• Sunday, June 15, 2025

स्थिरता कायम भएकाले वैदेशिक लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह

काठमाडौँ, चैत २६ गते । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा राजनीतिक स्थिरता कायम भएकाले वैदेशिक लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको नेपाल र फ्रान्सका उद्यमीबीच छलफल कार्यक्रममा उहाँले देश औद्योगिकरणतर्फ उन्मुख गराउन सरकारले लगानीमैत्री नीति अवलम्बन गरेका कारण वैदेशिक लगानीकर्ताको लगानीलाई आवश्यक सुरक्षा दिने र उत्पादन अभिवृद्धि गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “फ्रान्सका लगानीकर्ताले खोजेअनुसारको लगानीको वातावरण दिन सरकार तयार छ ।” दुवै देशको हितमा हुने गरी व्यापारिक सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिँदै उहाँले फ्रान्सेली विमान सेवाले नेपालमा सिधैँ उडान भरेमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल र फ्रान्सबीचको दौत्य सम्बन्ध जतिकै मजबुत आर्थिक सम्बन्ध पनि हुनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भर्खरै सम्पन्न लगानी सम्मेलनको निष्कर्षसहित नेपालमा लगानीका सम्भाव्य परियोजनाका बारेमा प्रस्तुति गर्नुभएको थियो । महासङ्घका अध्यक्ष भवानी राणाले लगानीका लागि नीतिगत तथा कानूनी सुधार भएको प्रष्ट पार्दै सरकार र निजी क्षेत्रको समन्वयमा बाह्य लगानीका लागि प्रयत्न भइरहेको बताउनुभयो । नेपालका लागि फ्रान्सका राजदूत फ्राँन्स्वइस जाभियर लेजेले दुई देशबीचको व्यावसायिक सहकार्यमा सो कार्यक्रमलाई परिणामदायी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा दिल्लीस्थित फ्रान्सेली राजदूतावासका क्षेत्रीय आर्थिक विभाग प्रमुख एवं मिनिष्टर अफ काउन्सिलर जो मार्क फनेले नेपालमा लगानी विस्तार गर्न फ्रान्सेली लगानीकर्ता इच्छुक रहेकाले त्यसको सम्भाव्यता खोजी गर्नुपर्ने बताउनुभयो ।

फ्रान्समा लगानी गरिरहेका १५ प्रतिष्ठित फ्रान्सेली कम्पनीका प्रतिनिधिको सहभागिता छ । नेपाल भ्रमणमा आएको फ्रान्सेली कम्पनीका लगानीकर्ता, उद्यमी व्यवसायीसँग भएको व्यावसायिक भेटवार्तामा नेपाली उद्यमी व्यवसायीले सहकार्यका सम्भाव्य क्षेत्र प्रस्तुत गरेका थिए । सो अवसरमा फ्रान्सेली कम्पनीका तर्फबाट जल तथा नवीकरणीय ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, दिगो र स्मार्ट शहरीकरण, कृषि तथा खाद्य प्रशोधन, शहरी यातायात, फोहर व्यवस्थापनलगायत क्षेत्रमा सहकार्यको सम्भाव्यता प्रस्तुत गरिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter