‘देश बन्दैछ : केही नयाँ हुँदैछ’

रमेश लम्साल / सिबी अधिकारी / काठमाडौँ । सरकारी निकाय र निर्माण व्यवसायीले इमान्दार भएर काम गरे ठूला विकास निर्माणका कामले गति लिन सक्छ भन्ने उदाहरण नयाँ वर्ष लागेपछि निरन्तर रुपमा सार्वजनिक भएका छन् ।

यस मुलुकमा केही भएकै छैन, मात्र भ्रष्टाचार भएको छ, सरकार पूरै असफल भएको छ, प्रधानमन्त्री र मन्त्रीहरु गफ मात्रै दिन्छन् भन्नेका लागि विकासका पछिल्ला उदाहरण स्वतः जवाफका रुपमा उपस्थित हुन्छन् ।

यिनले जनतामा लोकतन्त्रप्रतिको आस्थालाई मजबुत बनाउन सहयोग मात्रै गर्दैनन्, आशा र विश्वासको सञ्चार पनि गर्छन् ।

आर्थिक विकासका लागि रणनीतिक महत्वका ठूला भौतिक पूर्वाधारका आयोजनाको पछिल्लो प्रगतिले देशमा केही नयाँ हुँदैछ भन्ने सन्देशसमेत दिएको छ ।

नयाँ वर्ष लागेलगत्तै राष्ट्रिय महत्वको आयोजनाका रुपमा रहेको भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ३ गते सो आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको घोषणा गरे ।

यस्तै बुधबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भएको जानकारी आएको छ । लामो समयसम्म विवादमा फसेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुग्न लागेको छ ।

यस्तै नेपाल विद्युत् प्राधिकरणका दुई रुग्ण आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन हुने चरणमा पुगेका छन् ।

पछिल्लो पटक सरकारले भौतिक पूर्वाधारका क्षेत्रमा विशेष ध्यान दिएका कारण आयोजना एकपछि अर्को गर्दै सम्पन्न हुने चरणमा पुगेका हुन् ।

यस्तै हालसम्मकै ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोशीको पनि निर्माण प्रक्रियाले गति लिएको छ । सो आयोजनाको कूल भौतिक प्रगति ९८ प्रतिशत भएको छ ।

यस्तै पहाडी क्षेत्रमा सुगम यातायाताका लागि निर्माण शुरु भएको मध्यपहाडी (पुष्पलाल) राजमार्ग निर्माणले समेत गति लिएको छ ।

राजनीतिक प्रतिबद्धता, सरकारी निकायको प्रभावकारी परिचालन तथा निर्माण व्यवसायीले इमान्दार भएर काम गरेको खण्डमा एकाध वर्षमा नै भौतिक निर्माणका क्षेत्रमा ठूलो प्रगति हासिल हुन सक्छ भन्ने सन्देश केही ठूला आयोजनाले दिएका छन् ।

नेपालको विकासप्रतिको तीव्र चाहनालाई केही आयोजनाले सम्बोधन नगरे पनि देश बन्दैछ र केही नयाँ हुँदैछ भन्ने आत्मविश्वास बढ्दै गएको छ ।

बाँके र बर्दियाका ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष २०६८/६९ देखि शुरु भएको भेरी–बबई डाइभर्सन आयोजनाको प्रमुख कार्य मानिएको सुरुङ निर्माण सम्पन्न भएको छ ।

कूल १२ दशमलव २१० किलोमिटर लामो सुरुङ एक वर्षअगावै सम्पन्न भएको हो । आयोजनाको निकट भविष्यमा नै बाँध तथा विद्युत्गृह निर्माण शुरु गर्ने तयारी गरिएको छ ।

आयोजनाबाट कूल ४८ मेगावाट विद्युत्समेत उत्पादन हुनेछ । सो आयोजनाको प्रगतिले प्रधानमन्त्रीलाई समेत हर्षित बनाएको छ । प्रधानमन्त्रीकै भनाइमा ‘अत्याधुनिक प्रविधि प्रयोग गरिएको आयोजना सफलतापूर्वक सम्पन्न भएको छ । भौगोलिक बनावटको निकै चुनौती रहेको आयोजनाको काम समयसीमाभन्दा अगावै सकिनु खुशीको विषय हो ।’

नियमित रुपमा ‘ब्लास्ट एण्ड ड्रिलिङ’ प्रविधिभन्दा टनेल बोरिङ मेशिनको प्रयोग गरेर डेढ वर्षमा नै सुरुङ निर्माण गरिएको आयोजना नै भेरी बबई आयोजना भएको छ ।

यस्तै देशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्यका साथ निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको प्रमुख काम सकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का आयोजना निर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थलको असाध्यै महत्वपूर्ण मानिएको काम सम्पन्न भएको छ ।

विमानस्थलको पार्किङ र एप्रोनको काम धमाधम भइरहेको छ । आगामी १५ दिनमा सो काम सकिने अधिकारीको भनाइ छ ।

लक्ष्यभन्दा अगावै निर्माण सम्पन्न हुने पहिलो आयोजनाका रुपमा पोखरा विमानस्थल देखिएको छ । आगामी डेढ वर्षभित्र सबै काम सकिने र व्यावसायिक उडानका लागि तयार हुने सो आयोजनाको प्रगतिले पनि प्राधिकरणलाई हौस्याएको छ ।

आयोजना निर्देशक अधिकारी भन्छन्, ‘पूर्ण क्षमतामा काम भएको छ । निर्माणको हिसाबले ५० प्रतिशत काम सम्पन्न भएको छ । हामी असाध्यै उत्साहित छौँ ।’

कूल रु २२ अर्ब लागतको सो विमानस्थल सन् २०२० भित्रै सञ्चालनमा आउन सके त्यो नेपालको भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा महत्वपूर्ण हिस्सा हुनेछ । चिनियाँ ठेकदार कम्पनी सिएमसीले ‘इञ्जिनीयरिङ, प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन (इपिसिएफ)’ ढाँचामा निर्माण गरिरहेको आयोजना समयअगावै सम्पन्न हुने सङ्केत गरेको छ ।

यस्तै शान्तिका दूत गौतमबुद्धको जन्मस्थलमा नै निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि युद्धस्तरमा भइरहेको छ । आगामी १५ दिनभित्र तीन हजार मिटर लामो धावनमार्गको चोथो चरणको कालोपत्र निर्माण सम्पन्न हुनेछ ।

आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार हाल विमानस्थलको धावनमार्ग कालोपत्रे, टर्मिनल भवन, पानी ट्याङ्की, कन्ट्रोल टावरलगायत काम धमाधाम भइरहेको छ ।

यस्तै टर्मिनल भवनको छाना हाल्न बाँकी छ । टर्मिनल भवनको आगमन र प्रस्थान एवं प्रशासनिक भवन निर्माण अन्तिम चरणमा छ । विद्युत् जडान र अन्य काम पनि सँगसँगै भइरहेको छ । सो विमानस्थल सबैभन्दा पहिला निर्माण सम्पन्न हुने राष्ट्रिय गौरवको आयोजनाका रुपमा चित्रित हुन लागेको छ ।

यस्तै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी आयोजनाको निर्माणसमेत ९८ प्रतिशत सम्पन्न भएको छ । बाँकी रहेको काम सम्पन्न गराउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र आयोजनाले कार्यतालिका नै बनाएर काम गरिरहेका छन् ।

ऊर्जामन्त्री वर्षमान पुनका अनुसार आयोजनालाई सकेसम्म आगामी चैतभित्र सम्पन्न गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको छ ।

त्यस्तै प्राधिकरणको रुग्ण आयोजनाका रुपमा रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए र १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन गर्ने चरणमा पुगेका छन् । यी र यस्ता उदाहरणले देशमा केही भइरहेको छ र केही हुँदैछ भन्ने सन्देशसमेत दिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter