आन्तरिक पर्यटकको चहलपहल बढ्दो; सिञ्जा पर्यटकीय गन्तव्यको सूचीमा

अछाम, वैशाख १ गते । पर्यटकीय क्षेत्र रामारोशनमा नयाँ वर्ष मनाउनका लागि आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गतेमा सुन्दर र रमणीय स्थानको भ्रमण गरेर वर्षको सुखद शुरुवात गर्ने हेतुले अछाम जिल्लाभित्र र जिल्लाबाहिरका आन्तरिक पर्यटक रामारोशन क्षेत्रमा पुगेका हुन ।

नयाँ वर्षमा रामारोशन घुम्नका लागि अछामको मङ्गलसैन, साँफेबगर, विनायकसहित विभिन्न स्थान, छिमेकी जिल्ला डोटी, कालीकोट र कैलालीबाट समेत आन्तरिक पर्यटक रामारोशन आएका छन् । उनीहरुले रामारोशनका विभिन्न ताल, सुन्दर फाँट र थरिथरिका फुलेका लालीगुराँसको अवलोकनका साथै त्यस क्षेत्रको प्राकृतिक सुन्दरतासँग रमाएको रामारोशन गाउँपालिका योजना शाखा प्रमुख दलबहादुर साउदले बताउनुभयो ।

नयाँ वर्षको अवसरमा रामारोशन घुम्न आउनुभएका काठमाडौँका रवीन श्रेष्ठले प्राकृतिक रुपमा निकै सुन्दर र रमणीय रहेको रामारोशन घुम्न पाउँदा आफूलाई निकै खुशी लागेको बताउनुभयो । रामारोशनको मनमोहक दृश्यले आफूलाई लोभ्याएको समेत श्रेष्ठले बतानुभयो ।

रामारोशनको रामेसम्मै जीप तथा मोटरसाइकल जस्ता सवारी साधनको पहुँच भएकाले नयाँ वर्ष मनाउनेका लागि थप सहज भएको बताइएको छ । बाह्र बण्ड र अठार खण्डका नामले समेत परिचित सुदूरपश्चिमको सुन्दर पर्यटकीय क्षेत्र रामारोशन घुम्न र त्यहाँ रमाउनका लागि यतिबेलाको मौसम समेत अनुकूल रहेका कारण यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या समेत अरु बेला भन्दा बढेको जनाइएको छ ।

नयाँ वर्षको पहिलो दिन मात्रै रामारोशन घुम्नका लागि एक हजार बढी पर्यटक रामारोशन पर्यटकीय क्षेत्रमा प्रवेश गरेको रामारोशन गाउँपालिकाले जनाएको छ ।

सिञ्जा पर्यटकीय गन्तव्यको सूचीमा

खस भाषाको जन्मथलो जुम्लाको सिञ्जाले पर्यटकीय गन्तव्यको पहिचान पाएको छ । भाषा साहित्यको महत्व बोकेको सिञ्जा सभ्यता यतिखेर सङ्कटमा छ । यहाँका शिलालेख, ऐतिहासिक स्थलहरू, पाण्डव गुफा, विराट दरबार, कनकासुन्दरी मन्दिरलगायत यहाँका काष्ठकला सबै असरल्ल अवस्थामा छन् । अहिले तिनको भग्नावशेष मात्रै भेटिन्छन् । सिञ्जा सभ्यताको संरक्षणतर्फ अहिलेसम्म न राज्यको ध्यान गयो, न त कुनै गैरसरकारी संस्था वा स्थानीयवासीको । सरकारी पक्षबाट पर्यटन प्रवद्र्धनका कुरा गरिए पनि अहिलेसम्म देखिने गरी काम भएको छैन ।

सिञ्जा सभ्यता सङ्कटमा पर्दै गएकामा चिन्तित सिञ्जाका ८३ वर्षीय लोकप्रसाद आचार्यले अहिले खुशी छन् । सबै सिञ्जा सभ्यतासँग जोडिएका सम्पदा संरक्षण नभए पनि कम्तीमा पर्यटकीय गन्तव्यको सूचीमा पार्ने काम भएबाट उनी खुशी भएका हुन् । विगतमा पटक–पटक सिञ्जा सभ्यताको संरक्षणका विषयमा पहल गर्दा पनि सुनुवाइ नभएर निराश बनेका जुम्लावासी यस कदमबाट उत्साहित देखिएका छन् ।

पर्यटकीय क्षेत्रको सम्भावना बोकेको सिञ्जा क्षेत्र मात्रै सूचीमा पर्नु दुःखद् भएको नागरिक समाज अध्यक्ष राजबहादुर महतले बताए । उनका अनुसार यहाँका कृषि, लोक संस्कृति र भाषालाई राज्यले दृष्टि पु¥याउनुपथ्र्यो । स्थानीयवासी धनलाल प्याकुरेलले भने – “सिञ्जा सभ्यता नेपालीको शान हो । सबै सम्पदाको संरक्षण गरी पर्यटन गतिविधि बढाउन स्थानीय सरकारलाई सुझाव दिन चाहन्छु ।”

रारा पर्यटन वर्ष घोषणा भएपछि पर्यटकको घुइँचो लाग्छ भन्ने सोचिएको थियो तर त्यसो भएन । पाण्डवगुफा ४ की शर्मिला खत्रीले भनिन् – “सिञ्जा सम्पन्न र पहुँच भएको राज्य भएका ऊ बेला विकास गर्न सकिएन । सभ्यताको महत्व पनि बुझ्न सकिएन । अहिले केन्द्रीकृत राज्य भइसकेपछि सिञ्जाले चाहेको कुरा पनि पाउन सकेको छैन । बल्ल पर्यटकीय गन्तव्यको सूचीमा पर्दा ढिलै भए पनि न्याय भएको महशुस भएको छ ।” जुम्लावासी स्वयं सिञ्जा सभ्यताको संरक्षण, प्रवद्र्धन र जगेर्नामा लाग्नुपर्ने धारणा उनी राख्छिन् । सिञ्जा सभ्यताका अन्वेषक वासुदेव उपाध्यायले भने – “नेपालमा बोलिने सम्पूर्ण भाषाको सरकारले संरक्षण गरेको छ तर, नेपाली भाषाको उत्पत्ति भएको खस भाषाको विषयमा सरकार सुन्न पनि चाहँदैन । पर्यटकीय गन्तव्यमा पर्दैमा सभ्यताको न्याय हुन्छ भन्न सकिँदैन ।”

कर्णाली प्रदेशको केन्द्र सिञ्जालाई नेपाली भाषाको उद्गम स्थल मानिन्छ । सिञ्जाबाट जारी भएका ताम्रपत्र, स्वर्णपत्र, शिलालेखहरूमा त्यस बेलाको पहिलो नेपाली भाषाको विकसित रूप फेला परेकाले सिञ्जालाई उद्गम स्थल भनिएको संस्कृतिका जानकार एवं खस भाषाका अध्येता रमानन्द आचार्यले बताए । उनले साविकको जिल्ला विकास समिति जुम्लाको सहयोगमा खस भाषाको शब्दकोश समेत बनाइरहेका छन् । उनले ‘खसिया आखर’ नामक खस जुम्ली भाषाको शब्दकोश लेखिरहेका छन् जसमा सिञ्जा सभ्यता वर्णित छ ।

इतिहास मुताबिक आजभन्दा ३४६० वर्षअघि अर्थात् इशापूर्व १४४५ मा राजा जालन्दरले सिञ्जा राज्य स्थापना गरेका थिए । राजा जालन्दरले शिवका भक्त भएकाले शिवको अघिल्लो अक्षर सि र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ बाट जोडेर सिञ्जा नाम रहन गएको जनश्रुति भेटिन्छ  । जालन्दरकी रानी वृन्दाले बास गरेको भनी सिञ्जामा अहिले पनि पूजा गरिने देवीलाई वृन्दावासिनी भनिन्छ । पुराणहरूमा वृन्दालाई पतिव्रता र तपस्वी नारीका रूपमा चित्रण गरिएको पाइन्छ । स्थानीय समाजसेवी पूर्णप्रसाद धिताल भन्छन् – “यिनै वृन्दाको नाम अपभ्रंश हुँदै खस भाषामा बिन्नैनी उच्चारण गर्न थालिएको हो ।”

खस राजा नागराज र उनका उत्तराधिकारीले सिञ्जा नगरमा करीव ३०० वर्षसम्म शासन गरेका थिए । खस राजाले नेपाल उपत्यकामा दुई पटकभन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कुमाउ, गडवालसम्मका राज्यलाई आफ्नो साम्राज्यभित्र पारेको इतिहास छ । त्यस अवधिमा सिञ्जा क्षेत्र राजधानी मात्र होइन एक चर्चित सभ्यताका रूपमा विकास भएको हो । सिञ्जा सभ्यता विकासको लामो शृङ्खला छ ।

सिञ्जा सभ्यतामा दरबारसम्म पहुँच भएका ब्राह्मणहरूले राज्यबाट भूमि दान वा कृपा प्राप्त गरेका थिए । तिनीहरूलाई राज्यको कर लाग्दैनथ्यो । राजकाजमा सल्लाहकार, राजदूत, धर्माधिकारी, न्यायाधिकारी र प्रशासनिक कर्मचारीमा ब्राह्मणहरू कार्यरत रहेको इतिहास भेटिने गरेको धिताल बताउँछन् । कर्णाली प्रदेशका खस ब्राह्मण, क्षेत्री, ठकुरी, कामी, दमाई, सुनार, सार्की र सन्न्यासी मष्टो मान्ने भएकाले यिनीहरू प्रकृतिपूजक भएको विद्वान्हरु मान्छन् । यसबाट कर्णालीका खसहरू आदिवासी हुन् भन्न सकिन्छ ।

सिञ्जाका राजा पृथ्वी मल्ल लगायतका राजाको ताम्रपत्र, कनकपत्रमा करको उल्लेख भएबाट मुलुकमा करको चलन सिञ्जाबाटै भएको अनुमान गर्न सकिन्छ । सिञ्जालगायत कर्णाली प्रदेशमा मध्यकालमा निर्माण भएका ढुङ्गे देवल, मुग्राहा, वीरखम्ब, कीर्तिखम्बहरूले पनि सिञ्जा सभ्यताको ऐतिहासिकतालाई झल्काउँछन् ।

सिञ्जा सभ्यताको संरक्षण तथा प्रबद्र्धनमा गाउँपालिकाले विशेष योजना अघि सार्ने सिञ्जा गाउँपालिका अध्यक्ष देवल सिंह रावलले बताए । उनले भने – “पर्याप्त बजेट छुट्याएर सिञ्जा सभ्यतासँग जोडिएका सम्पदाको सरंक्षण गर्छौं ।” सिञ्जा क्षेत्रमा पर्ने हिमा र कनकासुन्दरी गाउँपालिकाले पनि सिञ्जा सभ्यताको जगेर्ना गर्ने अभियानमा हातोमालो गर्ने प्रतिबद्धता जनाएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter