाटबजार सञ्चालनका गाउँपालिकाले १४ लाख रुपियाँमा भवन निर्माण तथा फर्निसिङ व्यवस्थापन गरेको छ । उक्त सहकारीमा गाउँपालिका भित्रका सबै नागरिकहरुलाई शेयर सदस्य बनाएर अघि बढ्ने योजना बनाइएको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, संविधान सभा सदस्य जमिन्द्रमान घलेलगायतले कृषिमा आत्मनिर्भर बनाउन र कृषि उपज विक्रीमा विचौलियाबाट मुक्ति दिन संकलन केन्द्र र हाटबजारले सघाउ मिल्ने बताउनुभयो । गण्डकी प्रदेशका भूमि, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले किसानहरु दैनिक गुजारा नभई व्यवसायिक रुपमा लाग्नुपर्ने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter